वैवाहिक बन्धनबारे कानुन
मंसिरको महिना सुरु भएसँगै हिन्दु परम्पराअनुसार विवाहको मौसम चलिरहेको छ। वैवाहिक जीवनमा बाँधिन चाहनेका लागि अलिबढी उत्साह र सक्रियताको समय हो यो। यस उत्साह र सक्रियताको पछाडिको एक मात्र कारण भनेको आफूअनुकूलको जीवनसाथीको प्राप्तिसँगै जीवनलाई उल्लमहासपूर्ण र सुखमय बनाउने कल्पना नै हो। असल र सही जीवनसाथीको प्राप्तिलाई जीवन खुसी र सुखी बनाउने कार्यको सुरुवाती विन्दु हो, तर जतिसुकै असल र सही स्वरूपको जीवनसाथी पाय पनि विवाहपश्चात्का सम्बन्ध सही तरिकाले निभाउन नसक्ने हो भने जीवन सरल, सरस र सहज बनाउने कुरा कल्पना मात्र हुने देखिन्छ। तर्सथ वैवाहिक जीवनका सारथिहरूले व्यक्तिको छनोटका अलावा स्थापित भइसकेको सम्बन्ध निभाउने तरिका र प्रक्रियामा पनि ध्यान दिन सक्नुपर्छ।
विवाह के हो ?
विवाह सबैभन्दा नजिकको सम्बन्ध स्थापना गर्ने कानुनी र सामाजिक स्वीकृति हो। समलिंगी विवाहलाई कानुनी मान्यता दिइनसकेको हाम्रोजस्तो मुलुकका नागरिकका लागि विवाह दुई विपरीत लिंगीबीचको आत्मिक मिलन वा अनतिक्रम्य सामाजिक बन्धन हो। एकले अर्काको अस्तित्व स्वीकार गर्दै भावनात्मक एकतासहितको जीवनको गोरेटोमा सँगसँगै हिँड्ने प्रण गरेर बाँधिएको धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्ध सूत्र हो विवाह। यसलाई स्वीकार गर्दै मुलुकी देवानी संहिताको दफा ६८ मा भनिएको छ, ‘विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हुनेछ।
हिन्दु परम्पराअनुसार हुने विवाहमा वर–वधूलाई धर्म (सत्य), अर्थ (आर्थिक सबलता), काम (सांसारिक चाहना), मोक्ष (गति÷मुक्ति प्राप्ति) को प्रक्रियाको एकअर्काको साझेदार मानिन्छ। विवाहमा महिला र पुरुषबीचको सम्बन्ध कानुन, नियम, चलन, विश्वास र मनोवृतिद्वारा नियमन हुन्छ, जसले साझेदारहरूको अधिकार र कर्तव्य तोक्नुका साथै सामाजिक तथा प्राकृतिक क्रियाकलापका लागि अनुमति प्रदान गर्छ। ती अनुमतिमा यौन तृप्ति र नियमन, श्रमको विभाजन, आर्थिक उत्पादन र उपभोग, व्यक्तिगत आवश्यकताको परिपूर्तिका लागि सामूहिक हिस्सेदारी, सन्तुष्टि र सहयोग एवं स्नेहमा साझेदारीजस्ता पक्ष पर्छन्।
विवाह गर्ने इच्छुकका लागि आवश्यक योग्यता
वर्तमान कानुनी व्यवस्थाको परिधिभित्र रही भन्नुपर्दा विवाह गर्न इच्छुक व्यक्तिका लागि पहिलो योग्यता भनेको २० वर्ष पूरा भएको र अविवाहित हुनु वा अघिल्लो वैवाहिक सम्बन्ध अन्त्य भएको हुनु र हाडनाता सम्बन्धभित्र नपर्ने हुनु आवश्यक छ। यद्यपि महिलाका हकमा विवाहिताका विषयमा केही लचकता भेटाउन सकिन्छ। यसका अतिरित्त गम्भीर रोगले ग्रसित, नपुंसक, यौनांग नभएको, सन्तान उत्पादन क्षमता नभएको, पूर्णरूपमा बोल्न, सुन्न नसक्ने व्यक्ति वैवाहिक सम्बन्ध कायम गर्न अयोग्य ठानिन्छ। त्यस्तै गर्भवती र नैतिक पतन हुने फौजदारी कानुनमा सजाय पाएको व्यक्तिलाई झुक्याएर विवाह गर्न नहुने व्यवस्था वर्तमान कानुनले गरेको छ। यस्तो विवाह गराएको खण्डमा चित्त नबुझ्ने पक्षले विवाह गराउने पक्षसँग क्षतिपूर्ति माग्नुका साथै विवाहसमेत बदर गराउन सक्ने व्यवस्था वर्तमान कानुनले गरेको छ। अर्कातर्फ जबर्जस्ती करणी, हाडनाता करणी र बहुविवाह कायम हुने अवस्थाबाहेक कुनै महिला र पुरुषबीच शारीरिक सम्पर्क कायम भई बच्चा जन्मिएको प्रमाणित भएमा निज महिला र पुरुषबीच स्वतः विवाह भएको मानिने कानुनी व्यवस्था छ।
विवाह गर्ने विद्यमान विधि र प्रक्रिया केके छन् ?
