अमेरिकी चुनावको असर भारतमा: ट्रम्प र कमलाको नाममा पूजा-आराधना !
नयाँदिल्ली : अमेरिकी निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले चुनावमा जितून् भनेर दक्षिण भारतको एक गाउँमा पूजा अर्चना गरिएको छ ।
कमलाकी आमा चेन्नइबाट ३ सय किलोमिटर टाढा पर्ने गाउँ तुलसेन्द्रपुरममा जन्मिएकी थिइन् । सोही गाउँमा कमलाका मावली हजुरबा पनि बसोबास गर्छन् । यहीँका बासिन्दाले हिन्दू परम्परा अनुसार कमलाको पक्षमा पूजा आराधना गरे । उनीहरु मन्दिरमा भेला भएर कमलाको तस्बिर राखेर पूजा गरेका हुन् । सिएनएनका अनुसार स्थानीय राजनीतिज्ञकै आयोजनामा उक्त पूजा र प्रार्थना सम्पन्न भएको हो । पूजाको क्रममा गाईको दुध र पुष्पगुच्छाले पूजा गरियो ।
स्थानीयका अनुसार कमला सानै छँदा यस ठाउँमा आएकी थिइन् । र मन्दिरमा चन्दाको रुपमा सानीआमा मार्फत केही रकम चन्दा समेत पठाएकाले कमलाको नाम चन्दादाताको सूचीमा पनि समेटिएको स्थानीय बताउँछन् ।
तुलसेन्द्रपुरम मन्दिर मन्दिरको आसपासका नेता, व्यवसायी र अरु स्थानीयले कमलाको यही ठाउँसँग नाता भएकाले उनीप्रति गर्व महसुश गर्ने प्रतिक्रिया दिएका छन् ।
साथै राजधानी नयाँदिल्ली नजिकैको अर्को गाउँमा ट्रम्पको पक्षमा पनि प्रार्थना गरिएको छ । ट्रम्पले जितेको खण्डमा भारतलाई पाकिस्तान र चीनविरुद्ध लड्न सजिलो हुने भन्दै हिन्दू कट्टरपन्थी समूहले उनको पक्षमा पूजा गरेका हुन् ।
आतंकवादविरुद्ध लड्न पनि भारतलाई ट्रम्पको सहयोग मिल्ने भन्दै हिन्दू सेना नामको धार्मिक संगठनको आयोजनामा पूजा गरिएको हो । यसअघि ट्रम्प भारत भ्रमणमा आउनुअघि भारतको उत्तर प्रदेशका एक व्यक्तिले ट्रम्पबाट अति प्रभावित भएकाले उनको मूर्ति र मन्दिर नै निर्माण गरेका थिए ।