शव व्यवस्थापन गर्ने जनशक्ति तयार

शव व्यवस्थापन गर्ने जनशक्ति तयार

भक्तपुर : कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमितको मृत्युदर पनि बढी नै रहेको छ। बढी मृत्युदर भएका कारण संक्रमितको शव व्यवस्थापनमै समस्या देखा परेको छ। काठमाडौंको पशुपतिस्थित तीन वटा विद्युतीय शवदाह गृहमध्ये दुई वटामात्रै चल्दा मृतक संक्रमितलाई बागमती किनारमा जलाउनुपर्ने अवस्था छ। विद्युतीय शवदाह गृहमा मृतक संक्रमितको सदगद गर्न घण्टौं पालो कुनुपर्छ। यसको परिणाम संक्रमितको शव व्यवस्थापन गर्ने टोलीलाई बढी समय लाग्छ।

सदगद गर्न नै घण्टौं कुर्नुपरेपछि थप मृतक संक्रमितको लास उठ्न पनि ढिलो हुन पुग्छ। २४ घण्टा बित्दा पनि मृतक संक्रमितको शव नउठेको पाइन्छ। यसले मृतकका परिवारमा एकातिर सदस्य गुमाउनुपर्ने पीडा र अर्कोतिर मरिसकेका संक्रमितको शव व्यवस्थापनमा ढिलाइ हुँदा आफूहरू पनि संक्रमित हुने डरले विक्षिप्त हुनुपर्ने अवस्था उत्पन्न भयो। यसले परिवारका सदस्यहरूको  मनोभावना खलबलिने घटना बढेको छ।

यस्तै अवस्थालाई मध्यनजर गर्दै भक्तपुरस्थित जनसेवा समाजले समुदायस्तरबाटै कोभिड १९ संक्रमणले ज्यान गुमाएकाहरूको शव व्यवस्थापन गर्ने जनशक्ति तयार गर्न थालेको छ। समाजले पहिलो चरणमा भक्तपुर नगरका १६ जना युवायुवतीलाई आफू सुरक्षित भएर संक्रमितको शव व्यवस्थापन गर्ने तालिम दिएको हो। जसमा दुई महिला र १४ पुरुष रहेका छन्। 

उनीहरूलाई मृतक संक्रमितको अन्तिम सदगद गर्नुअघिसम्मको शव व्यवस्थापन गर्नेबारे ज्ञान तथा सीप दिइएको समाजका अध्यक्ष श्यामशरण श्रेष्ठले जानकारी दिए। उनका अनुसार समाजले जिल्ला प्रशासन कार्यालय एवं डीसीसीएमसी, सुरक्षा निकायको समन्वयमा संक्रमितहरूको शव व्यवस्थापन गर्ने तालिम सञ्चालन गरेको हो। समाजका उपाध्यक्ष राम प्रजापतिले भक्तपुरका चारवटै नपामा उक्त तालिम सञ्चालन गर्ने बताए।

‘यो तालिम भक्तपुरका चार वटै नपाको समुदायस्तरमा सञ्चालन गर्छौं’, उनले भने, ‘एउटा नगरपालिकामा कम्तीमा ४० जना शव व्यवस्थापन गर्ने जनशक्ति तयार गर्ने समाजको उद्देश्य रहेको छ।’ यसबारे भक्तपुरका चार वटै नपासँग कुराकानी भइरहेको र भक्तपुर नपाले चासो दिएर तालिम सञ्चालन गर्ने प्रक्रिया अघि बढेको उनको भनाइ छ। 
उक्त तालिममा नेपालमा कोरोना भाइरस संक्रमणको कारण मर्ने पहिलो व्यक्ति सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्ने टोलीमा सहभागी भक्तपुरका स्काउटर राजेश गाइजूले सहजीकरण गरेका छन्।

नेपाली सेनाबाट शव व्यवस्थापनसम्बन्धी तालिम प्राप्त राजेशले कोरोना संक्रमणको कारण मृत्यु भएका धेरै व्यक्तिहरूको शव व्यवस्थापन गरिसकेका छन्। साथै उनको टोलीले भक्तपुरका अस्पतालहरू भक्तपुर, मध्यपुर, डा. इवामुरा, सिद्धि स्मृति, नागरिक अस्पतालमा समेत संक्रमितको शव व्यवस्थापन गर्ने तालिम सञ्चालन गरिसकेको छ। त्यस्तै भक्तपुरकै थप ३० जना युवालाई उक्त तालिम दिइसकेको प्रशिक्षक गाइजू बताउँछन्।

‘संक्रमितको शव सदगद गर्न सरकारले नेपाली सेनालाई मात्रै अधिकार दिएको छ’, उनले भने, ‘तर हाम्रो लक्ष्य नेपाली सेनाको टोली नआइपुग्दासम्म आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर मृतक संक्रमितको लासलाई सुरक्षित तरिकाले पोको पार्ने हो, जसले गर्दा नेपाली सेनाको टोलीलाई शव सदगद गर्न छिटो छरितो होस्।’
कोरोना भाइरसका विज्ञहरूले विश्वमा कोभिडको सातौं लहरसम्म आउने प्रक्षेपण गरेकाले अहिलेकै अवस्थामा भोलि संक्रमितहरूको शव व्यवस्थापन थप चुनौतीपूर्ण हुने उनी बताउँछन्। त्यसैले हरेक समुदायले आआफ्नो क्षेत्रबाट संक्रमितको शव व्यवस्थापन गर्नेबारे पूर्वतयारी गर्नुपर्ने उनको जोड छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.