प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने र पारिवारिक जीवनयापन कायम गर्ने स्वतन्त्रता प्राप्त छ। कानुनी प्रक्रियामा आधारित विवाहको कुरा गर्दा विगतको विवाह दर्ता ऐन, २०२९ बमोजिम प्रमुख जिल्ला अधिकारीको कार्यालयमार्फत गरिने दर्ता विवाहलाई वर्तमान संहिताको व्यवस्थाले अन्त्य गर्दै कोर्ट म्यारिज वा दर्ता विवाह अदालतबाट मात्र हुन सक्ने व्यवस्था गरेको छ। यसअनुसार अब दर्ता विवाह गर्न चाहने व्यक्तिले कानुनबमोजिम आफू विवाह गर्न योग्य भएको प्रमाण र दुईजना साक्षीसहित नेपालभित्र भए सम्बन्धित जिल्ला अदालत र नेपालबाहिर भए दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था गरेको छ। यसरी निवेदन दिन सो क्षेत्रमा कम्तीमा १५ दिन वसोबास गरेको हुनुपर्ने र निवेदन परेको सात दिनभित्र सम्बन्धित अधिकारीले अन्यथा प्रमाणित नभएमा दर्ता विवाहको प्रमाणपत्र दिनुपर्ने कानुनी व्यवस्था संहितामा गरिएको छ। यसका अतिरिक्त धार्मिक, सामाजिक र सांस्कृतिक वा पारिवारिक रूपमा गरिने विवाहलाई पनि हाम्रो कानुनी व्यवस्थाले मान्यता दिएको छ।
विवाहको परिणाम के ?
कुनै पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एकअर्काका पतिपत्नीका रूपमा मानिन्छन्। पति पत्नी भएपछि एकअर्कामा प्रेम र सद्भाव कायम गर्नुपर्ने, सहमतिमा अन्य व्यवस्था भएकोमा बाहेक सँगै बसी जीवनयापन गर्नुपर्ने पतिको घर दुवैको वासस्थान मानिने, एवम् एकले अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नुपर्ने व्यवस्था छ। यसका अलावा कानुनमा अन्यथा व्यवस्था भएको अवस्था र पतिपत्नीबची कानुनी विवाद भएको अवस्थामा बाहेक सामान्य घर व्यवाहारका काममा पतिपत्नी एकअर्काको प्रतिनिधि मानिने व्यवस्था छ। एकले अर्कालाई इज्जत र क्षमताअनुसार खानलाउन दिनुपर्ने, आवश्यक स्वाथ्योपचारको व्यवस्था गर्नुपर्ने, समान सहभागितामा घरव्यवहार चलाउनुपर्ने, एकले अर्कालाई सीप, योग्यता र क्षमताअनुसारका पेसा–व्यवसाय गर्नबाट रोक्न नहुने व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले व्यवस्था छ।
अन्त्यमा, वैवाहिक सम्बन्धका कुरा गर्दा समान आकांक्षा र चाहना भएका सकेसम्म भौगोलिक रूपमा नजिक रहेका, सानातिना मनमुटावलाई सहज व्यवस्थापन गर्न सक्ने, व्यक्तिगत जिम्मेवारी र दायित्वबाट कहिल्यै पन्छिन नखोज्ने, सुखमा नआतिने र दुःखमा नमात्तिने, एकअर्कालाई सहयोग गर्न पाउनुलाई अहोभाग्य ठान्ने र जस्तोसुकै विषम परिस्थितिमा पनि धैर्यधारण गर्न सक्ने एवम् दृढ आत्मबल भएका मानिससँग सम्बन्ध विकास गरी सहअस्तित्व र सहयात्राको मर्म आत्मसात गनुपर्छ ।
प्रतिक्रिया दिनुहोस !