जगत बगरका तीन घरमा बूढीगण्डकी पस्यो
गोरखा : चुमनुब्री गाउँपालिका ३ जगत बगरका तीन घरमा बूढीगण्डकी पसेको छ। बुधबार रातिदेखि आएको अबिरल वर्षापछिको बाढी त्यहाँका तीन घरमा बूढीगण्डकी पसेको स्थानीय कुशल घलेले जानकारी दिए।
‘नदी बढिरहेको छ। घरभित्र पानी पसिसकेको छ’, उनले भने, ‘घरका मान्छेले यहाँको भत्काएर काठपात झिकिरहेका छन्।’ एकहप्ताअघि आएको बाढीपछि स्थानीयबासी घर छाडेर विस्थापित भइसकेका उनले बताए।
यसअघि २०७२ सालको बाढीले यहाँका सात घर विस्थापित भएर भालुवनमा पुनस्थापित भएका थिए। बाँकी रहेको विशाल गुरुङ, विशाल घले र धनबहादुर गुरुङको घर परिवार पनि अहिले विस्थापित भएका हुन्। उनीहरु भागेर माथिल्लो बगरमा बसोबास गरेका छन्।
अघिल्लो हप्ता जगतभन्दा केही माथिको सल्लेरीको छ घर बूढीगण्डकीले बगाएको थियो। ‘त्यतिबेला हेलिकोप्टर चढेर सल्लेरी हेर्न आएका सिडियो र एसपीलाई हाम्रो टोल पनि जोखिम छ हेरिदिनुपर्यो भनेर अनुरोध गरेका थियौँ तर उहाँहरुले मान्नु भएन’, स्थानीय पीडित सरिता घलेले भनिन्, ‘गाउँपालिकाका प्रमुख, उपप्रमुखलाई पनि भनेका थियौँ। उहाँहरुले पनि मान्नु भएन। अहिले यस्तो भयो।’ माथिल्लो बगर पनि अहिले जोखिम भइसकेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस !