नियन्त्रणमा आएन घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो
![नियन्त्रणमा आएन घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो](https://annapurnapost.prixacdn.net/media/albums/Ghandruk-Deaurali-ko-Forest-ma-aagologi-7_20201230144401_NndkP3Y79C.jpg)
बेनी : म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा डढेलो लागेको छ। आइतबार रातिदेखि लागेको डडेलो बुधबार साँझसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन्। कास्कीको घान्द्रुकबाट सुरु भएको डडेलोले म्याग्दीको भूगोलमा पर्ने जंगलमा पनि ठूलो क्षति पुर्याएको घोरेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए।
‘सल्ला, गुराँस र जरबुटाको रुख भएको जंगल डढेलोले सखाप पारेको छ,’ उनले भने ‘घान्द्रुकतर्फबाट आएको डढेलो म्याग्दीको जंगलमा फैलिन नदिन अग्नी रेखा बनाएका छौ।’अझै पनि जंगलबाट घुँवाको मुस्लो निस्किरहेको छ। पूर्णरुपमा डेडेलो नियन्त्रणमा आइसकेको छैन्।’
अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी र चित्रेका बासिन्दाहरुले मंगलबार दिनभर श्रमदान गरेर जंगलमा लडेका र सुकेका रुख, पातपतिङ्गर हटाई अग्नी रेखा बनाएका थिए। डडेलोका कारण वन्यजन्तु र पंक्षीको बासस्थानमा असर परेको छ। काठ, दाउरा, घाँस, बोटबिरुवा र जडिबुटि जलेर नष्ट भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने घान्द्रुक देउराली क्षेत्रमा ठूलो जंगल छ। उट्पट्याङ गर्ने बटुवाहरुले वनमा आगो लगाएको हुन सक्ने स्थानीयको अनुमान छ। वन्यजन्तुको शिकार गर्न र चरनका लागि घाँस पलाउने गलत बुझाइका कारण डडेलो लगाउने गर्छन्।
डडेलो नियन्त्रण गर्न एक्याप र प्रहरी कार्यालयलाई जानकारी गराएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। गत कात्तिक महिनायता वर्षा नहुँदा वनजंगल सुख्खा भएका छन्। सुख्खायामको समयमा वनमा डडेलो लाग्ने समस्या बढी हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)