देशको भविष्य

देशको भविष्य

एउटा देश छ। कतै पनि केही नमिलेको। खास गरेर जतिसुकै मिलाउन खोजे पनि सीमारेखा नमिलेको, लाम्चो आकारको, सानो देश। तर बडो मनोरम छ त्यो देश, आकर्षक ! उत्तरतिर प्राकृतिक हिमाल, पूर्व–पश्चिम पहाड, दक्षिणतर्फ तराई, ठाउँ–ठाउँमा तालतलैया, नदीनाला, हरिया वनजंगल आदि–इत्यादि के मात्रै छैन ! अझ, मानवनिर्मित मठमन्दिरको कुरो अलग। कला–संस्कृतिमा देशले आफूलाई विश्वकै धनी देश मान्छ। तर कुरो यति मात्रै होइन, सबैभन्दा ठूलो विशेषता अर्कै छ देशको। त्यो विशेषता हो– राजनीति।

ज्यादै फस्टाएको छ त्यहाँ राजनीति। बरु दुई–चार छाक खान नपाइए कोई बात छैन। टाउको दुखे, भुँडी दुखे औषधि पनि नभए नहोस्। तर राजनीति... ! राजनीति गर्ने कुरै छाडौं, त्यसको नाम मात्रै लिन पाइएन भने पनि निद्रै बिथोलिन्छ। राजनीति भएन भने यहाँ पाइलै अघि सर्दैन। त्यसो त, हेर्ने हो भने देखिन्छ– बसिरहेकै ठाउँमा छ राजनीति, हिँडिरहेकै ठाउँमा छ, गीत गाइरहेको–संगीत सिर्जना गरिरहको ठाउँमा छ, साहित्य लेखिरहेको–बोलिरहेको–छापिरहेको ठाउँमा छ। कहाँ छैन राजनीति ? कार्यालयमा छैन कि विद्यालयमा छैन ? कि अस्पतालमा छैन ? खेतमा छ, चौतारीमा छ, घर–घरका भान्सामा छ। यता होटलमा चियाको चुस्कीमा छ, भट्टीको गिलास–गिलासमा छ। यत्रतत्र अगाडि–पछाडि, दायाँ–बायाँ, चारैतर्फ चारै दिशामा फैलिएको छ राजनीति।

समाजमा राजनीति यसरी झांगिएको छ कि कोही मान्छे अछुतो छैन यसबाट। जान्ने–बुझ्ने भइसकेको बालक, किशोर, युवा, वयस्क, वृद्ध सबै–सबै। मास्टर–विद्यार्थी, डाक्टर–बिरामी, निर्देशक–कलाकार, कोच–खेलाडी, गीतकार–संगीतकार–गायक, लेखक–प्रकाशक–पाठक, प्रशासक–सेवाग्राही, हाकिम–कर्मचारी, पति–पत्नी, बाबु–आमा... खोज्दै जाने हो भने यो विवरणको फेहरिस्त अहिले–आजै सकिन्न। एक शब्दमा भनूँ, प्रत्येक व्यक्तिमा छ राजनीति। तर अझै गहिरिएर कहीं यो खोज टुंगिन्छ भने त्योचाहिँ प्रस्टै भन्न सकिन्छ। हो, त्यो खोज राजनीतिज्ञकोमा पुगेर टुंगिन्छ। राजनीतिको कुरो गर्दै जाँदा बस् राजनीतिज्ञको प्रसंग जोडेपछि कुरो सकियो। समाजमा जसले जतिसुकै राजनीति गरून्, तर राजनीतिज्ञले गर्ने राजनीतिलाई कसैले भेट्न सक्दैन। राजनीतिज्ञसामु अरूको राजनीति जिरो। बडो निपुणतापूर्वक गर्छन् राजनीतिज्ञले राजनीति। खास गरेर कुर्सीको राजनीति। फेरि, कुर्सी कुनै प्रतीक्षालयको कुर्सी होइन, कुनै कार्यालयको हाकिमको पनि होइन। अर्थात् सामान्य कुर्सी होइन; राजनीतिज्ञले गर्ने कुर्सीको राजनीति भनेको सत्ताको कुर्सीको हो। एक प्रकारले भन्ने हो भने त्यो कुर्सीको राजनीति भनेको एउटा खेल हो– ‘म्युजिकल चेयर’।

यो खेल अर्थात् राजनीतिक खेल। कसैले मादल बजाउँछन्, त्यसकै तालमा सबै राजनीतिज्ञ नाच्छन्। कसैले बाँसुरी बजाउँछन्, त्यसकै सुरमा सबै मक्ख पर्छन्। जब बाजा बज्न रोकिन्छ तब कुर्सीतिर दौडन्छन् सबै राजनीतिज्ञहरू। जसले कुर्सीमा बस्न भ्याउँदैन, ऊ खेलबाट आउट हुन्छ। र, जब आउट हुन्छ, फेरि बाजा बज्न सुरु हुन्छ। अर्थात् फेरि खेल सुरु हुन्छ। तर रोमाञ्चक कुरो, अबको खेल सुरु हुँदा आउट हुनेले आफ्नो पराजय स्वीकार गर्दैन र बाहिरबाटै आफ्नै किसिमले सुरु गर्छ– समानान्तर राजनीतिक खेल।

ठीक यहींनिरै जोडिन्छ एउटा भनाइ, जहाँ भनिएकै छ– जोगी बन्नका लागि गरिन्न राजनीति। यसको सीधै अर्थ हुन्छ– राजनीति गर्ने भनेकै कुर्सीका लागि हो, सत्ताका लागि हो। त्यसैले यसमा आश्चर्य मान्नुपर्ने कुरो केही छैन, राजनीतिज्ञहरू किन स्वार्थी चरित्रका हुन्छन् ? जबकि जनताका लागि जीवन समर्पण गरेको भाषण गरेर कहिल्यै थाक्दैनन् उनीहरू। यति वर्ष जेल बसियो– जनताका लागि। यति लाठी–बुट खाइयो– जनताका लागि। आफैंले निर्माण गरेको पार्टीबाट निष्कासित भइयो, जनताका लागि। घरपरिबाट बहिष्कृत भइयो, जनताका लागि। यतिसम्म कि, कुमार–कुमारी बसियो, बिहे गरिएन वा बहुविवाह गरियो– जनताका लागि। कतिसम्म भने, नामी जँड्याहा भइयो– जनताका लागि। जुवाडे भइयो– जनताका लागि। झूट कति बोलियो कति– सबै जनताका लागि। अनैतिक–बेइमान भइयो, कीर्ते काम गरियो– जनताका लागि। भ्रष्टाचारी घोषित भइयो– जनताका लागि। तब न, यी सम्पूर्ण बेहोरिसकेपछि सत्ता सम्भाल्न पुगेको ! यति भइसकेपछि अब कसले आलोचना गर्न सक्छ राजनीतिज्ञको, अथवा राजनीतिज्ञले गर्ने राजनीतिको ?

जब सत्ता सम्भाल्न पुग्छन् राजनीतिज्ञहरू तब सुरु हुन्छ तिनका राजनीतिको असल चरित्र। सत्ताबाट बडो आरामपूर्वक शिलान्यास गरिन्छ सडकको, पुलको, कुनै प्रकारको भवनको–अस्पतालको, विद्यालयको, पुस्तकालयको, बैंकको, प्रशासकीय कार्यालयको वा शौचालयको, खेलमैदानको।

सामान्य रूपमा पनि, सत्ताबाट उद्घाटन शिविरमा पानस बालिन्छ। सरर्र सलाई कोरेर दियो सल्काइन्छ। बस्, त्यो देश जो अन्धकारतर्फ धकेलिइरहेको छ, त्यसलाई चमत्कारपूर्ण उज्यालो भविष्यको किरण देखाइन्छ। कदाचित् पानस–दियो उपलब्ध भएन भने तिनको विकल्पमा राजनीतिज्ञको हात लाग्छ एउटा सुन्दर कैंची। 

लडखडाउँदै

ढोकाको रिबन काटिन्छ

ताली पिटिन्छ÷मेचमा बसिन्छ

अगाडि टेबल

टेबलमाथि फाइल

प्रस्ताव राखिन्छ÷पारित गरिन्छ

पुनः थप्पडी बजाइन्छ,

अनि भाषण हुन्छ

भाषणमा

आफूजस्तै अडिग !

मलुक, आफ्नै खुट्टामा उभिने संकेत गरिन्छ

सुन्नेहरू चुपचाप

सुनी बस्छन्... हेरी बस्छन्...

भाषण गर्न मान्छे– आश्चर्य ! !

‘वैशाखी’को सहारामा उभिएको हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.