सडकले छोटियो यात्रा

सडकले छोटियो यात्रा

बेनी : म्याग्दी रघुगंगा गाउँपालिका–८, पात्लेका अंकित पुन बिहान सबेरै उठेर हिँडेपछि साँझ मात्र सदरमुकाम बेनी आइपुग्थे। ‘गाउँसम्मै सडक बनेर गाडी चल्न थालेपछि पूरै दिन लाग्ने बाटो तीन घण्टामा छोटिएको छ,’ उनले भने, ‘ज्येष्ठ नागरिक र अशक्तलाई बेनी आउन जान तीन दिन लाग्थ्यो। अहिले गाडी चढेर तीन घण्टामै आइन्छ।’

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि क्रमशः वडा नं. ४, ७ र ८ का बस्तीलाई जोड्ने मौवाफाँट–दग्नाम–दर्मिजा–चिमखोला–कुइने सडकले तीन वटा वडाका बासिन्दाको जीवनयापन सहज बनाएको छ। ३६ किलोमिटर सडक निर्माण पूरा भएपछि स्थानीयवासीले बाजागाजा र नाचगान गरेर खुसियाली मनाएका छन्। दर्मिजामा सोमबार एक समारोहबीच ज्येष्ठ नागरिकबाट सडक उद्घाटन तथा खर्च सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। 

उनका अनुसार सडकले तीनवटा वडाका एक हजार दुई सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन्। पालिकाको केन्द्र मौवाफाँट र जिल्ला सदरमुकाम बेनी आउन–जान भीर, जंगल, खोल्साको बाटोमा पूरै दिन पैदल हिँड्नुपर्ने समस्या हटेको रघुगंगा–८ कुइनेकी उडिमा विकले बताइन्। ‘बिरामी पर्दा डोकोमा बोकेर अथवा हेलिकप्टर चढेर अस्पताल पु¥याउनुपर्ने र समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘कृषि, पशुजन्य वस्तुले बजार नपाउने, भरिया र खच्चरबाट महँगो शुल्क तिरेर खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्नुपर्ने समस्या हटेको छ।’

गलेश्वरदेखि पिप्ले, भगवती, बेगखोला, चिमखोला हँुदै कुइनेमंगले जोड्ने करिब ५० किलोमिटर दूरीको सडक घुमाउरो र जोखिमयुक्त हुँदा प्रयोग हुन सकेन। त्यसपछि सुरु गरिएको छोटो दूरीको अर्को सडक निर्माण कार्यले १० वर्षमा पूर्णता पाएको हो। स्थानीय तह स्थापनाअघि तत्कालीन जिविसले २०७६ सालमा मौवाफाँटबाट सुरु गरेको यो सडक आयोजनालाई पूर्णता दिन संघीयता कार्यान्वयनसँगै पालिका, संघ तथा प्रदेश सरकारले आयोजना सञ्चालन गरेका थिए। 

रघुगंगा गाउँपालिकाले स्थापना कालदेखि तीन करोड ६२ लाख रुपैयाँ खर्चेको प्रशासकीय अधिकृत सुवेदीले बताए। यो सडकमा तुदी पावर र संयुक्त ऊर्जा कम्पनीले ११ करोड रुपैयाँ लगानी गरेका छन्। 

दग्नाम र दर्मिजाको सिमानामा रहेको म्याग्दी जिल्लाकै कठिन र जोखिमयुक्त अजिंगर भीरमा सडक निर्माण गर्न एक्साभेटर, मजदुरका साथै जलविद्युत् आयोजनाको सहयोग लिइएको थियो। साथै नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।  

अन्य ठाउँमा एक्साभेटर र मजदुरबाट सडक निर्माण गरिए पनि दवाङ र अजिंगर भीरमा मार्ग खोल्न विस्फोटक पदार्थ प्रयोग गरिएको थियो। अक्करे भीरको चट्टान फुटाएर सडक बनाउन समय पनि धेरै खर्चनु परेको सडक निर्माणको अगुवाइ गरेका दर्मिजाका सुबिन शेरपुञ्जाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.