लयमा फर्किंदै आयात
काठमाडौं : भारतसहित तेस्रो मुलुकबाट हुँदै आएको आयातको गतिमा सुधार आउन थालेको छ। कोभिड—१९ को महामारी सुरु हुनुअघि अघिल्लो वर्ष भएको आयातकै हाराहारीमा यो वर्षको पहिलो ७ महिनामा वस्तुको आयात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको पहिलो सात महिना (साउनदेखि माघ) को तथ्यांकले वस्तुको आयात पुरानै लयमा फर्किन लागेको छनक दिएको छ।
चालू आर्थिक वर्षको पहिलो ७ महिनामा भारतसहित तेस्रो मुलुकबाट नेपालमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा आयात भएको छ।

अघिल्लो वर्ष २०७६÷०७७ को यही अवधिको तुलनामा ४ करोडभन्दा बढी रुपैयाँभन्दा बढीको वस्तुको आयात भएको हो। अघिल्लो वर्षको यस अवधिमा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। यो तथ्यांकले कोभिड—१९ को महामारीले थलिएको नेपालको बजार र उद्योग विस्तारै ठडिन लागेको विषयलाई पुष्टि गरेको छ। कोभिड महामारीको संक्रमण उत्सर्गमा रहेको समयमा आयात निर्यातको दर निकै खुम्चिएको थियो।
पछिल्लो तथ्यांकअनुसार माघ महिनामा मात्रै विभिन्न मुलुकबाट नेपालमा १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। गत पुससम्म ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो। आयात पुरानै लयमा फर्किंदै गर्दा व्यापार घाटा भने बढ्ने क्रम सुरु भएको छ। पहिलो ६ महिनासम्म आयात दर घट्दो र निर्यात दर बढ्दो भएर व्यापार घाटा सुधारोन्मुख अवस्थामा भए पनि पछिल्लो सातौं महिनाको आयात दर वृद्धि भएर व्यापार घाटा बढ्ने भएको छ।
सात महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिमा तुलनामा ०.६६ प्रतिशतले कम हो। गत आवको यही अवधिमा ७ खर्ब ३८ अर्ब रुपैयाँबराबरको व्यापार घाटा भएको थियो। वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत छ भने निर्यातको हिस्सा भने ८ प्रतिशत मात्रै छ।
पछिल्लो ७ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ८ खर्ब ७३ अर्ब ५६ करोड पुगेको छ। कुल वैदेशिक व्यापारको आकार अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ०.५७ प्रतिशतले सुधार आएको छ।
चालू आर्थिक वर्षमा पहिलो महिनाको अवधिमा निर्यातमा पनि सामान्य सुधार भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्षको ७ महिनामा ४ अर्ब ९४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ। चालू आर्थिक वर्षको पहिलो ७ महिनामा ६९ अर्ब ९१ करोड रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ। अघिल्लो वर्षको यही अवधिमा ६४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
अन्य मुलुकमा नेपाली वस्तु निर्यात भए पनि गत वर्षको माघ महिनादेखि नेपालबाट चीनमा हुने गरेको निर्यात भने झिनो रूपमा भइरहेको छ। चीनले कोभिड—१९ को बहानामा ‘जिरो कोभिड’ को नीति लिएकाले नेपालबाट उक्त मुलुकमा निर्यात प्रक्रिया कमजोर बनेको छ। पछिल्लो समय चीनबाट १ खर्ब १६ खर्ब १२ करोड रुपैयाँबराबरको बस्तु आयात हुँदा नेपालबाट उक्त मुलुकमा ५५ करोडको वस्तुमात्रै निर्यात भएको छ।
बढी आयात हुने वस्तु
पछिल्लो सात महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। गत साउनदेखि माघसम्मको अवधिमा १ खर्ब ४७ करोड ४९ लाख रुपैयाँबराबरको विभिन्न प्रकारका पेट्रोलियम पदार्थ नेपालमा आयात भएको छ। यस्तै आयरन तथा स्टिल ८० अर्ब २४ करोड, मेसिनरी उपकरण ६२ अर्ब, विद्युतीय उपकरण ६३ अर्ब २१ करोड, सवारीसाधन ५३ अर्ब २५ करोड, जनावर तथा वनस्पति बोसो ३४ अर्ब ८१ करोड, प्लास्टिक ३० अर्ब ८८ करोड, खाद्यान्न ४८ खर्ब ८७ करोड, हरियो तरकारी २२ अर्ब ३९ करोड, फलफूल १० अर्ब १४ करोड र तेल उत्पादन गर्ने विभिन्न प्रकारका बीउ १० अर्ब २७ करोड रुपैयाँबराबरको आयात भएको छ।
प्रतिक्रिया दिनुहोस !