गोरखामा पहिलो दिन ११६ जनालाई दिइयो कोरोनाविरुद्धको खोप
गोरखा : गोरखामा बुधबार एकैदिन ११६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। गोरखा अस्पताल परिसरमा बिहान १० बजे मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपाललाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको थियो।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पहिलो खोप लगाउने मेसु भुर्तेललाई खोपकार्ड हस्तान्तरण गरेर र प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले खोप कार्यकर्तालाई सिरिञ्ज हस्तान्तरण गरेर उद्घाटन गरे।
बुधबार पहिलो दिन गोरखा नगरपालिकाका ३७ जना, शहीद लखन गाउँपालिकाका ४३ जना र भीमसेनथापा गाउँपालिकाका ३६ जनालाई खोप लगाइएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए। उनीहरुमध्य ८९ जना महिला र २७ जना पुरुष रहेका उनले बताए।
पहिलो दिन बुधबार ५८ जना स्वास्थ्यकर्मी, ५१ जना महिला स्वास्थ्य स्वयंसेविका, पाँचजना कार्यालय सहयोगी र दुईजना एम्बुलेन्स चालकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए।
पहिलो दिन खोप लगाएकाहरु कसैलाई पनि कुनै नराम्रो असर नभएको सूचना अधिकारी ढकालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !