खोपमा पनि सुदूरपश्चिमलाई उपेक्षा, ३ लाख डोज मात्रै भागमा

खोपमा पनि सुदूरपश्चिमलाई उपेक्षा, ३ लाख डोज मात्रै भागमा

धनगढी : सधैं राज्यका सेवा सुविधाबाट बञ्चित हुँदै आएको सुदूरपश्चिम प्रदेशलाई कोरोनाको खोप दिनमा पनि राज्यले उपेक्षा गरेको छ । चीन, भारत र अमेरिकाबाट अनुदान र खरिद गरी ल्याइएका ७१ लाख खोपमध्ये अहिलेसम्म सुदूरपश्चिमको भागमा तीन लाख ३७ हजार खोप मात्रै परेको छ ।

भारतले दुई पटक अनुदानमा दिएको र किनिएको ३० लाख खोपमध्ये २ लाख ४९ हजार खोप मात्रै प्रदेशमा आएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । कोरोना महामारी फैलिएपछि भारतले दुई पटक नेपाललाई १०/१० लाख गरी २० लाख कोभिडसिल्ड नामक खोप अनुदानमा दिएको थियो । त्यसपछि नेपाल सरकारले आफै पनि १० लाख कोभीसिल्ड किनेको थियो । 

‘त्यसमध्ये दुई पटक गरी २ लाख ४९ हजार मात्रै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पाएको छ,' केन्द्रका प्रमुख पदम बहादुर विष्टले भने । उनले चीनबाट आएको भेरोसेल खोप ८८ हजार डोज मात्रै सुदूरपश्चिम आएको बताए  । ‘कोभिडसिल्ड र भेरोसेल गरी ३ लाख ३७ हजार डोज खोप सुदूरपश्चिमका ९ वटै जिल्लामा पठाएर सर्वसाधारणले लगाई पनि सकेका छन, तर अहिले थप खोप आएको छैन,' विष्टले भने ।

केही दिनअघि नेपाल सरकारले चीनबाट किनेको भेरोसेल खोप पनि सुदूरपश्चिममा पुगेको छैन । अमेरिकाको सिंगल डोजमा लगाउन मिल्ने अनुदानको जोन्सन एण्ड जोन्सन खोप पनि सुदूरपश्चिम पुगेको छैन । नेपाल सरकारले ती खोपहरु लुम्बिनी, बाग्मती र गण्डकीमा मात्रै पठाएको छ।

तर, स्वास्थ्य सेवा विभागले सुदूरपश्चिमका लागि एक लाख ४१ हजार डोज भेरोसेल र ९७ हजार २५६ डोज जोन्सन एण्ड जोन्सन खोप पठाउने जानकारी भने प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई पठाएको छ । ‘ एक लाख ४१ हजार डोज भेरोसेल र ९७ हजार २५६ डोज जोन्सन एण्ड जोन्सन खोप पठाउने जानकारी आएको छ, यस संख्याको व्यवस्थापनमा लाग्नु भन्ने पत्र आएको छ तर खोप पुगेको छैन, 'आपूर्ति केन्द्रका प्रमुख विष्टले भने।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पनि खोप छिट्टै आउने प्रक्रियामा रहेको जनाएको छ । ‘अरु प्रदेशमा साउनको ४ गते देखि खोप अभियान सञ्चालन भएपनि सुदूरपश्चिममा आएको छैन, तर तीन/चार दिनमा आइपुग्छ होला, 'सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने ।

यसअघि सुदूरपश्चिमका लागि प्राप्त भएका कोभिडसिल्ड खोप, कैलालीमा ७४ हजार १३०, कञ्चनपुरमा ३७ हजार ११०, अछामका २४ हजार ३२०, बैतडीमा १९ हजार ७४०, बझाङमा २० हजार ८ सय, बाजुरामा १४ हजार ६०, डडेल्धुरामा १४ हजार ११० र डोटीमा २४ हजार ३२० डोज पठाईएको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कोभिडसिल्ड खोप लगाएका जेष्ठ नागरिकले दोस्रो डोज पाएका छैनन्।

भारतले कोरोना महामारीका बेला अनुदानमा खोप दिएपनि त्यसपछि उसकै देशमा कोरोनाको महामारीले उग्ररुप लिएपछि भारतको उच्च अदालतले खोप निर्यातमा रोक लगाएको थियो। त्यसपछि नेपालले किन्ने भनिएको कोभिडसिल्ड पनि आउन नसकेको हो । कोभिडसिल्ड आउने अझै पनि कुनै टुंगा नलागेको अधिकारीहरु बताउँछन् । 

यस्तै चीनबाट आएको भेरोसेल खोप पनि कैलालीमा २८ हजार ७७८, कञ्चनपुरमा १५ हजार १४०, अछाममा ८ हजार ३ सय ४, बैतडीमा ७ हजार ५६०, बझाङमा ६ हजार १६८, बाजुरामा ४ हजार १४०, डडेल्धुरामा ३ हजार ७७० र डोटीमा ६ हजार ३५ डोज पठाई सकिएको छ । 

स्थानीयले, अनुदानमा आएका र सरकारले किनेका खोपहरु दामासाहीको हिसाबले वितरण हुनपर्ने बताएका छन । ‘७१ लाख खोप, ७ प्रदेशलाई वितरण गर्दा १० हरेक प्रदेशको भागमा १० लाख भन्दा बढी पर्न आउछ, तर ३ लाख ३७ हजार भनेको त्यसको पनि एक तिहाई हो, यो सुदूरपश्चिम प्रतिको उपेक्षा हो’ सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रिजिष्टार डाक्टर हेमराज पन्तले भने । ‘सुदूरपश्चिम कोरोनाको ‘इपिसेन्टर’ भएकाले पनि यहाँ खोप बढी आउनुपर्छ ।’

खोप ढुवानी गर्ने रेफ्रिजरेटर ग्यारेजमा

प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रसँग रहेको रेफ्रिजरेटर भ्यान डेढ वर्ष देखि थन्किएको छ । स्वास्थ्य सेवा विभागले पठाएको उक्त रेफ्रिजरेटर भ्यानमा लाखौं खर्च गर्दा पनि सञ्चालन गर्न नसकेको प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुख पदम बहादुर विष्टले बताए । 

‘दुई/तीन पटक काठमाडौं लगेर बनाइयो तर बुटबल नपुग्दै बिग्रिने गरेको छ, त्यसका २५० लिटर भोल्युममा खोपहरु ढुवानी गर्न सकिन्थ्यो । कोरोनाका त पाँच लाख डोजहरु एकै पटकमा ढुवानी गर्न सकिने क्षमता थियो, तर त्यो पुरानो भएकाले मर्मतमै धेरै रकम लाग्न थालेपछि थन्काइएको हो,' विष्टले भने ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले अहिले कोरोना र अन्य नियमित खोपहरु कोल्ड बक्समा प्याक गरेर गाडीबाट जिल्लामा पठाइरहेको छ । 'आइस बक्समा प्याक गरेर पठाउनुको विकल्प छैन, रेफ्रिजरेटर भ्यान नभएकाले यसरी पठाउदा ढुवानी सारै महंगो पर्न थालेको छ, रेफ्रिजरेटर भ्यान अति आवश्यक भइसक्यो’ प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख विष्टले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.