तीन सय जना अट्ने क्षमताको सिटी हल अलपत्र

तीन सय जना अट्ने क्षमताको सिटी हल अलपत्र

दोलखा : तीन सय जना अट्ने क्षमताको चरीकोट सिटी हलको निर्माण कार्य ठेकेदारको लापर्बाहीको कारण ७ वर्षदेखि अलपत्र बनेको छ।

भीमेश्वर नगरपालिका–३, चरीकोेट टुँडिखेलस्थित सुविधा सम्पन्न चरीकोट सिटी हलको निर्माण कार्य ठेकेदारको गैरजिम्मेवारीले ७ वर्षदेखि अलपत्र बनेको हो। २०७३ माघमा सम्पन्न गर्ने गरी २०७० मा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी रौताहा/ओमबुद्ध/सुन्दरीमाई जेभीले चरीकोट सिटी हलको निर्माण सात वर्षदेखि अलपत्र पारेको हो।

पहिलो चरणको संरचनाका लागि १ करोड ७९ लाखमा सो जेभीले ठेक्का लिएको थियो। १ करोड ४८ लाख भुक्तानी पाइसकेको ठेकेदार कम्पनीले सिटी हलको आधा संरचना निर्माणको जिम्मेवारी लिएको ७ वर्ष बित्नै लाग्दासमेत पहिलो ढलानबाहेक निर्माण सम्पन्न गरेको छ्रैन। 

छानोसहित पाँचतले सिटी हलको बाँकी काम गराउन पटक–पटक ताकेता गरे पनि ठेकेदारले बेवास्ता गरेको सहरी विकास तथा भवन निर्माण विभाग काठमाडौंका इन्जिनियर तुलसी खर्बुजाले बताए। उनले ठेकेदारको चरम लापरबाहीकै कारण सिटी हल अलपत्र परेको दाबी गरे।  तत्कालीन जिल्ला विकास समिति सभापतिको आवास रहेको जमिनमा निर्माण सुरु भएको सिटी हलको निर्माण अलपत्र हुँदा वर्षौंदेखि ठूलो क्षमताका कार्यक्रम गर्ने हलको अभाव रहँदै आएको थियो। दुई चरणमा निर्माण हुने सिटी हलको पहिलो चरणको काम लिने ठेकेदारले ९० प्रतिशत निर्माण सम्पन्न गरे पनि बाँकी १० प्रतिशत निर्माण पूरा नगरेकाले नयाँ टेन्डर आह्वान गर्न नसकिएको विभागले जनाएको छ।    

ठेकेदार कम्पनीले भूकम्प र नाकाबन्दीको बहानामा वर्षौँदेखि सिटी हल अलपत्र पारेपछि ठूला कार्यक्रम आयोजना गर्न चरम समस्या भोग्दै आउनु परेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए। उनले निर्माण व्यवसायीसहित विभागका इन्जिनियरको उपस्थितिमा छलफल गरी यथाशीघ्र निर्माण सम्पन्न गराउने सहमति गराए पनि व्यवसायीले काम अघि नबढाएको भन्दै आक्रोश पोखे। प्रमुख पाण्डेले भने, ‘समस्या भए समाधानका लागि हामी तयार छौँ, तर अमूर्त बहानामा काम अलपत्र छोड्ने अधिकार कसैलाई छैन।’

निर्माण अलपत्र छोड्ने ठेकेदार कम्पनीबाट नियमानुसार जरिवानाबापतको रकमसमेत असुल गरिसकिएको छ। जरिवाना तिरेर पनि थोरै मात्र बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न कम्पनीले आलटाल गरिरहेको छ। सम्पन्न भइसकेको निर्माण कार्यको रेखदेख तथा उचित संरक्षण हुन नसक्दा जीर्ण बन्दै जाने खतरा रहेको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.