निषेधाज्ञामा ‘बानी पार्न गाह्रो’

निषेधाज्ञामा ‘बानी पार्न गाह्रो’

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा निषेधाज्ञा जारी भएको छ। तर, निषेधाज्ञाकै दिन १० हजार ४ सय २० जनाले नागढुंगा नाका हुँदै काठमाडांै छाडेका छन्। यही नाका हुँदै वैशाख १ देखि १५ गतेसम्म ७ लाख जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

सर्वसाधारण नागरिक घर फर्किन बिहीबार बसपार्क, कलंकी क्षेत्रमा उपस्थित थिए। सुरक्षाकर्मी उनीहरूलाई रोकिरहेका थिए। सार्वजनिक र निजी दुवै प्रकारका सवारी साधन नचलेकाले घर फर्किन असहज अवस्था थियो। उनीहरू सामान बोक्ने गाडीमै चढिरहेका थिए। सडकमा उभिएर कोही तरकारी बोक्ने गाडी रोक्दै थिए त कोही खाद्यान्न आपूर्तिका गाडी पछ्याउँदै थिए। हवाई सेवा बन्द नभएकाले विमानस्थलमा पनि यात्रुको त्यतिकै चाप छ। बिहीबार उपत्यकाका तीनै जिल्लामा सवारी साधन धेरै गुडेका देखिन्थे। 

मोटरसाइकलदेखि साना र ठूला सवारी साधनमा आवतजावत चलिरहेकै थियो। नागढुंगा नाकामा पनि अत्यावश्यक सवारी साधनदेखि जिल्लाबाट आएका सार्वजनिक साधन काठमाडौं प्रवेश गरेका थिए। विभिन्न जिल्लाबाट छुटेका रात्रि बस पनि बिहीबार राजधानी प्रवेश गरे। 

राजधानीका सडकमा कोही कार्यालयको परिचयपत्र, कोही अस्पताल जान लागेको भन्दै हिँडडुल गरिरहेका भेटिए। सुरक्षाकर्मीले सवारी साधन जाँच र सोधपुछ गर्ने काम गरे। अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका २ हजारभन्दा साना–ठूला सवारी साधन दिनभर ‘होल्ड’ गरियो। ती गाडी साँझ छुटेका थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित सुरक्षा निकायका प्रमुखले निषेधाज्ञा कार्यान्वयनको अवस्था निरीक्षण गरेका थिए। 

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गरिने जानकारी दिए। ‘अत्यावश्यकबाहेक काठमाडौं प्रवेशमा रोक प्रायः लगाइएको छ’, मन्त्रालयका प्रवक्ता दाहालले भने, ‘आवश्यक खाद्यान्न, स्वास्थ्योपचार, तरकारीलगायत आपूर्तिको साधन नरोकिएकाले बजारमा खाद्यान्न अभाव हुने सम्भावना छैन। यसैले पनि घरमै ढुक्कले बसौं र कोरोनाबाट बचौं।’

दाहालका अनुसार बिहीबार पहिलो दिन भएकाले पनि सहकमा सवारी साधन बढी देखिए। सुरुवातमा नागरिकलाई बानि पार्न गाह्रो हुने गरेको दाहालको भनाइ छ। उनले निषेधाज्ञा जनतालाई दुःख दिन नभई स्वास्थ्य सुरक्षाका लागि लगाइएको प्रस्ट पारे। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएकाले लापरबाही नगर्न उनले सबैमा अनुरोध गरे। 

उपत्यका प्रवेशका लागि शुक्रबारदेखि कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिने भएको छ। पास वितरणमा पनि कडाइ गर्ने तयारी छ। स्थानीय प्रशासनहरूले सरकारी सवारी साधनमा जोरबिजोर लगाउने तयारी गरेका छन्। यसका साथै काठमाडौं प्रवेश गर्ने सार्वजनिक सवारी साधनले पनि अनुमती पाउने छैनन्। रात्रि बस नपठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको छ। 

निषेधाज्ञा उल्लंघन गरेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ हजार ३९ सवारी साधन नियन्त्रणमा लिएको थियो। महाशाखाका अनुसार १ हजार ४ सय ८८ मोटरसाइकल, ३ सय ७७ सानो र १ सय ७४ ठूला सवारी साधन दिनभर नियन्त्रणमा लिएर होल्ड गरिएको हो।

प्रवक्ता दाहालका अनुसार बिरामी तथा अति आवश्यक परेर घरबाहिर निस्कन पर्ने भए सुरक्षा निकायले समन्वय गर्नेछन्। पास लिने दिने व्यवस्था गर्दा अत्यधिक भीडभाड बढ्ने र कोरोना सक्रमणको जोखिम हुने हुँदा यसपटक पासको व्यवस्था नगरिएको दाहालले बताए। 

आवस्यक कार्ड तथा डकुमेन्ट साथमा राखेर घरबाहिर निस्कँदा अप्ठ्यारो नपर्ने उनको भनाइ छ। उनका अनुसार कर्मचारीले परिचयपत्र बोक्नुपर्‍यो, अस्पताल जानेले बिरामी पुर्जा। तरकारी तथा खाद्यान्न बोक्ने सवारीले व्यानर प्रयोग गर्नुपर्‍यो। यसका साथै सकभर घरबाहिर ननिस्कन र मर्निङ वाकमा पनि नजान उनले अनुरोध गरे।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.