तङ्ग्रिँदै अग्निपीडित

तङ्ग्रिँदै अग्निपीडित

ताप्लेजुङ : मेरिङ्देन गाउँपालिकास्थित दोभानका राजेन्द्र पौडेलले शुक्रबार नयाँ घरबाट व्यवसाय सुरु गरेका छन्। आगलागीमा ८ घर÷पसल गुमाएका उनले तत्कालका लागि अस्थायी टहरामार्फत पसल सुरु गरेका हुन्। 

बजारको माथिल्लो सडकमा बनाएको काठे घरमा राजेन्द्रसहित स्थानीय प्रदीप पोख्रेल र जीवन पौडेलले पनि पसल थालेका छन्। ‘नहुनु सर्वस्व भइहाल्यो। दुःख मानेर कतिञ्जेल बस्नु ?,’ ग्राहकलाई खाद्यान्न बेच्दै पौडेल भने, ‘तङ्ग्रिने प्रयासमा छौं।’ साहुको ऋण र ग्राहकलाई दिएको उधारो सम्झेर पनि व्यवसायबाट भाग्ने अवस्था नरहेको उनी सुनाउँछन्।

तमोर करिडोर र मदन भण्डारी सडकको संगमस्थलमा रहेको दोभान बजार र मैवा नदीको किनारमा रहेको बजारमा फागुन १८ गते भीषण आगलागी भयो। ५० घर खरानी भए। त्यहाँ व्यवसाय गर्ने ६३ परिवारको ४० करोड ५ लाख रुपैयाँभन्दा बढी क्षति भयो। आफन्तको शरणमा रहेकामध्ये केही पीडित अहिले टेन्टमा सरेका छन्। 

केही अस्थायी टहरामा छन्। अधिकांश पीडितले नयाँ पसल गरेका छन्। होटल सञ्चालन गर्नेहरू पुरानै लयमा फर्किने तयारीमा रहेका दोभान उद्योग वाणिज्य संघका सदस्य गंगाराम गुरागाईंले बताए। 

आगलागीमा स्थानीय लोकेन्द्र अधिकारीका ३ घर जल्दा ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भयो। तीन दिनसम्म उनको आँसु थामिएन। विभिन्न निकायबाट राहत दिन आएकाहरूले सान्त्वना दिए उनले पनि सडकको भित्तातर्फ टहरा बनाएर पसल थालेका छन्। दिनभरि खुला टहरामा बसेर पसल सञ्चालन गर्छन्। 
बेलुका खाना खाएर त्यहीँ सुत्छन्। टहराको वरिपरि बारेको छैन। झ्यालढोका पनि छैन। ‘परिवार त आफन्तकैमा बसिरहेका छन्,’ अधिकारीले भने, ‘म भने बेलुका पसलमा सामान रुँघेर यहीँ सुत्छु।’ बेलुकीपख पर्ने बताससहितको वर्षाले पाल उडाएर खाद्यान्न भिजाउने उनको गुनासो छ। यसअघि न्यु बुद्ध स्टोरका सञ्चालक दावा ओङ्जु शेर्पा पनि पसल थाल्ने तयारीमा छन्। उनले झापाको बिर्तामोडबाट सामान झिकाएका छन्। घरको बन्दोबस्त मिलाउँदै छन्। ‘हप्ता दिनभित्रमा चाहिँ सुरु हुन्छ होला,’ शेर्पाले भने। 

अग्निपीडित परिवारको पुनःस्थापनाबारे गृहकार्य भइरहेको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर चोङबाङले बताए। अहिले राहत वितरण टोलीसँग समन्वय गर्दै राहत वितरण गर्नमै आफूहरू व्यस्त रहेको उनले सुनाए। पीडितलाई हालसम्म ५० लाखभन्दा बढी नगद प्रदान गरिएको गाउँपालिकाको तथ्यांक छ। 

‘सरकार, संघसंस्था र व्यक्तिहरूबाट राहत तथा सहयोग आउने क्रम जारी छ। हामी त्यसलाई वितरण गर्नमै व्यस्त छौं। धेरै पीडितले अस्थायी संरचना निर्माण थाल्नुभएको छ,’ चोङबाङ्ले भने, ‘बजार कस्तो बनाउने भनेर अब छलफल थाल्छौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.