पालुङ्टारमा बाढी: चार घर बगायो, १० परिवार विस्थापित, एक परिवार बाढीमै फँस्यो
गोरखाः पालुङटार नगरपालिका ९ बिर्दीको एक परिवार बिहीबार बिहानैदेखि स्थानीय खारखोलाको बाढीमा फँसेको छ।
अविरल वर्षापछि आएको बिर्दी खोलाको बाढीले घरको चारैतर्फ घेरेपछि स्थानीय झलक अधिकारीको परिवार बिहीबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार खोलाको बाढीले धार परिवर्तन गरेर बिर्दी बजारतिर आएर घरलाई बीचमा पारेको छ । झलकबहादुर अधिकारीको ७० वर्षीया आमा र तीन नातिनातिनी भेलको बीचमा फँसेको श्रेष्ठले बताए । उनका अनुसार दुई जनाको भने डोरीको सहायताले सकुशल उद्धार गरिएको छ ।
वृद्धा र बालबालिकालाई उद्धार गर्न नसकिएको उनले बताए । साथै स्थानीय चुक्तीखोलाको बाढीले पालुङ्टार नगरपालिका ९ छबीसेको विमल थापाको घर बगाएको छ । राति सुतिरहेका बेला घर बगाए मान्छे भने भागेर सुरक्षित स्थलतर्फ गएकाले मानवीय क्षति नभएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए ।
सेरा बजारको हरि सेढाइँ र मानबहादुर लामाको घर पनि खोलाले बगाएको उनले बताए । साथै सोही खोलाको बाढीको उच्च जोखिम बढेपछि ढुङ्गेटारीका छ घर विस्थापित भएका छन् । खोला घर छेउमै आएपुगेपछि स्थानीय राकेश परियार, चन्द्रबहादुर गुरुङ, अनील गुरुङ, बाबुकाजी गुरुङ, द्रौपदी गुरुङ र दीपा गुरुङको परिवार विस्थापित भएका श्रेष्ठले बताए ।
उनीहरुलाई बिहीबार बिहानै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । उनीहरु घरबाट सामान सबै निकालेर आफन्तको घरमा शरण लिन गएका श्रेष्ठले बताए । उद्वारका लागि रातामाटे चौकीका प्रहरी र सदरमुकामबाट थप प्रहरी र सेनाको टोली आइरहेको जानकारी पाएको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस !