९३ वर्षमा फर्कियो आँखाको ज्योति
भोजपुर : उजिरबहादुर प्रधानको दुवै आँखामा मोतीबिन्दु भएकै ४० वर्ष बढी भयो। भोजपुर नगरपालिका-८, पोखरे बरबोट निबासी ९३ वर्षीय प्रधानलाई वृद्धावस्थामा घरभित्र बाहिर गराउन नातिनातिनी वा छोराबुहारीको सहारा चाहिन्थ्यो। दुवै आँखामा मोतीबिन्दु भएका कारण मानिस राम्ररी चिन्दैनथे। २०६९ सालमा उनी आँखा उपचारका लागि काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल पनि धाए। तर अस्पतालले उपचार हुँदैन भनेर पठाइदियो। अन्य विभिन्न नाम चलेका ठूला अस्पताल र क्लिनिकमा पनि पुर्याइयो। तर कतै पनि उपचार भएन। उपचार नपाएपछि प्रधानलाई घरमै ल्याएर राखियो।
अजिंगरको आहारा दैवले जुराउँछ भनेझैं वर्षौंदेखि अन्धकारमय जीवन बिताइरहेका प्रधानले पनि अन्ततः ज्योति पाए। निःशुल्क आँखा शल्यक्रिया शिविरमा दुवै आँखामा मोतीबिन्दुको शल्यक्रियापछि प्रधान पुनः देख्न, चिन्न र हिँड्न सक्ने भएका छन्। शहरका ठूला सुविधासम्पन्न आँखा अस्पतालमा चक्कर लगाए पनि पार नलागेको उनको मोतीबिन्दुको शल्यक्रिया आफ्नै ठाउँमा आएको शिविरमा उपचार भएपछि सफल भएको उनी सुनाउँछन्।
‘देश दुनियाँ घुमे पनि उपचार नभएको मेरो आँखा आखिर आफ्नै ठाउँमा पाएँ, त्यो पनि निःशुल्क, भगवानको कृपाले आज फेरि देख्न सक्ने भएको छु’ प्रधानले भने, ‘यसरी यो बुढेसकालमा आँखाको ज्योति पाउँदा पुनः जीवन पाए झैँ लागेको छ।’ पहिले जसरी नै राम्ररी आँखा देख्न सक्ने भएपछि प्रधान र उनको परिवारमा हर्ष छाएको छ।
निःशुल्क उपचारपछि विशेषगरी वृद्ध अवस्थाका बिरामीहरू हर्षित बनेका छन्। स्थानीयस्तरमै मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाले नयाँ जीवन मिलेको उनीहरू सुनाउँछन्। आर्थिक अभावले आँखाको उपचार गराउन नपाएका रामप्रसाद राई गाउँपालिका २, ओख्रेका ७८ वर्षीय तिलकबहादुर राईले पनि निःशुल्क उपचार पाउँदा हर्षित बनेको अनुभव पोखे। ‘बुढेसकालमै भए पनि ज्योति पाएँ, अपरेसनपछि अहिले राम्रोसँग मानिस चिन्दछु, पैसा अभावले पहिले उपचार गर्न सकिएन’ उनले भने, ‘वर्षौंदेखि गुमेको आँखामा ज्योति पाउँदा अर्कै जीवन पाएको महसुस भएको छ।’
विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा सञ्चालित दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा नौ स्थानीय तहका ग्रामीण भेगबाट छनोट गरिएका ६२ जना बिरामीको उपचार गरिएको थियो। विशेषगरी मोतीबिन्दुु तथा आँखामा मासु पलाएका ४० वर्ष नाघेका बिरामीहरूको शल्यक्रिया गरिएको थियो।
कोभिड–१९ संक्रमणको जोखिम कम भएका कारण पनि भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको डा. प्रज्ञा लुइँटेलले बताइन्।
दुर्गम ग्रामीण भेगका विपन्न समुदायलाई लक्षित गरी शिविर आयोजना गरिएको केन्द्र प्रमुख विजय तामाङले बताए। ‘हामीले नौ वटै स्थानीय तहबाट बिरामीहरूको छनोट गरेर उपचार थाल्यौँ। आर्थिक अवस्थाले उपचार खर्च धान्न नसकेका बिरामीलाई विशेष प्राथमिकता दिनकै लागि शिविर सञ्चालन गरेका हौं।’
प्रतिक्रिया दिनुहोस !