गोरखामा नेकपाका समानान्तर समिति
गोरखा : विभाजन उन्मख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखामा समानान्तर समिति गठन भएका छन्। जिल्लास्तरमा तथा गाउँपालिकास्तरमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका अलग अलग समिति गठन भएका हुन्।
पार्टी एकीकरणका बेला समायोजन भएर बनेका समितिका अध्यक्ष तथा सचिवहरु ‘यताउता’ भएपछि दुवै समूहले नेतृत्व फेरबदल गरेका हुन्। साबिक समितिका जिल्ला अध्यक्ष लेखबहादुर थापा प्रचण्ड–नेपाल समूहका रहेकाले साविक समितिका जिल्ला सचिव प्रेम गुरुङलाई नै अध्यक्षको जिम्मेवारीमा तोकिएको ओली समूहले जनाएको छ।
त्यस्तै साविक समितिका जिल्ला सचिव प्रेम गुरुङ ओली समूहका रहेकाले सचिवमा सोमबार मात्रै यादव बस्नेतलाई जिल्ला सचिवमा चयन गरिएको प्रचण्ड–नेपाल समूहले जनाएको छ।
शहीदलखन गाउँपालिकाका अध्यक्ष मनोज जोशी र सिरानचोक गाउँपालिकाका अध्यक्ष देवराज श्रेष्ठ ओली समूहका रहेको भन्दै प्रचण्ड–नेपाल समूहले नेतृत्व परिवर्तन गरेको छ। जिल्ला अध्यक्ष लेखबहादुर थापाका अनुसार सिरानचोक गाउँपालिकामा नवराज पुडासैनी(गुराँस)लाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने शहीद लखन गाउँपालिकाको नेतृत्वको नेतृत्वमा कृष्ण चेपाङलाई चयन गरिएको थापाले जानकारी दिए।
त्यस्तै गोरखा नगरपालिकाको नगरकार्यसमितिका अध्यक्ष विश्वेश्वर कट्टेल प्रचण्ड–नेपाल समूहका रहेको भन्दै ओली समूहले कृष्णबाबु कुँवरलाई अध्यक्ष र सचिवमा नानीमाया थापालाई तोकेको छ। गत माघ २८ गते सम्पन्न बिस्तारित बैठकले पालुङ्टार नगरपालिकाको अध्यक्षमा वसन्तकुमार श्रेष्ठ र सचिवमा प्रकाश न्यौपाने, सिरानचोक गाउँपालिकाका अध्यक्ष देवराज श्रेष्ठ साविक समितिकै अध्यक्ष रहेकाले यथावत गरिएको र सचिवमा ज्ञानराज गुरुङलाई चयन गरिएको जिल्ला सचिव तथा अध्यक्षको कार्यभार सम्हालेका प्रेम गुरुङले जानकारी दिए।
अजीरकोट गाउँ पार्टी समितिको अध्यक्षमा लीलाबहादुर सुनार र सचिवमा सर्मिला तामाङलाई तोकिएको गुरुङले बताए। त्यस्तै बारपाक सुलीकोट गाउँ कार्यसमितिको नेतृत्वमा शिविर पोखरेललाई र सचिवमा सुजन गुरुङलाई चयन गरिएको छ। धार्चे गाउँ कार्यसमितिको अध्यक्षमा शेरबहादुर गुरुङ र सचिवमा धनकुमार घले, चुमनुब्री गाउँ कार्यसमितिको अध्यक्षमा लोप्साङ लामा र सचिवमा राज गुरुङलाई तोकिएको गुरुङले जानकारी दिए।
त्यस्तै आरुघाट गाउँ कार्यसमितिमा मेनराज अधिकारीलाई अध्यक्ष र सचिवमा सूर्य दाहाललाई, भीमसेन थापा गाउँ कार्यसमितिको अध्यक्षमा साधुराम थापा र सचिवमा सुजन सिँखडालाई चयन गरिएको उनले बताए।
त्यस्तै शहीद लखन गाउँपालिकाको अध्यक्षमा साविक समितिकै अध्यक्ष मनोज जोशीलाई कायम गरिएको छ भने सचिवमा लुना थापालाई र गण्डकी गाउँकार्यसमितिको अध्यक्षमा तोपमान श्रेष्ठ र सचिवमा विष्णु पन्तलाई चयन गरिएको प्रेम गुरुङले जानकारी दिए।
प्रचण्ड–नेपाल समूहको गोरखा नगरपालिकाको नगरकमिटीको अध्यक्षमा विश्वेश्वर कट्टेल, पालुङ्टार नगर कार्यसमितिका अध्यक्षमा विवश चिन्तन(अजय), सिरानचोक गाउँ कार्यसमितिको अध्यक्षमा नवराज पुडासैनी(गुराँस), अजीरकोट गाउँ कार्यसमितिको अध्यक्षमा सनिल परियार, बारपाक सुलीकोट गाउँकार्यसमितिको अध्यक्षमा नरबहादुर गुरुङ रहेका छन्।
त्यस्तै, धार्चे गाउँकार्यसमितिको अध्यक्षमा लक्ष्मण गुरुङ, चुमनुब्री गाउँकार्यसमितिकी अध्यक्षमा कुमारी गुरुङ, भीमसेन थापा गाउँकार्यसमितिको अधयक्षमा सुजन पाण्डे, शहीद लखन गाउँ कार्यसमितिको अध्यक्षमा कृष्ण चेपाङ र गण्डकी गाउँकार्यमितिका अध्यक्षमा सीताराम रसाइली रहेको सो समूहका नेता अकुर तिमिल्सिनाले जानकारी दिए।
अन्य भातृ तथा जनवर्गीय संगठनहरु भने अहिले नवगठन नगरिएको नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए। ‘पार्टी फेरि एक हुन्छ भन्ने दिवास्वप्ना देख्नु बेकार हुन्छ भनेर हामीले रिक्त रहेको समितिमा पदपूर्ति गरेका हौँ’, थापाले भने, ‘नेता, कार्यकर्ता यताउता हुन सक्छन्, तर पार्टी फेरि मिल्छ भनेर जनतालाई ढाँट्नु हुन्न। त्यसैले हामीले पार्टीको आन्तरिक जीवनलाई सक्रिय बनाउन विभिन्न गतिविधिहरु गरिरहेका छौँ।’
ओली समूहलाई नेतृत्व गर्दै जिल्लाको नेतृत्व सम्हालेका प्रेम गुरुङले भने भातृ तथा जनवर्गीय संगठनलाई पनि पुनर्गठन गर्ने तयारी भइरहेको बताए। ‘हुलले पार्टी चल्दैन भन्ने दुई अढाइ वर्षमा अनुभव भयो। अब गाउँपालिकास्तरका कमिटिको नेतृत्व चयन भइसक्यो अब वडास्तरमा पनि नेतृत्व चयन गर्ने तयारीमा छौँ।’ संगठन निर्माण तथा वैचारिक, राजनीतिक कार्यक्रम भइरहेको उनले बताए।
पार्टीको अहिलेको मुख्य प्राथमिकता ठूला शहरहरुमा हुने शक्ति प्रदर्शनमा जनता उतार्ने कामका लागि रहेकाले त्यतै खटिरहेको दुवै पार्टी नेतृत्वले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !