बेलायतमा खोप सकारात्मक
लन्डन : कोभिडविरुद्धको खोपलाई सर्वसाधारणमा प्रयोगका लागि अनुमति दिने विश्वकै पहिलो देश हो, बेलायत। फाइजर र एस्ट्राजेनका खोपको वितरण सुरु गरिसकेको बेलायतमा हालसम्म १ करोड ६० लाख बढीले खोप पाइसकेका छन्।
बेलायतले पहिलो चरणमा संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेका १ करोड ५० लाख नागरिकलाई खोप दियो। ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति र सामाजिक कार्यकर्तालाई प्राथमिकताको पहिलो समूहमा राखेर खोप दिइएको थियो।
बेलायतले मेभित्र ५० वर्ष माथिका नागरिकलाई खोप दिइसक्ने योजना बनाएको छ। त्यसपछि अगस्टसम्ममा १८ वर्षमाथिका सबैलाई खोपको दायरामा ल्याउने लक्ष्य छ।
बेलायतमा कोभिडका कारण हालसम्म १ लाख १८ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। संक्रमण हुनेको संख्या ४० लाख नाघेको छ। तर, पछिल्ला दिनमा दैनिक मृत्यु, संक्रमण र अस्पताल भर्ना हुनेको संख्या ओरालो लाग्दै गएको छ। बेलायतमा अहिले कोभिड संक्रमण घट्दै जानुमा मुख्यतः महिनौंदेखि लागू देशव्यापी लकडाउन नै प्रमुख कारण रहेको अनुमान गरिएको छ। तर, आम रूपमा वितरण भइरहेको कोभिडविरुद्धको खोपले पनि संक्रमण घटाउन सहयोग गरिरहेको विश्वास गरिएको छ।
नतिजा आउन बाँकी
१ करोड ५० लाख नागरिकलाई खोप लगाइसक्दा खोपको प्रभावकारिता अझै यकिन हुन सकेको छैन। प्रारम्भिक रूपमा खोपले काम गरिरहेको देखिए पनि यससम्बन्धी पूर्ण नतिजा आउन अझै केही साता लाग्ने बताइएको छ।
नेप्लिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्षसमेत रहेका डा. रमेश खोजू भन्छन्, ‘प्रारम्भिक रूपमा खोपले काम गरिरहेको देखिएको छ। तर, यसको प्रभावकारिताबारे यकिन गर्न सकिने पर्याप्त तथ्यांक अझै उपलब्ध छैन। त्यसका लागि अझ केही साता पर्खिनु पर्नेछ।’
सामान्यतः खोपको प्रभाव देखिन तीन साता लाग्ने बताइएको छ। खोप लिइसकेका मानिसमा फेरि संक्रमण हुने सम्भावना कम रहने र संक्रमण भइहालेको अवस्थामा पनि त्यसलाई जित्न सहज हुने अनुमान गरिएको डा. खोजूले बताए। ‘अघिल्लो साता बेलायतमा कोभिड खोप लिने ८० वर्ष माथिका मानिसमा ‘एन्टिबडी’ १६ प्रतिशत पाइएको थियो। तर, पछिल्लो साता त्यो मात्रा बढेर ४१ प्रतिशत पुगेको तथ्यांक छ’, डा. खोजू भन्छन्, ‘यसबाट के देखिन्छ भने ८० वर्ष नाघेका मानिसमा पनि खोपले काम गरिरहेको छ।’ खोप र यसको प्रभावकारितासम्बन्धी सम्पूर्ण तथ्यांक बेलायत सरकारले पारदर्शी रूपमा सार्वजनिक नगरेको गुनासो समेत कतिपयले गरिरहेका छन्।
नयाँमा पनि प्रभावकारी
अहिले वितरण भइरहेको कोभिडविरुद्घको खोपले कोरोना भाइरसको नयाँ भेरियन्टमा काम गर्छ कि गर्दैन भन्ने चासो सर्वत्र छ। बेलायतको हडर्सफिल्ड युनिभर्सिटीमा कार्यरत पब्लिक हेल्थ विषयका प्राध्यापक डा. पदम सिम्खडाका अनुसार खोपले नयाँ भेरियन्टमा काम गर्ने वा नगर्ने भन्ने कुरा भेरियन्टको प्रकृतिमा निर्भर गर्छ।
‘बेलायतमा फेला परेको नयाँ प्रकृतिको केन्ट भेरियन्टको केसमा फाइजर र एस्ट्राजेनका दुवै खोपले काम गरेका छन्। ब्राजिलमा भेटिएको भाइरसको हकमा पनि यी दुवै खोप प्रभावकारी छन्’, डा. सिम्खडाले भने, ‘तर, साउथ अफ्रिकन भेरियन्टमा दुवै खोपले काम नगरेको रिपोर्ट छ।’
उनका अनुसार खोपलाई नयाँ भेरियन्टमा पनि काम गर्ने बनाउन सकिन्छ। ‘सुरुमा खोप विकास गर्नु जति कठिन छ, पछि कुनै नयाँ भेरियन्टका लागि मोडिफाई गर्नु त्यति कठिन हुँदैन’, उनले भने, ‘त्यसैले कुनै भेरियन्टमा काम नगर्दैमा आत्तिनुपर्ने अवस्था छैन। मोडिफाई गरेर उपयोगी बनाउन मिल्छ।’
भारतमा उत्पादन भएर अहिले नेपालमा वितरण भइरहेको खोप बेलायतमा निर्मित एस्ट्राजेनकै हो। त्यसैले अहिले बेलायतमा देखिएको एस्ट्राजेनेकाको प्रभावकारिता नेपालमा प्रयोग गरिएको खोपबाट पनि अपेक्षा गर्न सकिने डा. सिम्खडाको भनाइ छ।