प्रधानमन्त्री ओली बीओपी निरीक्षणमा
खाँदबारी : प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथांकासहितको विभिन्न आयोजना निरीक्षणमा निस्कँदै छन्। प्रधानमन्त्री ओलीले सीमासुरक्षा, कोसी करिडोर र अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।
प्रधानमन्त्रीको टोलीमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसमेत संखुवासभा आउन लागेका हुन्। प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन्। उनी काठमाडौंबाट सीधै किमाथांका नाकामा स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) निरीक्षणमा जाने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।
सीमा सुरक्षाको बारेमा जानकारी लिई प्रधानमन्त्रीसहितको टोली राष्ट्रिय गौरवको कोसी करिडोरको उत्तर दक्षिण कोसी राजमार्गको अनुगमन गर्दै मकालु गाउँपालिका–५ मा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल आउने कार्यक्रम रहको छ।
टोलीले त्रिदेशीय (भारत, नेपाल र चीन) लिकंरोड किमाथांका–जोगबनी सडक खण्डअन्तर्गतको ट्र्याक खुल्न बाँकी १४ किलोमिटर सडकको निरीक्षण गर्ने प्रजिअ आचार्यले बताए। च्याम्ताङदेखि ढोङगोप्पासम्म १४ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ।
प्रतिक्रिया दिनुहोस !