पर्यटक पर्खाइमा खयरभारानी (फोटो फिचर)

पर्यटक पर्खाइमा खयरभारानी (फोटो फिचर)

बेनी : म्याग्दीको अन्नपूर्ण–५ पाउद्धार गाउँको शिर तथा अन्नपूर्ण हिमालको फेदिमा रहेको ‘खयरभारानी’ ताल पर्यटकको पर्खाइमा छ । समुन्द्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित खयरभारानीको धार्मिकसँगै प्राकृतिक सौन्दर्यताका कारण पर्यटकीय सम्भावना छ । साउथ अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर भारानी ताल करिब एक हजार वर्ग मिटर क्षेत्रफलमा गोलो आकारमा फैलिएको छ ।

तीन हजार ६६० मिटरको उचाइमा रहेको खोपारा लेक प्रकृति प्रेमीहरुका लागि आर्कषक स्थलको रुपमा विकसित हुँदै गएपनि खोपाराहुँदै पुगिने खयरभारानी ओझेलमा छ । खयरको भिरालो पाखाको हरियाली चरन क्षेत्रको पृष्ठभूमिमा चारैतिर हिमशृङखला देख्न सकिन्छ । 

अन्नपूर्ण, धौलागीरी, माछापुच्छ्रे, मनास्लु रेञ्जका हिमाललाई नजिकबाट अवलोकन गर्नुका अलावा खयरबराही तालमा दन्तलहरझै देखिने हिमालको छायाको दृष्य मनमोहक लाग्छ । छिनछिनमा फेरीरहनै मौसम र बादलसंग सुन्दर दृष्यहरु लुकामारी गरिरहेका हुन्छन् । प्रभातकालीन समयमा मौसम सफा हुँदा भिरालो भूगोलको घाँसे मैदान सुन्दर देखिन्छन् । 

कुहिरो र बादलसंग लुकामारी गर्दै यात्राका क्रममा आँखा दुलाउँदा हिम दृष्य, हरियाली पाखा, विभिन्न प्रजातीका रंगीविरंगी फूल, झुण्ड, झुण्डमा देखिने भेडाका बथान, आकाशमा देखिने सफा सेतो बादल, एकान्त ठाउँबाट स्वच्छ हावामा स्पर्स गर्दै उडेका पंक्षी देख्दा मनै उमंग हुने बेनीका सतिष श्रेष्ठले अनुभव सुनाए । 

खोपाराबाट एक हजार मिटर उचाइमा हिमाली क्षेत्रको भुगोलमा उकालो हिड्नुपर्ने, होटल तथा होमस्टेको व्यवस्था पनि नभएकाले खयरयात्राका लागि थप साहसको आवश्यकता पर्छ । खयरभारानी तलाउ र परिसरमा रहेको थानमा जनैपूर्णी पर्वमा मेला लाग्छ । अन्य समय यो क्षेत्र सुनसान हुन्छ । खयर भारानीको दर्शन र पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ । 

परापुर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किम्बदन्तीका आधारमा यस स्थानमा स्थानीयबासीले दर्शन र मनोकामना पुरा हुने आशाका साथ भाकल गर्ने चलन छ । त्यहाँ पुगेका भक्तजनहरुले आफ्नो चाहना तलाउमा रहेका पुजारीलाई भन्ने गर्छन् । पुजारीले भक्तजनले भनेको कुरा खयर भारानीलाई पुरा गरिदिनु भन्ने आग्रह गर्दै तलाउबाट हिलो माटो, ढुङ्गा आदी झिकेर दिने गर्छन् । 

खयर बराही ताल र थानमा नरिवल र साँडले पुजा गर्ने परम्परा छ । प्रसादका लागि भेटि चढाई धजा लिने नौलो चलन रहेको पाउद्धारका भिमप्रसाद तिलिजाले बताए । किंवदन्ति अनुसार बराही माईका नौ बहीनी मध्य जेठी बहिनी खयर भारानी हुन भने, पोखरा फेवातालको बिचमा रहेको ताल बराही माईली बहिनी हुन् भन्ने जनश्रृति पाईन्छ । 

त्यस्तै राम्चेको नांगी बाराही, शिखको कान्छि बाराही, हिस्तानको प्यारी बाराही पनि खयरकै बहीनीहरु भएको स्थानीयले बताए । खयर भारानीको दर्शनका लागि ताल परिसरमा थानको पुननिर्माण भएको छ । 

त्यहाँ पहिला भेडा गोठालाहरुले ढुङ्गामा पूजा गर्ने थान बनाएका थिए । खयर भारानी थान क्षेत्र संरक्षण कोषले चन्दामार्फत व्यवस्थित थान निर्माण गरेपछि पुजाआजा गर्न सहज भएको छ । 

तलाउमा जयस्थीति मल्लको पालाका सिक्काहरु पनि भेटिएको थियो । खयर पुग्न सडक पुगेको पाउद्धार गाउँदेखि दुई दिन उकालो पदयात्रा गर्नुपर्छ । पहिलो दिनको बास बस्नलाई खोपारा पुगीन्छ । खोपारामा सामुदायिक लज छन् । त्यहाँ खान र बस्नको लागि सुविधा छ । 

खोपारा बाट हिँडेर अर्को दिनको बास बस्न खयरखोला पुग्न सकिन्छ । खोपारा भन्दा माथि होटल रेष्टुरेष्ट छैन् । कोषले खयरखोलामा पाहुना बस्ने अस्थायी प्लास्टिक घर र खयर ताल परिसरमा आश्रयस्थल बनाएको छ । 

आश्रयस्थल नहुँदा भेडिगोठ र पुराना सत्तलमा बास बस्नुपर्ने थियो । खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु शेरपुञ्जा पुनले डेढ करोड रुपैयाँ भन्दा बढी चन्दा जुटाएर थानको पुननिर्माण, आश्रयस्थल, पदमार्ग निर्माण र खानेपानी ब्यवस्थापन गरिएको बताए । 

चौरासी बर्ष पुगेका र दिवंगत आफन्तको स्मृतिमा पाउद्धारका एक सय भन्दा बढीले खोपाराहुँदै खयरभारानी तालको उकालो, अप्ठ्यारो ठाउँमा पदमार्ग निर्माण गरेका छन् । पदमार्गसँगै चौतारी बनाउने र त्यहाँ लागत उल्लेख गरेका छन् । 

उकालो र चिप्लो तथा भिरको बाटो भएकाले दुर्घटनाको जोखिम न्युनीकरणका लागि ढुंगासहितको सिंढी राख्ने गरिएको छ । पदमार्ग र व्यवस्थित आश्रयस्थलको व्यवस्था हुन सकेमा खयरभारानी म्याग्दीको महत्वपूर्ण तिर्थस्थलको रुपमा विकास हुने प्रशस्त सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.