आईसीयू नपाएर छटपटिँदै बिरामी

आईसीयू नपाएर छटपटिँदै बिरामी

धनगढी : कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ८ प्रतापपुरका ४७ वर्षीय पुरुषको आइतबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो। छाति दुखेर ज्वरो आएका उनलाई आफन्तले आइतबार नै धनगढीको माया मेट्रो अस्पतालमा ल्याए। मायामेट्रो अस्पतालले आईसीयू खाली नभएको भन्दै उनलाई नवजीवन अस्पताल पठायो। 

त्यहाँ उनको एक्स–रे गरेपछि उनको कलेजोमा समस्या देखियो। नवजीवन अस्पतालले उनलाई कोरोना भएको आशंकामा सेती प्रादेशिक अस्पताल पठायो। ‘हामीलाई त आईसीयू छ, भर्ना पाईन्छ भनेर पो यहाँ आएको भन्यौँ तर हाम्रोमा आईसीयू नै छैन भनेर छिटो सेतीमा लैजान भनियो’ बिरामीसँगै रहेकी उनकी भतिजा बुहारी विमला कडायतले भनिन्। यद्यपि नवजीवन अस्पतालमा पाँच शैय्याको आईसीयू सञ्चालन भएको एक वर्ष भन्दा पनि बढी भइसक्यो।

उनलाई हतार हतार आफन्तहरुले अटोरिक्सामा सेती अस्पताल पुर्‍याए । सेतीको ईमरजेन्सी वार्ड पूरै भरिएको थियो। लक्षण हेर्दा कोरोनाझैं देखिएका उनलाई सेतीमा पनि जानेबित्तिकै अक्सिजनमा राख्न सकिएन। सेतीको कोरोना अस्पताल पनि भरिएकाले उनलाई अक्सिजनमा राख्न धेरै ढिलो भइसकेको थियो। सेतीमा उनको स्वाब संकलन भएकै के थियो, हेर्दा हेर्दै सेती अस्पतालमा उनको ज्यान गयो। 

‘सोमबार बिहान उनको कोरोना रिपोर्ट नेगेटिभ आयो, अनि हामीले शव बुझेर सतगत गरेका छौं’ बुहारी विमलाले भनिन्। ‘कोरोनाझैं लक्षण देखिएको बिरामीले न आईसीयू पायो न अक्सिजन नै, झन कोरोनाका बिरामीको हालत के भयो होला ?’ उनले प्रश्न गरिन्।

सेती प्रादेशिक अस्पतालको कोरोना वार्डमा धनगढी उपमहानगरपालिका-७ की पुष्पादेवी शाही, आफ्ना ३२ वर्षका श्रीमान् र ७७ वर्षकी सासुको कुरुवा बसेकी छिन्। उनका श्रीमानलाई वैशाख ८ गते कोरोना देखिएपछि उनलाई सेतीको आईसीयूमा भर्ना गरिएको छ। त्यसको दुई दिनपछि अर्थात् १० गते सासुलाई अस्पताल भर्ना गरियो। 

‘श्रीमान् त आईसीयूमै हुनुहुन्छ तर सासुको अवस्था अझ चिन्ताजनक छ, आईसीयू छैन भन्छन्, अक्सिजन दिएर राखेका छौं’ उनले भनिन्, ‘१० बेडको आईसीयू पुरै भरिएको छ। सेतीमा भेन्टिलेटर र आईसीयू पाउन कुनै बिरामी निको भइसक्नुपर्छ या त मर्नुपर्छ।’ 

५० शैय्याको कोरोना अस्पतालमा कोचाकोच गरेर थपिएका ५५ शैय्यामा १० वटा आईसीयू र तीन वटा भेन्टिलेटर मात्रै छन्। तर आईसीयू र भेन्टिलेटरका लागि २० जना भन्दा बढी बिरामी लाइनमा छन्। 

‘१० शैय्याको आईसीयू र तीन वटा भेन्टिलेटरमा कति जना राख्ने ? प्रदेश सरकारले पहाडी जिल्लामा पठाएका १४ वटा आईसीयू र त्यत्तिकै भेन्टिलेटर यता जडान गरिदिनुस् भनेको तर कसले सुन्ने ?’, सेती प्रादेशिक अस्पतालकी मेट्रोन सीमा शर्माले भनिन्। ‘यत्तिको आईसीयू र भेन्टिलेटरले भ्याइदैन भनेर मन्त्रालयमा पनि भनिरहेका छौं, स्वास्थ्य निर्देशनालयलाई पनि तर कसैले सुनेको छैन’, उनले भनिन्, ‘आँखा अगाडी बिरामी मरिरहेको हेर्नु परेको छ।’

बैतडीको दसरथ चन्द नगरपालिका ५ का ३२ वर्षका पुरुष पनि वैशाख ६ गते सेती अस्पतालको आईसीयूमा भर्ना भए। उनको अवस्था चिन्ताजनक छ। उनलाई भेन्टिलेटरमा राखिएको छ। ‘भेन्टिलेटरकै तीन जनाको ज्यान गएको हेरिसकेँ, चिन्ता लागि रहन्छ, चाहिने बेला न आईसीयू पाइरहेका छन्, न भेन्टिलेटर नै’, उनका कुरुवा बसेका राजेन्द्र चन्दले भने, ‘प्रदेश सरकार के हेरेर बसेको छ कुन्नि ?’

गम्भीर बिरामी भएर कैलालीको नोभा अस्पतालको भेन्टिलटरमा भर्ना भएका बैतडीका २८ वर्षका पुरुषका आफन्त पनि सकसमा परेका छन्। तीन दिन अघि बिरामी भएर आएका उनलाई नोभा अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो तर सोमबार उनको कोरोना पोजेटिभ आयो। 

नोभामा तीन शैय्याको भेन्टिलेटर छ। कोरोना पोजेटिभ भएकालाई सेती अस्पतालमा रेफर गरिएको छ तर त्यहाँ भेन्टिलेटर खालि नभएकाले उनलाई सोमबार बिहानदेखि नोभामै राखिएको छ। ‘भेन्टिलेटरबाट निकाल्ने बित्तिकै बिरामीको अवस्था जटिल हुन्छ, उनलाई तुरुन्तै भेन्टिलेटरमा सिफ्ट गर्नुपर्ने हुन्छ तर सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर छैन भन्ने खबर आएको छ’, नोभा अस्पतालका डाक्टर प्रकाश भट्टले भने। उनले भेन्टिलेटरमा रहेका नन–कोभिड बिरामीलाई समेत संक्रमणको जोखिम रहेको बताए।

२०६८ सालको जनगणनाअनुसार सुदूरपश्चिमको जनसंख्या २५ लाख रहेको छ। ती २५ लाख जनसंख्याको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल हो। ‘२५ लाख मानिसहरुका लागि तीन थान भेन्टिलेटर छन् भन्नु प्रदेश सरकारका लागि लाजमर्दो विषय हो, यसले प्रदेश सरकार जनताको स्वास्थ्यप्रति कति सजग र गम्भीर छ भन्ने पनि प्रष्ट हुन्छ’, वरिष्ठ चिकित्सक डाक्टर गणेश बहादुर सिंहले भने।

उनले, पहिलो चरणको कोरोनाको सिकाईबाट पनि प्रदेश सरकारको चेत नखुलेको बताए। ‘पहिलो चरणको कोरोनाको संक्रमण न्यून भएपछि यी उपकरणहरु आएका हुन्, तर पनि सञ्चालनमा छैनन्’, उनले भने, ‘अहिलेसम्म जिल्लामा भएका जनशक्तिलाई नै तालिम दिएर पनि सञ्चालनमा ल्याउन सकिन्थ्यो।’  

गलत तथ्यांक बताउँदै प्रदेश सरकार
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हरेक दिनको बेलुकी कोभिडको तथ्यांक सार्वजनिक गर्छ। उसले त्यो तथ्यांकमा सुदूरपश्चिमभरका लागि ४७ आईसीयू, ३५ भेन्टिलेटर र २५९ आईसोलेसन बेड भनेर सार्वजनिक गर्दै आएको छ। तर यथार्थमा त्यो तथ्यांक गलत रहेको छ। 

सेती अस्पतालमा ७ आईसीयू र ३ भेन्टिलेटर, डडेल्धुरा अस्पतालमा तीन आईसीयू र २ भेन्टिलेटर, कञ्चनपुरमा ६ शैय्याको आईसीयू र ६ शैय्याकै भेन्टिलेटर बाहेक अरु सञ्चालनमा छैनन्।  यो संख्या जोड्दा सुदूरपश्चिममा १६ शैय्या आईसीयू र ११ थान भेन्टिलेटर मात्रै सञ्चालनमा छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.