पोखराको शान
पोखरा : पोखराका लागि सन् २०२१ को वर्ष विशेष हुनेछ। अझ देशकै लागि पनि। बहुप्रतीक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम यो वर्ष पूरा हुने पक्कापक्की छ। अझ कोभिड–१९ को महामारी नआइदिएको भएचाहिँ छिटै त्यो काम पूरा हुन्थ्यो। २०७८ को दसैंमा विदेशबाट आउनेहरू अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं होइन सीधै पोखरा उत्रन सक्थे।
कोभिड–१९ को महामारीका बीच पनि कुनै विकासनिर्माण आयोजनाको काम रफ्तारमा भयो भने त्यसको एउटा उदाहरण पोखरा विमानस्थल हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका इन्जिनियर कृष्ण पौडेलका अनुसार कोभिड महामारीका बीच भएको लकडाउनमा पनि विमानस्थलको काम रोकिएको थिएन। केही मजदुर चीनमा रोकिएका थिए, तर यहीँ भएका र अरू नेपाली मजदुरबाट विमानस्थलको काम लकडाउनमा पनि जारी रह्यो। उपकरणलगायत केही सामान आउन नसक्दाचाहिँ कामको गति सोचेजत्तिकै हुन सकेन। कोभिड–१९ को महामारी फैलिएपछि आयोजना र ठेकेदार कम्पनीले चिनियाँ कामदारलाई विमानस्थल निमार्णस्थलभित्रै क्वारेन्टिनमा राखी काम गराएका थिए।
‘अहिलेसम्म विमानस्थल निर्माणको ७१ प्रतिशत पूरा भएको छ,’ इन्जिनियर पौडेल भन्छन्, ‘कोभिडै नभएको भएचाहिँ निर्धारित सन् २०२१ को जुलाईअघि नै सक्ने रफ्तारमा काम भइरहेको थियो।’ भौतिक संरचना निर्माणका सबैजसो काम पूरा भएको आयोजनाका उनले बताए। ‘पछिल्लो पटक आइसोलेटेड पार्किङ निर्माण पूरा भएको छ,’ उनले भने, ‘फिनिसिङका काम भइरहेका छन्।’
मुख्य भौतिक संरचना निर्माणका सबै काम पूरा भइसकेका छन्। टर्मिनल भवन पोहोरै बनिसकेको हो। वरिपरिका बाटाघाटा बनाउने काम र इन्टेरियरका काम पनि सकिएका छन्। अब खास बाँकी काम भनेको उपकरण जडान हो। ‘उपकरण पनि केही आइसकेका छन्, केही आउँदै छन्,’ पौडेल भन्छन्। विमानस्थल निर्माणका सबै भौतिक निर्माण र उपकरण जडान पछि पनि प्रक्रियागत काम भने ठेकेदार कम्पनीले गर्नुपर्ने इन्जिनियर पौडेल बताउँछन्। ती दुवै काम सँगसँगै जाँदा छिटै विमानस्थल पूरा हुने उनको विश्वास छ।
चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले विमानस्थल निर्माण गरिरहेको हो। उक्त कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंका अनुसार कोभिडअघि चीन गएका कामदार पनि अहिले फर्किरहेका छन्। चिनियाँ र नेपाली गरी २ सय हाराहारीका मजदुर अहिले पनि काममा खटिएका छन्। चिनियाँ मजदुर पोहोर फागुनमा आफ्नो सबैभन्दा ठूलो चाड नयाँ वर्ष मनाउन गएका थिए। लगत्तै कोभिड महामारी फैलिएर रोक्न लकडाउन भएपछि आउन पाएका थिएनन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक संरचनाहरू टर्मिनल भवन, ट्याक्सी पार्क, हेंगर, विमानस्थल प्रवेशमार्गदेखि सडक निर्माणलगायत काम सकिएको छ, एयर ट्राफिक टावर, ट्रमिलन भवनको स्टक्चर निर्माणलगायत भवनको स्टक्टर निर्माण सकी फिनिसिङ भइरहेको छ। २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहेको रनवेको सिमेन्टेड ढलान गरी सबैभन्दा पहिला सकिएको थियो।
सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो। तर ६ महिनाजति ढिला हुने भएको छ। पोखरा महानगरपालिका–१४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।
निर्माण कम्पनीले काम गरेको आधारमा १२ अर्ब रुपैयाँ भुक्तानी पाइसकेको छ। आयोजनाको लागत भने २१ अर्ब रुपैयाँभन्दा बेसी हो। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्नेछन्। २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ।