बालबालिकालाई लगाउन मिल्ने खोप ल्याउने तयारी, असोज १५ गतेदेखि तेस्रो लहर आउन सक्ने

बालबालिकालाई लगाउन मिल्ने खोप ल्याउने तयारी, असोज १५ गतेदेखि तेस्रो लहर आउन सक्ने

काठमाडौं : सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने सरकारको तयारी रहेको जानकारी दिए। 

उनका अनुसार सरकारले आफैं खरिद गरी ल्याउने प्रक्रियामा रहेको, विभिन्न मुलुकहरुले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रममार्फत उक्त परिमाणको खोप ल्याउन लागिएको हो। सरकारले चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौको पहिलो साता नेपाल आइपुग्ने तालिका छ। यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा आउँदो भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ। 

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आज समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै आउँदो असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने जानकारी दिए। 

उनका अनुसार कोभ्याक्स कार्यक्रममार्फत निःशुल्क २० प्रतिशत अर्थात एक करोड १३ लाख मात्रा र कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा  र बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ। 

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ। यसका लागि दुई मात्रा खोपका हिसावले कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने सचिव अर्यालले जानकारी दिनुभयो। उनका अनुसार आउँदो असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य सरकारको छ। 

अब बालबालिकाका लागि पनि खोप आउने 

महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए। उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ। 

अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६.६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ। तीमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८५० (भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा), वैदेशिक अनुदानबाट २९ लाख, चीनबाट १८ लाख र भारतबाट ११ लाख मात्रा रहेका छन्। यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ। भारतबाट कोभिशिल्ड  १० लाख मात्रा र चीनबाट भेरोसेल ३२ लाख मात्रा रहेको छ। 

सरकारले कोभिड–१९ को उपचारका लागि १५७ सरकारी र नीजि अस्पताल सूचिकृत गरी सञ्चालनमा ल्याएको छ। यसैगरी कोभिड–१९ को उपचारका लागि मन्त्रालयले तीन हजार सघन उपचार कक्ष (आइसियु) पुर्‍याएको छ भने ६३० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयका सचिव अर्यालले जानकारी दिए। यस्तै भेन्टिलेटरको सङ्ख्या ९०० रहेको र १८० थप गर्ने प्रक्रियामा छ। मन्त्रालयले सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ र निजीमा ७७८ सञ्चालनमा रहेका छन् भने एक हजार ४०० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आइसियु शय्या थप्ने प्रक्रियामा छ। 

अक्सिजन
मन्त्रालयले अहिले अक्सिजनको आपूर्ति समेत बढाएको छ। स्वास्थ्य सचिव अर्यालका अनुसार अहिले दैनिक १२० मेट्रिक टन अक्सिजन आपूर्ति भइरहेको छ। यसअघि १५ मेट्रिक टन मात्र अक्सिजन आपूर्ति हुने गरेको थियो। मन्त्रालयले सङ्क्रमणको दोस्रो लहर चलिरहेकै बेला पाँच हजार अक्सिजन सिलिण्डर थप र पाँच हजार ५०० अक्सिजन कन्सट्रेटरको व्यवस्था गरेको छ। थप तीन हजार ५०० अक्सिजन कन्सट्रेटर आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। 

यसैगरी २७ वटा तरल अक्सिजन टङ्याक थप गर्ने योजनाअन्तर्गत दुई सम्पन्न, चार निर्माण प्रक्रियामा र १० वटा निर्माणका लागि सूचना प्रकाशित गरिएको छ। 

नेपालमा कोरोना भाइरस सङ्क्रमितको मृत्यु दर १.३ प्रतिशत  र निको हुने दर ९४.५ प्रतिशत छ। नेपालमा अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ। २०७७ चैतको पहिलो सातादेखि २०७८ वैशाखको अन्तिम सातासम्म दोस्रो लहर उच्च विन्दुमा रहेको थियो। गत वैशाख २७ गते सङ्क्रमण दर सबैभन्दा बढी ५१.८ प्रतिशत रहेको थियो। जेठ ६ गते सबैभन्दा बढी एक हजार ७४८ जना आइसियुमा र जेठ ८ गतेसबैभन्दा बढी ५२३ जना सङ्क्रमित भेन्टिलेटरमा रहेका थिए। यसैगरी सङ्क्रमणको पहिलो लहर २०७६ माघ ९ गतेदेखि २०७७ साउन ३ गतेसम्म चलेको थियो। उक्त अवधिमा सङ्क्रमण दर ५.६ प्रतिशत रहेको थियो। पहिलो लहरमा सबैभन्दा बढी सङ्क्रमित असार १९ गते देखिएकोमा सङ्क्रमण ओरोलो लाग्दै गत साउन ३ गते ५२ जना पुगेका थिए। 

तेस्रो लहर असोज १५ गतेदेखि 

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताए। उनले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने बताए। 

तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ। उनका अनुसार आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने अनुमान गरिएको छ। यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन समेत दिइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.