गोरखाको छेकम्पारमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढे
गोरखा : चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा कोभिडसँग मिल्दोजुल्दो लक्षणका बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । तिब्बती सीमानामा पर्ने साविक छेकम्पार गाविसका नौवटा वडामा विगत एकसातादेखि ज्वारो आउने, ज्यान दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, खाना खान मन नलाग्ने लक्षणका बिरामीको संख्या बढिरहेको वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए ।
छेकम्पारका सबै टोलमा डेढ सयजनाभन्दा बढीमा यस्तो लक्षणले ग्रस्त बनाएको उनले बताए । ‘एकसाता जति भयो, धेरैजना बिरामी भए’, उनले भने, ‘सबै स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ ।’
१० वर्षअघिको जनगणनाअनुसार छेकम्पारमा दुईसय ४३ घरधुरी र त्यहाँको जनसंख्या एकहजार चारसय ३० छ । केहीदिनअघि कोभिड विरुद्धको भेरोसिल खोप लगाएका थिए । खोप अभियान सकिएलगत्तै गाउँलेहरु बिरामी हुन थालेको अर्का स्थानीय ङवाङ सोनाम लामा बताउँछन् ।
बिरामीको संख्या एकसातायता ह्वात्तै बढेको छेकम्पार स्वास्थ्यचौकीका अहेब मिङ्मार लामा बताउँछन् । धेरै लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको उनको भनाइ छ । ‘टाउको दुख्ने, ज्यान दुख्ने, ज्वारो आउने, खोकी लाग्ने, थकाइ लाग्ने लक्षणका बिरामी धेरै छन्’, मिङ्मार भन्छन्, ‘हामीले सामान्य उपचार गरी पठाउने गरेका छौँ ।’ छेकम्पारका नौ वटा टोलमा सरकारी र संघसंस्थाका गरी चारवटा स्वास्थ्य संस्था छन् । सबैमा बिरामीको संख्या बढिरहेको उनले बताए ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रका(डिसिसिएमसी) प्रमुख एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले यस बिषयमा तत्काल गाउँपालिका, स्वास्थ्य शाखासँग सोधखोज गरी आवश्यक कार्य गर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !