बीपी प्रतिष्ठानका चार पदाधिकारी बर्खास्तको माग गर्दै डा.केसी धरानमा
धरान : स्वास्थ्य र शिक्षा सुधारका अभियन्ता डा. गोविन्द्र केसीले बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका बर्तमान चारजना पदाधिकारीहरुलाई बर्खास्त गर्न संघिय सरकारसंग माग गरेका छन्। बुधवार महिनादिनदेखि प्रतिष्ठान सुद्धिकरण अभियानको आन्दोलन थालेका यहाँका चिकित्सक, नर्स र कर्मचारीहरुको आन्दोलनलाई ऐक्यबद्धता जनाउन धरान आएको उनले चारजना पदाधिकारीलाई कार्वाहि नगरेसम्म प्रतिष्ठान सुधार हुन नसक्ने ठकुवा गरेका छन्।
डा. केसीले २०४६ सालदेखि गठन भएका कांग्रेस र कम्युनिष्ट सरकारहरुले स्वास्थ्य क्षेत्रमा असक्षम कार्यकर्ताहरुलाई भर्ती केन्द्र बनाएका कारण देशभरका सरकारी मेडिकल कलेज र स्वास्थ्य उपचार गर्ने प्रतिष्ठानहरु धरासायी बन्दै गएको बताए। 'हामीले बहुदल आएपश्चात स्वास्थ्य र शिक्षामा आमुल परिवर्तन हुन्छ भनेर सोचेका थियौं', उनले भने, 'स्वास्थ्य र शिक्षा जस्तो अति संवेदनशील क्षेत्रमा कार्यकर्ता भर्ती केन्द्र बनाएका कारण डामाडोल भएको छ।'
डा. केसीले बीपी प्रतिष्ठानमा पछिल्लो समय नियुक्ति भएका पदाधिकारीहरुले स्वास्थ्य र शिक्षा सुधार गर्न छाडेर औषधि, उपकरण खरिद गर्दा जहिल्यै भ्रष्ट्राचार गरी धरासायी बननाएको भन्दै आर्थिक अनियमितता गर्ने सबैलाई कानुनी कारवाही गर्न माग गरेका छन्। उनले बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहलाई तत्काल बर्खास्त गर्न र उनीहरुले गरेका सबै खाले आर्थिक अनियमिताका घटनाको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न समेत माग गरेका छन्।
बीपी प्रतिष्ठानमा भ्रष्टाचार भयो, भ्रष्टाचारीलाई कार्वाही गरी प्रतिष्ठानलाई सुधार गरी स्वास्थ्य सेवा प्रभावकारी बनाउनु पर्छ भनेर महिनादिनदेखि चिकित्सक र कर्मचारीले आन्दोलन गर्दा समेत सरकारको ध्यानाकर्षण नहुनु अत्यन्तै दुःखत भएको डा. केसीले बताएका छन्। उनले स्वास्थ्य र शिक्षामा भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई सरकारले नै संरक्षण गरेका कारण सरकारी मेडिकल कलेज, विभिन्न अस्पताल र प्रतिष्ठानहरु धरासायी बनेको बताए।
निजि क्षेत्रबाट संचालन भएका अस्पताल र मेडिकल कलेजहरु वर्षेनि नाफामा जाने र करौडौं लगानीमा संचालन भएका सरकारी मेडिकल कलेज र अस्पतालहरु कसरी घाटामा जान्छ ? उनले सरकारलाई प्रश्न गरे।
डा. केसीले बीपी प्रतिष्ठानको समस्या तत्काल गर्न र आन्दोलनरत पक्षका माग संबोधन गर्न संघीय सरकारसँग माग गरेका छन्। उनले बीपी प्रतिष्ठानको समस्या समाधान तत्काल नगरे आफूले पनि सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बीपी प्रतिष्ठान सुद्धीकरण अभियान आन्दोलन संर्घष समितले बुधबार नै इलाका प्रशासन कार्यालय धरान मार्फत विभिन्न माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। संघर्ष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले सरकारले शुक्रबारसम्म आफ्ना जायज मागहरु पूरा नभए शुक्रबारदेखि प्रतिष्ठानको आकस्मिक, कोभिड र परीक्षा बाहेकका अन्य सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !