ताप्लेजुङ आगलागी : पुनःस्थापनाको चिन्ता

ताप्लेजुङ आगलागी : पुनःस्थापनाको चिन्ता

ताप्लेजुङ : दोभान बजारमा मंगलबार भएको आगलागीमा राजेन्द्र पौडेलका सात घर जले। चार घरमा गोदाम र तीन घरमा पसल थिए। सबै खरानी भए। 

उनलाई कसरी घर बनाउने र व्यवसाय सुरु गर्ने भन्ने चिन्ता छ।  ‘हामी परिवार सबै मिलेर व्यावसाय सञ्चालन गरिहेका थियौं,’ पौडेलले भने, ‘हालसम्म दुःख गरेर, एक पेट खाएर जोडेको सम्पत्तिका नाममा यत्ति नै थियो, सकियो।’ राज्यले कम्तीमा बस्ने टहरो बनाउने रकम र सहुलियत ऋण मात्रै भए पनि ठूलो सहयोग पुग्ने पौडेल बताउँछन्। 

मिक्वाखोला, मेरिङ्देन, मैवाखोला, आठराई त्रिवेणी र फुङलिङ नगरपालिकाको तल्लो क्षेत्रको किनमेलको केन्द्रको रूपमा रहेको दोभानका व्यवसायीको अवस्था पौडेलको जस्तै छ। आगलागीमा ५० घर जल्दा ६२ परिवार विस्थापित भएका छन्। क्षतिको विवरण बुधबार बेलुकासम्ममा आइसकेको छैन। 

आगोमा करोडौं मूल्यबराबरको खाद्यान्न र अलैंची नष्ट भएको दोभान उद्योग वाणिज्य संघका सदस्य गंगाराम गुरागाईंले बताए। ‘यकिन त पालिकाले विवरण निकालेपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘चार स्थानीय तहका लागि कम्तीमा चार महिना पुग्ने खाद्यान्न र व्यवसायीले बिक्रीका लागि भेला गरेको सयौं मन अलैंची जल्यो।’

आगोबाट बचेको भागमा स–साना किराना पसल मात्रै छन्। ठूला व्यवसायीका खाद्यान्न, हार्डवेयर र लत्ताकपडाका होलसेल पसलमा क्षति पुगेको छ। अब स्थानीयले किनमेलका लागि सदरमुकाम फुङलिङ नै पुग्नुपर्ने स्थानीय नवीन गुरागाईं बताउँछन्।  

पीडितलाई अहिले स्थानीय र आफन्तकोमा व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ। ‘धेरै पीडितहरूलाई बजारकै बचेका घरमा राखेका छौं, केही आफन्तकोमा बस्नु भएको छ,’ मेरिङ्देन गाउँपालिकाका प्रमुख गणेश चोङ्वाङ भन्छन्, ‘तत्कालका लागि पालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँ प्रदान गरेको छ।’ 

जिल्ला विपद् व्यवस्थापन समितिले प्रतिपरिवार १५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। क्षतिको विवरण आएपछि थप निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे बताए। मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बे नेतृत्वको समितिले क्षतिको विवरण संकलन गरिरहेको छ। 

गृहमन्त्रीलाई ज्ञापनपत्र
अग्नि पीडितलाई दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउन माग गर्दै गृहमन्त्री रामबहादुर थापा समक्ष बुधबार ज्ञापनपत्र बुझाइएको छ। काठमाडौंमा रहेका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्प पीडित सरह सहयोग गर्न माग गरेको छ। भट्टराईको संयोजकत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरिएको छ। 

पीडितलाई तत्काल राहत, आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानीट्यांकीको व्यवस्थापन र व्यवस्थित सहरी विकास आयोजना व्यवस्था गर्न माग गरिएको भट्टराईले जानकारी दिए। ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले अग्निपीडितका लागि राहतको काम सुरु भइसकेको उल्लेख गर्दै आवासका लागि भूकम्प पीडित सरह रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए। 

गृह मन्त्रालयले तत्काल प्रतिपरिवार १५ हजार रुपैयाँको दरले राहत रकम र कार्यविधि सच्याएर आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने उनले टोलीलाई अवगत गराए। अग्नि पीडितका लागि ताप्लेजुङको प्रदेशसभा ‘ख’ का सांसद टंक आङवुहाङले तीन लाख रुपैयाँ दिने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.