असाधारण खेलाडी, विवादित जीवनशैली

असाधारण खेलाडी, विवादित जीवनशैली

डिएगो म्याराडोना अद्भुत र असाधारण थिए। उनी समकालीन फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडी थिए। अर्जेन्टिनामा जन्मिएका म्याराडोनासँग असाधारण प्रतिभा त थियो नै; गतिको भण्डार पनि उत्तिकै थियो। उनको यही अद्भुत कलाकै कारण प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे। यसविपरीत उनले आफ्नो विवादित हर्कतबाट प्रशंसकलाई दुःखी पनि बनाए। म्याराडोनाले आफ्नो विवादित ‘हेन्ड अफ गड्स’ गोलबाट सबैलाई चकित बनाए।

अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबलको उपाधि जित्दा उनी टोलीका कप्तान थिए। म्याराडोनाकै चामत्कारिक प्रदर्शनका कारण अर्जेन्टिनाले उक्त विश्वकप जितेको थियो। उनले इङ्ल्यान्डविरुद्घको क्वार्टरफाइनल खेलमा हातले गोल गरेका थिए। यद्यपि, उक्त गोल म्याराडोनाका हातबाट भएको थियो भन्ने रेफ्रीले पत्तो पाउन सकेनन्। त्यसको रहस्य खुलेपछि म्याराडोनाले उक्त गोललाई ‘भगवान्का हातबाट भएको गोल’ को संज्ञा दिएका थिए।

म्याराडोनाको जन्म ६० वर्ष पहिले अर्जेन्टिनाको राजधानी ब्युनर्सआयर्सको गरिब बस्तीमा भएको थियो। गरिबीसँग लड्दै उनी फुटबलमा होमिएका थिए। फुटबलमा दत्तचित्त भएर लागेकै कारण उनी छोटो समयमै उत्कृष्ट खेलाडीको पगरी गुथ्न सफल भए। त्यसबेला ब्राजिलका महान् खेलाडी पेले र म्याराडोनामा को उत्कृष्ट भन्ने बहस चुलिएको थियो। दशकौं बितिसक्दा पनि म्याराडोना र पेलेको विषयले विश्व फुटबललाई अहिले पनि उत्तिकै तताउने गरेको छ। ब्राजिलियन फुटबलर लिजेन्ड पेलेले म्याराडोनाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आफूले महान् साथी गुमाएको बताएका छन्। उनले आफूहरूको मित्रता अमर रहेको भन्दै एक दिन आकाशमा फुटबल खेल्नेसमेत बताएका छन्। ‘मैले एक महान् साथी गुमाएँ। विश्वले लिजेन्ड गुमाएको छ’, पेलेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक दिन हामी आकाशमा बल खेल्ने छौं।’ एक सर्वेक्षणमा उनले पेलेलाई पछि पार्दै बीसौं शताब्दीका महान् फुटबलरको उपाधि आफ्नो नाममा लेखाएका थिए। यसपछि फिफाले सर्वेक्षणको नियम परिवर्तन गर्दै दुवै खेलाडीलाई महान् खेलाडी घोषणा गरेको थियो।

म्याराडोना विलक्षण प्रतिभाका धनी थिए। सानैदेखि सबैका नजरमा परेका थिए। उनले १६ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेका थिए। होचो कद र मोटो शरीर भएका म्याराडोना सामान्य खेलाडी थिएनन्। म्याराडोनासँग तीव्र गति, तीक्ष्ण दिमाग, अद्भुत ड्रिब्लिङजस्ता विशेष गुण थिए। उनले कूल चार सय ९१ खेल खेल्दै दुई सय ५९ गोल गरे। अर्जेन्टिनाका लागि ९१ खेल खेलेर ३४ गोल गरे। उतारचढावले भरिएको उनको अन्तर्राष्ट्रिय करियरमा यो एउटा हिस्सा मात्रै थियो। उनले अर्जेन्टिनालाई सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि दिलाएका थिए।

सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले केही यस्तो चमत्कार गरे, जसको चर्चा सधैं भइरहने छ। क्वार्टरफाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी इङ्ल्यान्ड थियो। दुवै देशबीच खेलअघि नै तनावपूर्ण स्थिति थियो। त्यसको चार वर्षअघि मात्र फकल्यान्ड युद्ध भएको थियो। फकल्यान्ड युद्धमा इङ्ल्यान्डसँग अर्जेन्टिना नराम्रोसँग पराजित भएको थियो। त्यसैले सन् १९८६ जुन २२ को त्यो खेलमा सबैको नजर थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोली सतर्क थिए। ५१ मिनेटसम्म खेल बराबरीमै थियो, तर त्यसको केही सेकेन्डमै अर्जेन्टिनाले अग्रता लियो।

म्याराडोना विपक्षी गोलरक्षकलाई बिट गर्दै हातले बललाई जाली चुमाए। म्याराडोनाले हातले गोल गरेको भन्दै इङ्ल्यान्डले विवाद पनि ग¥यो, तर रेफ्रीले त्यसलाई गोलको संज्ञा दिए। खेलपछि म्याराडोनाले त्यो गोल थोरै आफ्नो टाउको र थोरै भगवान्का हातबाट भएको बताएका थिए। फुटबलको इतिहासमा त्यस गोललाई ‘हेन्ड अफ गर्ड’ का रूपमा चित्रण गरिँदै आएको छ। पहिलो गोल गरेको चार मिनेटपछि म्याराडोनाले अर्को गोल गरे, जसलाई ‘गोल अफ द सेन्चुरी’ अर्थात् शताब्दीकै उत्कृष्ट गोल मानिन्छ। उनले इङ्ल्यान्डका ६ खेलाडीलाई छक्याउँदै गोल गरेका थिए।

खेलपछि म्याराडोनाले भनेका थिए, ‘यो खेल जित्नुभन्दा पनि मुख्य उद्देश्य इङ्ल्यान्डलाई विश्वकपबाट बाहिर गर्नु थियो’, ‘धन्न फुटबल मैदानमा गोर्खालीहरू थिएनन्।’

ड्रग्समा फसेका हिरो

म्याराडोनाले बार्सिलोना, सेभिल र नापोलीजस्ता चर्चित क्लबबाट फुटबल खेलेका थिए। उनी क्लबका हिरा मानिन्थे। सन् १९८२ मा तीन मिलियन पाउन्डमा स्पेनिस क्लब बार्सिलोनामा आबद्ध उनी त्यसको दुई वर्षपछि पाँच मिलियन पाउन्डमा इटालियन क्लब नापोली पुगेका थिए। उनी हेलिकप्टरमा इटालीको सान पाओलो रंगशाला पुग्दा उनलाई स्वागत गर्न ८० हजारभन्दा बढी प्रशंसक उपस्थित भएका थिए। त्यसैको परिणाम पनि होला उनले आफ्नो करियरको सबैभन्दा उत्कृष्ट फुटबल इटालीमा खेले। प्रशंसकबाट त्यति नै माया पनि पाए। इटालियनहरू उनलाई फुटबलका हिरा भन्थे।

इटालीमा म्याराडोनाले जुन माया र सम्मान पाए, त्यसबाट उनी निकै पुल्पुलिए पनि। उनी विस्तारै लागुऔषधमा फसे। उनको ध्यान लागुऔषधमा बढी जान थाल्यो। उनको नाम इटालीको कुख्यात माफिया संगठन कैमोरासँग पनि जोडिन पुग्यो। सन् १९९१ मा म्याराडोना डोपिङ (प्रतिबन्धित औषधि सेवन परीक्षण) मा असफल भए। त्यसपछि उनी १५ महिना प्रतिबन्धमा परे। १५ महिनाको प्रतिबन्धपछि उनी फुटबलमा त फर्किए, तर उनको कुलत भने छुटेको थिएन। सन् १९९४ मा अमेरिकामा भएको विश्वकप फुटबलमा प्रतिबन्धित लागुऔषध सेवन गरेको पाइएपछि प्रतियोगिताको बीचबाटै घर फर्काइएको थियो। म्याराडोनाले विश्वकप गुमाएपछि अर्जेन्टिना पनि अन्तिम १६ बाटै घर फर्किएको थियो। समूह चरणका खेलमा ग्रिस र नाइजेरियालाई पराजित गरेको अर्जेन्टिना समूह चरणको अन्तिम खेलमा बुल्गेरियासँग पराजित भएको थियो। अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई रोमानियाले पराजित 
गरेको थियो।

सन्न्यासपछिको दैनिकी

डोपिङ परीक्षणमा तेस्रोपटक पोजेटिभ पाइएपछि म्याराडोनाले ३७औं जन्म दिनका दिन व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका थिए, तर त्यसपछि पनि उनी विवादमा पर्ने आलोचनाको सिकार भने भइरहे। बुधबार राति अन्तिम सास लिउञ्जेल पनि विवाद र आलोचनाले भने उनलाई छाडेन।

लागु एवं मादक पदार्थको लतका कारण उनको स्वास्थ्यमा धेरै समस्या आयो। फुटबलबाट अलग्गिएपछि उनको तौलसमेत निकै बढ्यो। एक समय उनी एक सय २८ किलोसम्म पुगेका थिए। उनको खराब बानीकै कारण सन् २००४ मा उनलाई हृदयघात भएको थियो। उनले त्यसबेला लामो समय अस्पतालमा पनि बिताए। मोटोपन घटाउन शल्यक्रियासमेत गरिएको थियो। उनको कुलत छुटाउन पनि विभिन्न उपचार गरिएको थियो। उपचारपछि उनी लागु एवं मादक पदार्थबाट उनी टाढा पनि भए।

त्यही समयमा म्याराडोना सन् २००८ मा अर्जेन्टिनी फुटबल टोलीको मुख्य प्रशिक्षक बने। उनले राष्ट्रिय टोलीमा धेरै प्रयोग गरे। त्यसलाई लिएर सहकर्मीसँग उनको मतभेद भयो। त्यसपछि उनले राष्ट्रिय टोली छाडे।

सन् २०१८ को विश्वकप फुटबलमा अर्जेन्टिना र नाइजेरियाबीचको खेलका दौरान म्याराडोनाको एउटा तस्बिरले निकै चर्चा बटुलेको थियो। उनको स्वास्थ्य अवस्था निकै बिग्रिएको भन्दै धेरैले स्वास्थ्यलाभको कामनासमेत गरेका थिए। ती सबलाई नजरअन्दाज गर्दै उनले नाइजेरियाकी प्रशंसकसँग नृत्य गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय म्याराडोना आफ्नो जीवनशैली सुधार गर्न लागिपरेका थिए। मध्यपानको लत छुटाउन पनि उनले उपचार सुरु गरेका थिए, तर दुर्भाग्य यहीबीचमा उनलाई हृदयघात भयो र ६० वर्षको उमेरमा संसार छाडे। सर्वकालीन महान् फुटबलर म्याराडोनाले बुधबार राति संसार छाडे पनि उनी हरेक फुटबल पारखीको मनमनमा बसेका छन्। अर्जेन्टिनी फुटबल संघले भनेजस्तै उनी हाम्रो मनमस्तिष्कमा सधैँ जीवितै रहिरहने छन्।

म्याराडोनाकै चामत्कारिक प्रदर्शनका कारण अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.