निर्वाचनको कामलाई निरन्तरता दिन आयोगलाई प्रधानमन्त्रीको सुझाव
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले निर्वाचनको कामलाई निरन्तरता दिन निर्वाचन आयोगका अधिकारीलाई सुझाव दिएका छन् । मंगलबार आयोग कार्यालयमै पुगेर प्रमुख आयुक्त र आयुक्तलाई प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार आयोगको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्री ओलीले आयुक्तहरुलाई धन्यवादसमेत दिएका छन् ।
‘वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचन तयारीका सम्बन्धमा जानकारी लिन सम्माननीय प्रधानमन्त्री केपी ओली निर्वाचन आयोग आउनुभयो’, थापाले भने, ‘आयोगमा प्रमुख आयुक्त र आयुक्तसँग छलफल भएको छ । प्रधानमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै धन्यवाद दिनुभएको छ । उहाँले आयोगको कामलाई निरन्तरता दिन सुझावसमेत दिनु भएको छ ।’
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीका लागि आयोगले गरेका कामको जानकारी गराए् । उनले सुरक्षा बन्दोबस्ती र बजेटका विषयमा प्रधानमन्त्रीलाई जनकारीसमेत गराएका छन् । थपलियाले आयोगले तोकिएको समयमा निर्वाचन गर्ने गरी काम गरिरहेको बताएका छन् ।
थापाले आयोगमा मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा भने छलफल नभएको बताए । उनले माघ २० गते पार्टीको आधिकारिकता दाबी गर्दै अर्को निवेदन परेको विषय प्रधानमन्त्रीलाई जानकारी गराइएको भए पनि यो विषयमा थप छलफल नभएको बताए ।
प्रधानमन्त्री ओलीले आयोगलाई कानुन र अभ्यासको आधारमा अघि बढ्न भनेको थापाको भनाइ छ । ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ । पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आधिकारिकता दाबी गर्दै आयोगमा दोस्रो पटक निवेदन दिएका हुन् ।
प्रधानमन्त्री केपी ओली समूहले भने सक्कली आफूहरु भएको भन्दै आएको छ । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काइरहेका बेला ओली समूह भने निर्वाचनको तयारीमा जुटेको छ ।
प्रधानमन्त्रीसँगै निर्वाचन आयोगमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे, संविधानसभाका पूर्वअध्यक्ष एवम् नेकपा नेता सुवास नेम्वाङलगायत नेतासमेत छलफलमा सहभागी थिए ।