ज्वरो आउनु नै कोरोना होइन

ज्वरो आउनु नै कोरोना होइन

केही दिनअघि एक्जना कलाकार मित्रको फोन आयो, ‘सर, मेरो छोरालाई ज्वरो आयो। भोलि हजुरकहाँ आउँछु। कति बजेतिर आऊँ ?’

मैले भनें, ‘कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमितको संख्या तीव्र गतिमा बढिरहेका बेला अनलाइनबाट बिरामीलाई सेवा दिने गरेको छु। तपाईं जुम या ह्वाटसएपमा सम्पर्क गर्न सक्नुहुन्छ। बिरामीका बारेमा केकस्तो छ ?’

ज्वरो ९८.४ डिग्री फरेनहाइट रहेछ। जीउ दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने, स्वाद र गन्ध थाहा नपाउने, दिसा पातलो हुने आदि लक्षण बिरामीमा रहेनछ। मैले सल्लाह दिएँ, ‘घरमै आइसोलेटेट भई बस्नुस्। आराम गर्नुस्। झोलीय पदार्थ प्रशस्त मात्रामा खानुस्।’ तीनचार दिनपछि विनाकुनै औषधिले ठीक भएछ। यो त एउटा उदाहरण मात्र हो।

कोराना भाइरसको महामारीका कारण मानिसहरू त्रसित छन्। घाँटी अलिकति खस्सायो; खोकी लाग्यो; सामान्य ज्वरो भयो भने पनि उनीहरू विनाकारण कोरोनाको सिम्पटम्ससँग जोड–घटाउ गर्न थाल्छन्– कतै कोराना भाइरसबाट संक्रमित त भइनँ ?

कोरोना महामारीसँगै डेंगु र मौसमी फ्लुका बिरामी पनि देखिन थालेका छन्। यी तीन भिन्नभिन्न रोगको लक्षण आपसमा केही हदसम्म मिल्दोजुल्दो छ। कोरोनाकालको अवस्थामा कसैलाई ज्वरो आयो भने बिरामी कोरोना संक्रमित मानेर भयभीत भइहाल्छ। यसो गर्नु हुँदैन। ज्वरो आफैंमा कुनै रोग होइन। आन्तरिक कुनै रोगको लक्षण हो। ज्वरो आउनुको अर्थ कोरोना होइन। डेंगु ज्वरो या मौसमी ज्वरो (फ्लु) को लक्षण पनि हुन सक्छ।

हरेक ज्वरोलाई कोरोनाको ज्वरो ठान्नु हुँदैन। बरु सतर्क हुने गर्नुपर्छ। रोगप्रतिरोधक क्षमता बढाउनेतिर पाइला चाल्नुपर्छ।

के अन्तर छ कोरोना, डेंगु र फ्लुमा ?

डेंगु : डेंगु ज्वरोको संक्रमण चार किसिमका भाइरसबाट हुन्छ। एउटा व्यक्ति आफ्नो जीवनमा कैयन्पटक डेंगु ज्वरोको चपेटामा आउन सक्छ। डेंगु एडिज एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट हुन्छ।

लक्षण : दुई या तीन दिनसम्म १०२ देखि १०५ फरेनहाइट ज्वरो आउन सक्छ। त्यसपछि विस्तारै घट्छ। आँखाका गेडी दुख्नु, मांसपेसी, जोर्नीका साथै हड्डीमा दर्द हुनु, थकान महसुस हुनु, खानामा रुचि नहुनु, वाकवाकी लाग्नु, बान्ता हुनु, जीउमा रातोरातो दाग देखिन सक्छ। यस रोगमा प्लेटलेट्सको संख्या कम हुनाले बिरामीको अवस्था बिग्रन्छ। समयमै उपचार गरिएन भने बिरामीको मृत्यु पनि हुन सक्छ।

रोगीलाई कति दिनसम्म कष्ट हुन्छ : डेंगु ज्वरोबाट ग्रस्त बिरामीलाई सात दिनसम्म कष्ट, पीडा हुन सक्छ। शारीरिक रूपले एकदम कमजोर हुदाँ रोगी बेडरेस्टमा रहन्छ।

कोरोना भाइरस  : यो श्वासप्रश्वाससम्बन्धी रोग हो। पहिल्यैदेखि जो जीर्ण वा रोगी छन्, उनीहरूका लागि यो घातक छ। संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा भाइरस फैलिने खतरा बढी हुन्छ।

लक्षण : १०२ देखि १०५ डिग्री फरेनहाइटसम्म ज्वरो आउन सक्छ। सुक्खा खोकी लाग्नु, श्वास फेर्न गाह्रो हुनु, थकान, मांसपेसी र शरीरमा दर्द, टाउको दुख्नु, सुँघ्ने या खानेकुराको स्वाद लिने क्षमतामा ह्रास हुनु, घाँटीमा खसखस हुनु, बैचैनी महसुस हुनु, बान्ता हुनु या पातलो दिसा हुनु आदि। कोरोना संक्रमित व्यक्तिमा चारदेखि पाँच दिनपछि सिम्पटम्स देखिन्छ। यो लक्षण १४ दिन वा योभन्दा बढी समयसम्म रहन सक्छ।

इन्फ्लुएन्जा : मौसम परिवर्तनका साथ यो भाइरस अक्टोबर महिनाबाट सुरु भई अन्त्यसम्म सक्रिय रहन्छ। जुन जनवरी र फरवरी महिनासम्म रहन्छ। यो पनि इन्फ्लुएन्जा भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा या हाच्छ्युँ गर्दा वा उसले छोएको वस्तु छुनाले एकअर्कामा फैलिन्छ।

प्रमुख लक्षण : सामान्य सयदेखि एक सय चार डिग्री फरेनहाइटसम्म ज्वरो आउन सक्छ। घाँटी खस्खसाउनु, घाँटी दुख्नु, भोक नलाग्नु, सुक्खा खोकी लाग्नु, कफ नआउनु, नाकबाट पानी बग्नु या नाक बन्द हुनु, टाउको दुख्नु, शरीरमा दर्द हुनु, थकान महसुस हुनु, केटाकेटीमा बान्ता, डाइरिया हुनु।

कहिलेसम्म कष्ट रहन्छ : तीनदेखि चार दिनसम्म व्यक्ति बढी संक्रामक हुन्छ। सात दिन या सोभन्दा बढी समयसम्म व्यक्तिलाई यसबाट कष्ट हुन सक्छ।

लक्षण : कोरोना भाइरसमा जस्तै खानाको स्वाद लिने, नाकले सुघ्ने र गन्ध थाहा पाउने क्षमता समाप्त हुन्छ। लगातार सुक्खा खोकी लाग्छ।

डेंगु : यसमा ज्वरो आउनुका साथै शरीरमा रातो र गोलो दाग हुनु। शरीरको जोर्नी र हड्डीमा असह्य पीडा हुनु।

इन्फ्लुएन्जा : ज्वरो आउलाजस्तो महसुस हुनु, नाकबाट पानी बग्नु या बन्द हुनु।

कुन रोगमा कुन किसिमको समस्या हँुदैन : इन्फ्लुएन्जा संक्रमणका कारण श्वास लिन समस्या हँुदैन भए पनि बहुतै कम।

कोरोना भाइरसमा कमै व्यक्तिलाई छातीमा भारीपन महसुस हुन्छ। डेंगुका बिरामीलाई सुक्खा खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या हुँदैन। कोरोना, डेंगु र इन्फ्लुएन्जा भाइरसको लक्षण लगभग उस्तैउस्तै हुन्छ।

कुनै पनि एऊटा लक्षण तपाईंमा छ भने सर्वप्रथम आफूलाई आइसोलेट गर्ने। घरपरिवार, एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक डाक्टर जो पनि हुनसक्छ, उनीहरूसँग चिकित्सकीय सल्लाह लिने र चिकित्सकले सल्लाह दिएपछि मात्र जाँच गराउने।

हरेक ज्वरोलाई कोरोनाको ज्वरो ठान्नु हुँदैन। बरु सतर्क हुने गर्नुपर्छ। कोरोना पुष्टिका लागि आरटी– पीसीआर जाँच गराउनुस्। यसका अलावा शरीरमा अक्सिजनको स्तर कति छ यो जान्नका लागि घरमा आक्सिमिटर राख्नुस्। शरीरको अक्सिजन लेबल केकति छ, जाँच पनि गर्नुस्। शरीरमा अक्सिजनको स्तर ९२ प्रतिशतभन्दा कम छ भने सावधान हुन जरुरी छ।

यी पाँच नियमको पालन अनिवार्य रूपले गर्नुहोस् : ज्वरो आए प्रत्येक तीन घन्टामा थर्मोमिटरले जाँच गर्ने। एकअर्काबाट कम्तीमा ६ फिटको दूरीको नियम पालन गर्ने। मनतातो पानी पिउने, मौसमअनुसार फलफूल र हरिया सागपात बढी मात्रामा खाने। झोलीय पदार्थको मात्रा बढाउने। हर्बल (तुलसीका पात, बोजो, अदुवा, गुर्जो, बेसार) काँडाको सेवन फाइदाजनक छ। ज्वरो कम भएन भने चिकित्सकसँग अनलाइनमार्फत सम्पर्क गर्नुहोस्।

कति दिन अस्पताल बस्नुपर्छ : सामान्यत: कोरोनामा चारदेखि १४ दिन या त्योभन्दा बढी; डेंगुमा तीनदेखि सात दिन या त्योभन्दा बढी; इन्फ्लुएन्जामा दुईदेखि पाँच दिन या सोभन्दा बढी। यो कुरा रोगीको उमेर, उसको शारीरिक अवस्था र रोगको स्थितिमा पनि भर पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.