भागिरथीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै बेनीमा प्रर्दशन
बेनी: बैतडीकी भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान गरी कारवाहीको माग गर्दै बिहीबार बेनीमा महिला संघ संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् ।
विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठन सहित १० भन्दा बढी संघ संस्थाहरुले संयुक्त बिरोध प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको र्याली बेनी बजारका विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा पुगी कोणसभामा परिणत भएको थियो ।
अन्तरपार्टी महिला सञ्जालकी उषा घिमिरेले भागिरथी भट्टलाई बलात्कार, हत्या गर्नेको जति सक्दो छिटो पहिचान गरी, निष्पक्ष छानबिन र कारवाहीका लागि सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरिएको बताइन् ।
अन्तरपार्टी महिला सञ्जाल, अनेमसंघ, नेपाल महिला संघ, अनेमसंघ क्रान्तिकारी लगायत संघ संगठनहरुले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेका हुन् । उनीहरुले “बलात्कार होइन सुरक्षा दे, दमन होइन अधिकार दे” लेखिएको कालो ब्यानर र प्ले कार्ड बोकेका थिए ।
एक हप्ताअघि बिद्यालयबाट घर फर्कने क्रममा गत हप्ता बाटोमै बलात्कार र घाँटी थिचेर भागिरथीको हत्यामा संलग्नको प्रहरीले अहिलेसम्म पहिचान, पक्राउ गर्न नसकेको भन्दै महिला नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।
‘प्रहरीको लापरबाहीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारी र हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन,’ महिला नेता ज्योती लामिछानेले भनिन् ‘भागिरथीको बलात्कार र हत्याको अनुसन्धानमा त्यस्तो लापरवाही नहोस् । पीडितले न्याय पाउन र दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’
यसैगरी बेनीको लिटिल गार्डेन एकेडेमीका छात्राहरुले प्रजिअ उमाकान्त अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारवाहीको माग गरेका छन् । बिद्यालयमा गठित गुणस्तर बृत्त समूह मार्फत् ज्ञापनपत्र बुझाएका उनीहरुले बालिका तथा छात्राहरुको सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । विद्यालय जान आउँदा पनि हुनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !