देउखुरी उपत्यकामा भुकम्पीय जोखिम मापन
दाङ : लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङको देउखुरी भ्याली क्षेत्रको भुकम्पीय जोखिम मापन गरिएको छ। त्रिभुवन विश्वविद्यालय भूगर्व शास्त्र केन्द्रिय विभागले देउखुरी उपत्यकाको राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखिम मापन गरिएको हो।
भूगर्भ शास्त्रि डा. सुमन पन्थी, डा. सुवेश घिमिरे र डा. कमलाकान्त आचार्यको टोलीले ईलेक्ट्रिकल रेजिस्टीभीटी सर्भेको माध्यमबाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलिक अवस्थाको अध्ययन तथा विभिन्न किसिमको कम्पनको सहनशिलताका बारेमा अध्ययन गरेको हो।
लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुने तरगंको कारण र अवस्थाका बारेमा अध्ययन गरिएको टोलीका भुगर्व शास्त्री डा. सुवेश घिमिरेले जानकारी दिए।
शास्त्री डा.सुवेश घिमिरेले विगतको अवस्थालाई अध्ययन गर्दा कुमाउदेखि पोखरा लमजुङसम्मको क्षेत्रमा ठुलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पत्ता लगाउन अनुसन्धान गरिएको डा. घिमिरेले बताए। भुकम्पीय जोखिम मापनका लागि उच्चस्तरको भि यस ३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जीयोफोनको प्रयोग गरी सेस्मोग्राफको माध्यमबाट धेरै टाढाबाट आउने पृथ्वीको कम्पनलाई पत्ता लगाउन यो विधीको प्रयोग गरेको भूगर्व शास्त्री डा. घिमिरेले बताए। 
हिमालय क्षेत्रमा भारत महादिप ठाउँ अनुसार हरेक वर्ष करिब दुईदेखि पाँच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीनतर्फ) धस्रिंदै जाने र हिमालयन प्लेटका आधारमा भुकम्पीय धक्काको अनुमान गर्न सकिने हुँदा यस क्षेत्रको अध्ययन गरिएको टोलीका भुगर्व शास्त्री डा. कमलाकान्त आचार्यले जानकारी दिए।
लुम्बिनी प्रदेशका लागि आगामी दिनमा ठूला भौतिक संरचना निर्माण हुने हुँदा जमिनको भु-बनौटको बारेमा जानकार हुनु आवश्यक रहेकोले आगामी दिनमा निर्माण हुने संरचना र जमिनको बीचमा रहेको अन्तर सम्बन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको भुगर्भ शास्त्री डा सुमन पन्थीले जानकारी दिए। उनका अनुसार बाढी, पहिरो, भुकम्प, हावाहुरी लगायतका प्रकोपसँग जमिनले कस्तो प्रतिक्रिया आउँछ भन्ने पत्ता लगाउन यो अनुसन्धानले सहयोग गर्ने छ।
राप्ती तटीय जमिनको अवस्था र तराई, मधेश, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापनपश्चात विश्वविद्यालयले सरोकारवालाहरुलाई जानकारी प्रवाह गर्ने र भौतिक संरचना निर्माणको क्रममा सुझाव प्रदान गर्ने भूगर्भ शास्त्री डा. सुमन पन्थीले बताए।
प्रतिक्रिया दिनुहोस !