गण्डकीमा कोरोनाबाट मृत्यु हुने १०० पुगे
पोखरा : कास्कीका ३ र बागलुङका १ संक्रमितको मृत्यु पुष्टि भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले मृतक संख्या १ सय पुगेको शुक्रबार पुष्टि गरेको हो।
कास्कीका १ संक्रमितको गण्डकी मेडिकल कलेजमा र कास्कीका २ एवं बागलुङका १ संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
कोरोनाबाट मृत्यु हुनेमा ३० दिने शिशु पनि छन्। ती शिशु पोखरा महानगरपालिकाको भनिए पनि वडा खुलाइएको छैन। उनको शुक्रबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनमा निमोनियाको समस्या थियो।
पोखरा १० का ५७ वर्षे संक्रमित पुरुष र बागलुङको जैमिनी नगरपालिका ९ का २९ वर्षे संक्रमितको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ। दुवैको बिहीबार राति मृत्यु भएको निर्देशनालयले जनाएको छ।
त्यसबाहेक पोखरा १७ का ७५ वर्षे संक्रमित पुरुषको शुक्रबार बिहान जिएमसीमा मृत्यु भएको हो। गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन्।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५६ पुगेको छ। अहिलेसम्म ४ हजार ६ सय ५७ जना निको भएका छन्।
प्रतिक्रिया दिनुहोस !