मनास्लु संरक्षण क्षेत्रको झोलुङगे पुल पहिरोले भत्कायो
गोरखाः प्रसिद्ध मनास्लु संरक्षण क्षेत्रअन्तर्गत लोक्पा र चुम्लिङ जोड्ने झोलुङ्गे पुल पहिरोले भत्काएको छ ।
चुमनुब्री गाउँपालिका ६ स्थित लोक्पा खोलाको पुल मंगलबार रातिको पहिरोले भत्काएको स्थानीय सरोज लामाले जानकारी दिए । पुल भत्किएपछि वडा नं. ६ (साविक चुम्चेत गाविस) र वडा नं. ७ (साविक छेकम्पार गाविस) का बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
‘मंगलबार राति ८ बजेपछि ङुयुखोलामाथि ठूलो पहिरो झर्यो’, उनले भने ‘पहिरोले पुलपारीको जिपमा लागेर लठ्ठा चुँडायो, प्लेटहरु सबै भत्काएर लग्यो ।’
पुल भत्किएपछि चुम उपत्यकाका लागि खाद्यान्न ढुवानी रोकिएको छ । ‘आज पहिलो पटक छेकम्पारका लागि चामल बोकेर आठ ग्रुप खच्चड आएको थियो । पुल नभएपछि रोकियो’, लामाले भने, ‘मान्छेहरु चाहिँ पुरानो बाटो घुमेर हिँडिरहेका छन् । खच्चड र भारी बोकेको मान्छे चाहिँ पुरानो बाटो हिँड्न नसक्ने रहेछ ।’
साविक चुम्चेत गाविस र छेकम्पार गाविसका गरी करिब १५ वटा गाउँबस्तीका स्थानीयबासी र मनास्लु पदमार्गअन्तर्गत चुमभ्याली पुग्ने पर्यटकहरु उक्त पुलबाट आउजाउ गर्छन् ।
पुल भत्किएपछि कसरी वैकल्पिक उपाय गर्ने बारे बिहीबार बैठक आह्वान गरिएको लामाले बताए । चुमनुब्री गाउँपालिकाले पनि त्यहाँको अवस्थाबारे वडासँग समन्वय गरी वैकल्पिक उपाय गर्ने जनाएको छ ।
‘तत्कालका लागि वैकल्पिक बाटो खोल्ने अवस्था रहेछ भने गाउँपालिकाले सहयोग गर्छ’, गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘पुल २/४ दिनमा बनाउन सक्ने अवस्था हुँदैन । त्यसका लागि पहल गर्छौँ ।’ उक्त पुल कादुरी नामक संस्थाले ११ वर्षअघि ४७ लाखको लागतमा निर्माण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !