२० वर्षसम्म बाँचेको भाइरल भाले, जसको हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरियो

२० वर्षसम्म बाँचेको भाइरल भाले, जसको हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरियो

दाङ: मासु खान वा बिक्री गरी आम्दानी गर्नकै लागि घरमा कुखुराको भाले पालिन्छ । तर दाङको तुलसीपुरस्थित एक किसानले यतिकै लागि भाले पालेका थिएनन् ।

तुलसीपुर उपमहानगरपालिका १५का किसान शिव सुवेदीले भालेप्रति देखाएको संवेदना र श्रद्धा अनौठो र अनुकरणीय नै छ । सुवेदीले २० वर्षदेखि पालेको बियाड भाले गत साता मरेपछि उनले शोक नै मनाए ।

अचम्म त के भने भालेको मुत्युपछि सुवेदीले हिन्दू संस्कार अनुसार 'शव'को अन्त्येष्टि गरेर धार्मिक कार्य समेत गरे । भाले मरेपछि किसान सुवेदीले कपाल मुण्डन गर्नुका साथै  मान्छेको मृत्यु संस्कारमा झैँ नुन समेत खान छाडिदिए ।

तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा गाउँका ४६ वर्षीय सुवेदीले भालेको मृत्युमा हिन्दू परम्पराअनुसार गाउँलेहरूलाई मलामी बनाइ स्थानीय टौवा खोलामा लगि अन्तिम संस्कार समेत गरे । ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले मर्‍यो,’ सुवेदीले भने, ‘त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्‍यौँ।’ भाले मरेपछि मानिसको मृत्यु पछिको संस्कार जस्तै गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पुर्‍याएको गाउँलेहरुले बताएका छन् ।

सुवेदीका अनुसार भालेको संस्कारका लागि गाउँलेहरूले जलाउन आवश्यक काठ लिएर आए । 'भालेलाई जलाइसकेपछि हिन्दू परम्परा अनुसार मैले खोलामै कपाल पनि मुण्डन गरेको हो र नुन पनि छोडेँ ’ सुवेदीले भने । धेरै लामो समयसम्म पालेको भालेलाई परिवारको सदस्यजस्तै मानेकाले त्यसप्रति संवेदना पनि जोडिएको बताउँछन् सुवेदी ।

मृत्युपछि गाउँलेले समेत सँगै शोक मनाएको सुवेदीले बताए, ‘धेरै लामो समयसम्म पालेको हुँदा भाले परिवारको सदस्यजस्तै थियो । त्यसैले त्यो भालेलाई काटेर खाने कुरा सोच्नै सकिएन ।’

भाले मरेपछि आफू निकै दुःखी भएकोले भालेको श्रद्धाका लागि हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको उनले सुनाए । ‘दाहसंस्कार गर्ने समयमा ममात्रै होइन, गाउँका अरू दुई तीन जना मानिसहरूको पनि आँशु खसेको थियो,’ सुवेदीले भने । अचेल चिनजानका मानिसहरूले मान्छे मरेको घरमा परम्परागत रूपमा चल्दै आएको ‘मानो मिसाउने’ कार्यक्रम छ कि छैन? भनेर सुवेदीलाई सोध्दै आएका छन् ।

‘धेरैले मलाई आजसम्म पनि गाली गर्नुहुन्छ । भाले मरेको खबर पाएको भए हामी पनि मलामी जान्थ्यौं । किन थाहा नदिएको भनेर,’ सुवेदीले भने, ‘कोरोना जोखिमका कारण धेरैलाई खबर गर्न नसकिएको जवाफ दिएको छु । मानिस सबैभन्दा बुद्धिमान प्राणी भएकाले आफूले पालेका पशुपंक्षी र जीवजन्तुलाई माया तथा सम्मान गर्नु सकारात्मक कुरा भएको सुवेदीको तर्क छ ।

‘धेरैले मलाई सकारात्मक कुरा गर्नुभएको छ,’ सुवेदीले भने, ‘कतिले भने हावा कुरा र काम  नपाएकाहरू भन्ने गरेको खिल्ली उडाउने काम पनि गर्नु भएको छ । मान्छेहरूले आफ्नो सोचअनुसार त बोल्ने हुन्। मलाई  मैले गरेको काममा सन्तोष छ । ’

घरमै जन्मिएर हुर्किएको भाले २० वर्षसम्म पाल्छु भनेर सुवेदीले नसोचेको बताए । सुरूमा उनले (ब्याड) बेलनका रूपमा भाले पालेर राखेका थिए । एकाध वर्षपछि आफ्नो बुवाको पेन्सन घरमै पठाएर सहयोग गर्ने घोराहीका शिक्षक डोमकान्त अधिकारीलाई खुवाउन भनेर उनले त्यो भाले जोगाएर राखे । अधिकारी आफ्नो घरमा आउलान र त्यो भाले काटेर खुवाउँला भन्दाभन्दै ५/७ वर्ष बित्यो ।

‘अधिकारी सरले जहिल्यै भोलि आउँछु भन्नुभयो, तर कहिल्यै आउनुभएन, ’ सुवेदीले भने, ‘मैले उहाँलाई बाटो हेर्दाहेर्दा थप ६/७ वर्ष बित्यो र भाले १४ वर्षको पुग्यो, तर उहाँ आउनु भएन ।’ भाले १४ वर्षको पुगेपछि सुवेदीले पनि उक्त भाले नकाट्ने सोच बनाए । त्यसको पछाडि खास कारण थिएन । उनलाई एउटा भाले कति वर्षसम्म बाँच्दो रहेछ भन्ने भएर पनि पालिरहेका थिए।

यसरी नै त्यो भाले १७ वर्षको पुगेपछि युट्युबरहरू आएर भालेको भिडिओ बनाउन थाले । १७ वर्षको पुग्दा सामाजिक सञ्जालमा भाले भाइरल बनिसकेको थियो । त्यही बीचमा भालेले ‘टार्जन’ नाम पनि पायो । भालेकै कारण सुवेदी पनि चिनिए । त्यसैले सुवेदीले भालेको बारेमा गिनिज बुक अफ वल्ड रकेर्डमा नाम लेखाउन सकिन्छ कि ? भनेर प्रयास पनि गर्न खोजेका थिए । तर, आफूले मेलोमेसो पाउन नकेको सुवेदीले बताए ।

झन्डै २० वर्षमा सुवेदीले घरमा पालेका थुप्रै कुखुरा जन्मिए, हुर्किए, कति बेचे र कति रोगले मरे । उनीहरूका बारे सुवेदीले खासै वास्ता गरेनन । तर, घरको सबैभन्दा बुढो भाले भने कहिल्यै रोगले थलिएन । गाउँमा रोग लागेर सबैका कुखुराहरू धेरै पटक स्वाहा भए । असार महिनामा मात्रै सुवेदीले घरमा पालेकामध्ये ४१ वटा कुखुरा रोगले मरे । तर त्यो बुढो भालेलाई रोग लागेन । ‘त्यो भाले खुर्सानी धेरै खान्थ्यो । सायद उसको रोग प्रतिरोधी क्षमता बढ्यो कि,’ सुवेदीले भने, ‘मैले सुनेको छु, खुर्सानीले एन्टिबायोटिकको काम गर्छ रे ? ’

गत चैततिर मात्रै उक्त भालेको एउटा आँखा पाकेको थियो । तुलसीपुर बजारमा गएर सुवेदीले औषधी किनेर ल्याए । उपचार गरे । तर, उसको आँखा निको भएन । एउटा आँखा नदेख्ने नै भयो । धेरै बुढो भइसकेको भाले पछिल्लो समय राम्रोसँग हिँड्न पनि सक्दैनथ्यो । सुवेदी आफैँले त्यसलाई खोरमा भित्र बाहिर गराउँदै आएका थिए । ‘मैले उसको विशेष निगरानी गर्दै आएको थिएँ,’ सुवेदीले भने ‘खाना खाएको छ कि छैन भनेर मैले त्यस को भोजे पनि छामेर हेर्थेँ, तर, १६ गते बिहान उठेर हेर्दा भाले मरेको अवस्थामा फेला पर्‍यो ।’ असारमा ४१ वटा कुखुरा मरेपछि बचेको त्यो एउटै बुढो भाले पनि मरेपछि अब सुवेदीको घरमा एउटा पनि कुखुरा बचेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.