बारपाकमा आविष्कार केन्द्रको पहलमा अक्सिजन प्लाण्ट जडान, १२ बेडको अस्पतालको तयारी
गोरखाः बारपाकमा अक्सिजनको मिनिप्लाण्ट निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा ७० लिटर क्षमताको मिनिप्लाण्ट बिहीबार निर्माण सम्पन्न भएको हो ।
निर्माण सम्पन्न सो प्लाण्ट बिहीबार एक कार्यक्रमका बीच इञ्जिनियरिङ टिमका लिडर रितेश देवले बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष लालबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
अक्सिजन प्लाण्ट निर्माण भएपछि अब १२ जना बिरामीलाई सेवा दिन सकिने भएको छ । बारपाक स्वास्थ्यचौकी परिसरमै रहेको महिला समूहको भवनमा निर्माण गरिएको १२ बेडको आइसोलेशन वार्डमा अक्सिजन प्लाण्ट जडान गरिएको हो ।
उपकरण तथा जडान खर्च सबै आविष्कार केन्द्रले नै व्यहोरेको सो कार्यको समन्वय गरिरहेका वीरबहादुर घलेले बताए ।
हाल निर्माण गरिएको आइसोलेशन वार्डलाई १२ शैय्याको अस्पतालका रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष गुरुङले बताए । ल्याब सञ्चालनका लागि बारपाक घर भइ वैदेशिक रोजगारीको क्रममा हाल इराकमा रहेकाहरुले आर्थिक संकलन गरिरहेका छन् ।
‘यहाँ अब हामी छिट्टै भिडियो एक्सरे र ल्याब बनाउनेछौँ त्यसपछि यहाँ हामी १२ बेडको अस्पताल बनाउनेछौँ’, उनले भने, ‘जनशक्तिको भने अभाव छ । त्यसका लागि पनि हामी लागि परिरहेका छौँ ।’
विद्युत सेवा कहिलेकहीँ अवरुद्ध हुँदा आवश्यक पर्ने जेनेरेटर पनि तयारी अवस्था राखिएको र त्यसका लागि आवश्यक इन्धनको पनि जोहो गरिसकिएको वीरबहादुर घलेले बताए । त्यसका लागि भूकम्पका बेला जडान गरिएको ५० किलोवाट क्षमताको जेनेरेटर तयारी अवस्थामा रहेको उनले बताए ।
‘हामीसँग पहिल्यैको ठूलो जेनेरेटर पनि छ । फेरि अहिले अक्सिजन कन्सन्ट्रेटर सञ्चालन गर्न र अरु कम क्षमताको विद्युत चाहिएका बेला प्रयोग गर्न ६ किलोवाटको जेनेरेटर पनि जडान गरेका छौँ’, घलेले भने, ‘बर्खाका बेला बाटो अवरुद्ध हुन सक्ला भनेर त्यसलाई आवश्यक पर्ने तीन सय लिटर इन्धन पनि सञ्चित गरिराखेका छौँ ।’

प्रतिक्रिया दिनुहोस !