अब जागिर खान पोखरा जान्न...
लमजुङ : लकडाउन हुनुअघिसम्म २२ वर्षीया खासा गुरुङ पोखरा लेकसाइडमा जागिर गर्थिन् । पर्यटकीय रेस्टुरेन्टमा कफी वरिष्टा उनी लकडाउन भएपछि ४ दिन हिँडेर आफ्नो घर लमजुङको घनपोखरा आइन् ।
जिल्लाकै सबैभन्दा अग्लो ठाउँको यो गाउँमा उनी आमा र बहिनीसहित बस्छिन् । केही समय लमजुङ सदरमुकाम बेसिसहर बसेर उनी जागिरको खोजी गर्दै घनपोखरादेखि पोखरा पुगेकी थिइन् । तर कोभिड १९ को प्रकोपमा पर्यो उनको रोजगारी पनि ।
यताका ७ महिनायता खासाले के गर्ने कसो गर्ने भन्ने मेसो पाइनन् । घरमै बसिरहिन् । उनकी बैनी पनि पोखरामै अर्काे होटलमा जागिरे थिइन् । उनी पनि घरमै छिन् । दसैंअघिसम्म उनलाई घरमा पाहुना आउँदा पानी कसरी पुर्याउने होला भन्नेसम्मको पिरलो थियो । दसैंअघि उनका घरमै धारा आइपुग्यो । दसैं सजिलो भयो । अहिले उनलाई अर्काे चिन्ता दुर गर्ने जुक्ति पनि आइरहेको छ । अब जागिर खोज्ने हैन, स्वरोजगार बन्ने ।
‘घरमै धारा आयो, अब जागिर खान पोखरा नजाने, घरमै होमस्टे चलाउने विचार छ’, उनले भनिन् ।
२२ वर्षीया खासा गुरुङ भन्छिन्, ‘घरमा धारा आयो अब जागिर खान पोखरा जान्न, घरमै होमस्टे चलाउँछु’
उनको गाउँछेवैको अर्काे ठाउँ घलेगाउँमा होमस्टे चलिरहेको छ। ४० घर स्वरोजगार छन् । घनपोखरा र घलेगाउँ १ घन्टाको दुरीमा छन् । घनपोखरा झन् उचाइमा छन् । हिमाल आँखैमा ठोक्किन आइपुग्छन् । गुरुङ समुदायको आफ्नै संस्कृति र रीतिरिवाज अनि परम्परा सजीवै छ । घनपोखराकै एउटा घरमा त होमस्टे सुरु भइसकेको छ । अब खासा गुरुङलाई आशा छ, घनपोखरामा पनि होमस्टे चल्छ । पाहुना डाक्न सकिन्छ । बरु घरमा इन्टरनेट जोड्न पर्छ भन्ने उनलाई लागेको छ । वाइफाई सेवासहितको होमस्टे उनको चाहना हो ।
यसअघि घनपोखराका सबै घरलाई हुने गरी ४ वटा धारा थिए । त्यसमा पनि पानी कहिले आउँथ्यो, कहिले आउँदैनथ्यो। एक घर एक धारा आयोजनाको उपभोक्ता समितिका सचिव कमल गुरुङ भन्छन्, ‘बर्खा लाग्यो कि बिग्रिहाल्थ्यो, पातपतिंगरले बुझिन्थ्यो, पहिरोले पाइप बगाउँथ्यो, बनाउँदा बनाउँदै हैरान हुन्थ्यो ।’

अहिले भने व्यवस्थित तरिकाले पानी ल्याइएको उनले सुनाए । ‘मुहानमा इन्टेक व्यवस्थित छ, इन्टेकमा २ वटा च्याम्बर छ, एउटा संकलन टंकी,’ उनले भने, ‘गाउँको माथि वितरण टंकी बनाएका छौं ।’ घनपोखरा र नायु गाउँका सामुदायिक भवन र सार्वजनिक स्थलमा पनि खानेपानीका धारा जडान गरिएको उनले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको लगानीमा घनपोखरा र नायु गाउँमा १ सय ३० धारा जडान भएको छ । जसको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । उनले मुख्यमन्त्रीको पदभार सम्हालेर पहिलो मन्त्रिपरिषद् बैठक राखेर गरेको एउटा निर्णय प्रदेशका सबै घरमा आधारभूत खानेपानी पुर्याउने थियो ।
मुख्यमन्त्री अब २०७८/७९ भित्रै त्यो लक्ष्य पूरा हुने बताउँछन् ।
घनपोखराका घरघरमा धारा पु¥याउन १ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । गाउँभन्दा ६ किलोमिटर टाढाको नेकुचो पात्ला मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर गुरुङले सुनाए । गाउँलेले पनि श्रम गरेर पानी आयोजना पूरा गरेको उनले बताए ।


मस्र्याङ्दी गाउँपालिकाको वडा नम्बर १ घनपोखरामा धारा उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !