हिमाल आरोहणमा हाइप्रोफाइल

हिमाल आरोहणमा हाइप्रोफाइल

काठमाडौं : कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानी सम्मिलित टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको छ। उनीहरू बिहान ११ः२० बजे आमदब्लम शिखरमा पुगेको ट्रेकिङ कम्पनी हिमालयन गाइड्स नेपालका प्रबन्धक उमिद भण्डारीले बताए। 

कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला विदेशी ‘हाइ प्रोफाइल’ले नेपालका हिमाल आरोहण गरेको यो दोस्रो हो। यसअघि बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे (६,१४५ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गरेको थियो। 

कतारका राजकुमारको टोलीको नेतृत्व अमेरिकी गाइड ग्यारेट सी म्याडसनले गरेका थिए। उक्त टोलीमा पाँच नेपाली गाइडसहित १२ जना सहभागी थिए। आमदब्लम हिमाल आरोहणका लागि पर्यटन विभागले पहिलो स्वीकृति कतारका राजकुमारको टोलीलाई दिएको थियो। आमदम्बलम हिमाल आरोहण गर्न विभागले ४५ दिनको पर्मिट जारी गर्ने गर्छ। ६ हजार ८ सय १२ मिटर उचाइको आमदब्लम आरोहण प्राविधिक रूपमा कठिन मानिन्छ।

उक्त टोली अक्टोबर २१ मा काठमाडौं आएको थियो। सरकारको कोरोना सुरक्षा मापदण्डअनुसार उनीहरू होटल याक एन्ड यतीमा क्वारेन्टाइनमा बसेका थिए। कोरोना जाँच रिपोर्ट नेगेटिभ आएपछि अक्टोबर २६ मा लुक्लातर्फ उडेको भण्डारीले सुनाए। उनीहरू बिहीबार काठमाडौं फर्किंदै छन्।

कोरानाका कारण रोकिएको हिमाल आरोहण तथा पर्वतारोहण औपचारिक रूपमा नखुल्दै बहराइनका राजकुमारको टोली सरकारको विशेष अनुमति लिएर काठमाडौं आएको थियो। मन्त्रिपरिषद्को भदौ १४ गते बसेको बैठकले पर्वतारोहणका लागि विशेष अनुमति दिने निर्णय गरेको थियो। सरकारले कात्तिक १ गतेदेखि मात्र विदेशी तथा आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै हिमाल आरोहण तथा पर्वतारोहण खुलाएको हो। कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि हिमाल आरोहण रोकिएको थियो।

कोराना भाइरस महामारीका बीच शरद ऋतुमा हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण देखिएको छ। कात्तिक १ गतेदेखि १ सय ५० भन्दा बढी आरोहीले साना तथा ठूला हिमाल आरोहण गरेका छन्।
पर्यटन विभागको पर्वतारोहण शाखा निर्देशक मीरा आचार्यले शरद ऋतुको सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना नेपालको हिमाल तथा पर्वतारोहणका लागि सिजन भएकाले अझै केही आरोहणका लागि निवेदन आउन सक्ने जानकारी दिइन्। अघिल्ला वर्षका तुलनामा आरोहीको संख्या र त्यसबाट उठ्ने रोयल्टी भने अहिलेको परिस्थितिमा दाँज्न नमिल्ने निर्देशक आचार्यको भनाइ छ। उनले कोरानाका बीचमा नेपालको पर्वतारोहणमा देखिएको विदेशीको चासोलाई उपलब्धिका रूपमा हेरिएको बताइन्।

कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोली अमादब्लम हिमाल आरोहणका क्रममा। तस्बिर, हिमालयन गाइड्स नेपाल 

‘माइनसबाट १ प्रतिशतमा गएका छौं। किनभने अघिल्ला वर्षमा विभागले मात्रै एक वर्षमा २५ सयभन्दा बढीलाई आरोहणको अनुमति दिने गरेको थियो। अंक दाँज्ने भन्दा यसले विदेशी पर्यटक भित्र्याउन मद्दत गरेको छ’, आचार्यले भनिन्। यसले २०२१ को वसन्त ऋतुमा सहयोग उनले गर्ने बताइन्।

पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कारोनाका बीच केही प्रतिष्ठित व्यक्तित्वको नेपाल आगमन र हिमाल आरोहणले पर्यटनका लागि नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न मद्दत गरेको बताए। ‘नेपाल आएका व्यक्तित्वहरूले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नुहुन्छ, केही लेख्नुहुन्छ’, प्रवक्ता भट्टराईले भने, ‘यसले विश्वजगत्मा नेपालको प्रचारप्रसारमा कोशेढुंगा सावित हुन सक्छ। हामीले भन्न खोजेको कुरा उहाँहरू आफँै भन्नुहुन्छ। धेरै राम्रो कुरा हो।’ 

मुलुकको पर्यटनमा पर्वतारोहण राजस्व संकलनका लागि पनि महत्वपूर्ण छ। हिमाल आरोहणबाट एकै सिजनमा करोडौं रूपैयाँ विदेशी पैसा भित्रिने गर्छ। सन् २०२० को वसन्त याममा पर्वतारोहणबाट झण्डै आधा अर्ब रुपैयाँ संकलन भएको थियो। विश्वमा कोरोना संक्रमण फैलिरहेका बेलासम्म नेपाल सुरक्षित नै रहेकाले राजस्व संकलनमा खासै असर परेको थिएन। शरद ऋतुमा भने कोरोना अझै महामारीका रूपमा देखापरेकाले यसले राजस्व संकलनमा प्रत्यक्ष असर गर्ने बताइएको छ। 

नयाँ सुरक्षा मापदण्ड

पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने सर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ। मापदण्डअनुसार पर्वतारोहण गर्न आउने विदेशीले नेपाल आउनुपूर्व नै नेपालको भिसा प्राप्त गर्नुपर्ने हुन्छ। सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्ने व्यवस्था छ। उनीहरूका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ। पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेस गरेको पर्वतारोहण गर्ने पर्यटकका लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने भनिएको छ।

नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको कोरोना जाँच रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ। अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजातसमेत हेरिने भएको छ। कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ। त्यसको कागजातसमेत सोही समय देखाउनुपर्नेछ।

क्वारेन्टाइनमा बसेको पाँचाँै दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ। नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ। नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने भएको छ। नेपालमा पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड र विभागले जारी गरेका अन्य सर्त पनि पालना गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.