खोपको द्रुत विकास

खोपको द्रुत विकास

विश्वभरका विभिन्न खोप कम्पनीहरूले खोप उत्पादनमा काम गरिरहेका छन्। सुरक्षित र प्रभावकारी खोप विकासका लागि समय लाग्ने भए पनि वैज्ञानिकहरूले कोभिड–१९ विरुद्धको खोप विकासमा छलाङ मारेका छन्।

विश्वका १ सय ९० भन्दा बढी देशहरूमा तीन अर्बभन्दा बढी खोप वितरण भइसकेका छन्। यद्यपि, विश्वका विभिन्न ठाउँका खोप कार्यक्रममा भएका प्रगतिमा भने भिन्नता पाइन्छ। केही विकसित देशहरूले आफ्नो कुल जनसंख्याको अधिकांश प्रतिशतलाई यो खोप लगाइसकेका छन् भने कतिपय अझै धेरै पछाडि रहेका छन्। 

कसले पाउँदैछन् खोप

विश्वका सबै वयस्क नागरिकले खोप पाउने लक्ष्य राखिएको छ भने यसलाई इतिहासमै सबैभन्दा ठूलो खोप कार्यक्रमको रूपमा पनि हेरिएको छ। चीन र भारतमा हालसम्म सबैभन्दा बढी मात्रामा खोप लगाइएको तथ्यांक छ। चीनमा १.४ अर्ब र भारतमा ३७ करोडले खोप लगाइसकेका छन्। आफ्ना नागरिकमाझ खोप पु¥याउनेमा अमेरिका तेस्रो स्थानमा रहेको छ। अमेरिकामा हालसम्म ३३ करोडभन्दा बढी नागरिकले खोप लगाइसकेका छन्। 

युरोपका विभिन्न मुलुक र अमेरिकामा खोप अभियानमा निकै राम्रो प्रगति भइरहेका बेला थुप्रै अफ्रिकी मुलुकहरूमा भने खोप वितरणमा विभिन्न समस्या आइरहेको बताइन्छ। विश्वका धेरै गरिब राष्ट्रहरू कोभ्याक्स कार्यक्रमअन्तर्गतका खोपमा निर्भर रहेका छन्। विश्वको सम्पूर्ण मानिसको कोभिड खोप पहुँचमा सुनिश्चितता कायम गर्न ग्लोबल भ्याक्सिन अलायन्स (गाभी), विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र कोइलिसन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स (सीईसीई)ले कोभ्याक्स योजना अघि सारेका हुन्। 

कोभ्याक्सले ११ वटा खोप उत्पादकसँग सम्झौता गरेको छ भने यस वर्षको अन्त्यसम्म विश्वभर दुई अर्ब मात्रा खोप वितरण गर्ने योजना बनाएको छ। यसका साथै जी सेभेन राष्ट्रका नेताहरूले पनि अति विपन्न राष्ट्रहरूमा एक अर्ब खोप दिने वाचा गरेका छन्। खोप वितरण सिधै वा कोभ्याक्स कार्यक्रमअन्र्तगत पनि हुन सक्ने जनाइएको छ। कोभ्याक्स कार्यक्रमअन्तर्गत खोप प्राप्त गर्ने पहिलो मुलुक घाना हो। घानाले गत २४ फेब्रुअरीमा करिब ६ लाख खोप प्राप्त गरेको थियो।

कोभ्याक्सअन्तर्गत चिनियाँ खोप
चिनियाँ खोप उत्पादकहरू सिनोभ्याक र सिनोफार्मले पनि विश्वव्यापी खोप वितरण कार्यक्रम कोभ्याक्समा हस्ताक्षर गरेका छन्। यी दुवैले डब्लूएचओबाट आकस्मिक प्रयोगको अनुमतिसमेत पाइसकेका छन्। यी खोपहरू चीन र विश्वका कयौं राष्ट्रहरूमा प्रयोग भइरहेका छन्। सिनोभ्याकलाई २–८ डिग्री सेल्सियसको सामान्य तापक्रममा राख्न सकिने हुनाले चिस्यानको सुविधा नभएका विकासोन्मुख देशमा पनि यो निकै उपयोगी मानिन्छ। सिनोभ्याक जस्तै सिनोफार्मले पनि शरीरलाई कोरोना भाइरससँग लड्न एन्डिबडी उत्पादन गर्न उत्प्रेरित गर्छ।

चिनियाँ खोप रोजेका केही देशमा भने धेरै मानिसले खोप लगाइसके पछि पनि संक्रमण दर निकै उच्च रहेको छ। चिलीमा ७० प्रतिशतभन्दा बढीले खोपको दुवै मात्रा लगाइसकेका थिए। जसमध्ये अधिकांश सिनोभ्याक खोप थियो। तर, चिलीमा हाल डेल्टा भाइरसबाट बच्न कफ्र्यु र अन्य प्रतिबन्ध लगाइएको छ। पूर्वी अफ्रिकी राष्ट्र सेसल्स र मंगोलियामा कम जनसंख्या भए पनि प्रतिव्यक्ति उच्च संक्रमण देखिएको छ। दुवै देश सिनोफार्ममा निर्भर छन्। थाइल्यान्डले खोपसम्बन्धी आफ्ना नीतिमा परिवर्तन गरेर चीनको सिनोभ्याक र अस्ट्राजेनेका मिसाउन थालेको छ। सिनोभ्याक लगाएका कयौं स्वास्थ्यकर्मीमा कोभिड देखिएपछि त्यसो गर्न थालिएको हो। इन्डोनेसियामा पनि सिनोभ्याकको पूर्ण मात्रा लगाएका कम्तीमा ३० स्वास्थ्यकर्मीको निधन भएपछि दोस्रो मात्रा अर्को खोप लगाउने योजना बनाइएको छ।

कुन भ्याक्सिन बढी प्रयोगमा
विश्वमा सबैभन्दा पहिले उत्पादन भएको फाइजर–बायोएन्टेक खोपले सर्वप्रथम विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त गरेको थियो। ३१ डिसेम्बर, २०२० मा विश्व स्वास्थ्य संगठनले फाइजर बायोएन्टेकको कोभिड–१९ एमआरएनए भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत गरेको थियो। 

यसपछि बन्दै गएका अन्य खोपले पनि विस्तारै मान्यता प्राप्त गरेका थिए। तर, हाल विश्वभर सबैभन्दा प्रयोगमा आएको भ्याक्सिन अक्सफोर्डको एस्ट्राजेनेका हो। फाइजरको खोपलाई माइनस ७० डिग्री सेल्सियसको अत्याधिक चिसो तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ भने अक्सफोर्डको एस्ट्राजेनेकालाई साधारण फ्रिजमा पनि भण्डारण गर्न सकिन्छ। यही कारणले गर्दा पनि फाइजरको तुलनामा एस्ट्राजेनेका विश्वभर वितरण गर्न सहज भएको छ। 

फोब्र्स पत्रिकाले जनाएअनुसार इजरायलको स्वास्थ्य मन्त्रालयले फाइजरको कोभिड –१९ भ्याक्सिन संक्रमण रोक्न र डेल्टा भेरियन्टका लक्षणसहितका बिरामीका लागि त्यति प्रभावकारी नहुने बताएको थियो। तर, हालै भएको एक अध्ययनले उक्त भ्याक्सिन संक्रमण रोक्न र लक्षणसहितको कोभिडमा बिरामीका लागि ६४  प्रतिशतसम्म प्रभावकारी रहेको देखाएको छ। यो खोपको दुवै मात्रा लगाइसकेपछि डेल्टा भेरियन्टका कारणले हुने गम्भीर प्रकृतिको बिरामी र अस्पताल बसाइमा ९३ प्रतिशतसम्म प्रभावकारी रहेको अनुसन्धानले जनाएको छ।

विश्वका थुप्रै राष्ट्रहरूमा ६० वर्ष उमेर समूहमाथिका नागरिकबाट खोप अभियान पहिले सुरु गरिएको छ। इजरायल र बेलायतजस्ता राष्ट्रहरूमा खोपको निकै राम्रो प्रभाव देखिएको छ। यी देशहरूमा कोभिडका कारण अस्पताल भर्ना हुनेहरूको संख्या निकै न्यून भइसकेको छ भने मृत्युदर पनि  धेरै नै 

घटिसकेको छ। बेलायतको आवर वल्र्ड इन डाटानामक एक अनुसन्धानमूलक संस्थाका अनुसार विश्वमा हाल ३ अर्ब ४३ करोड ९७ लाख ७५ हजार १ सय ७९ खोप उपलब्ध गराइएको छ। प्रतिसय जनसंख्यामध्ये हाल ४४.१ माझ खोप पुगेको छ। बेलायतमा प्रतिसय जनसंख्यामध्ये १२०.७ माझ खोप पुगेको संस्थाले जनाएको छ। कतिपय खोप एउटै व्यक्तिले पनि दुई मात्रा लगाउनुपर्ने हुनाले यो प्रतिसयमा यो संख्या एक सयभन्दा बढी पनि हुन सक्ने बताइएको छ। 

हाल विश्वमा करिब दुई सयभन्दा बढी खोपहरू विकासका क्रममा छन्। तीमध्ये धेरैको क्लिनिकल परीक्षण भइरहेको छ। 

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.