भत्काइयो नभत्काइनुपर्ने कविकुञ्ज

भत्काइयो नभत्काइनुपर्ने कविकुञ्ज

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानको उद्देश्यमध्ये एक हो, भाषा, साहित्यका विद्वान् एवं प्रतिभाहरूको सम्मान। तर, प्रतिष्ठानले संग्रहालय बनाउने नाममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ऐतिहासिक घर भत्काएको छ। महाकविको ‘सग्लो’ इतिहास नामेट पारेको भन्दै लेखक, साहित्यकारदेखि सम्पदा विज्ञसम्मले आलोचना गरिरहेका छन्।

मैतीदेवी मन्दिरनजिकै शास्त्रीमार्ग टोलमा महाकवि देवकोटाको घर अर्थात् कविकुञ्ज थियो। कविकुञ्ज साहित्यको मन्दिर थियो। साहित्यानुरागी पूजा गर्न जाने तीर्थस्थल थियो। केही दिनअघिसम्म महाकविको छायाँ बोकेर उभिएको थियो। जहाँ महाकविले कलम चलाएका कोटा, चोठा थिए। स्पर्श गरेका भित्ता र भुइँहरू थिए। उनी बसेका कुर्सी थिए। महाकविकै माया पाएका दलिन र बार्दलीहरू थिए। खासमा महाकविकै पदचाप भेटिन्थे। जुन घरले महाकविलाई सिर्जना गर्न साथ दिइरह्यो। देवकोटालाई नजिकबाट अनुभूत गराउने त्यो घर एउटा ‘जीवित’ इतिहास थियो। त्यही घर साहित्यकारका लागि ‘तीर्थस्थल’ थियो। काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काउनुअघिको घर

कविकुञ्ज परिसरमा आइतबार पुग्दा डोजर चलिरहेको थियो। घर भत्काइसकिएको थियो। ढुंगा र माटो थुप्रिएको थियो। बाँकी रहेका संरचनामा डोजर चलाइँदै थियो। एकातिर मक्किएका काठ थुपारिएको थियो। अर्कोतिर काँचो इँटाका टुक्राटाक्री थिए। 

महाकवि देवकोटाकी माइली छोरी अम्बिका रिमालले छेउमै भत्किरहेको घर हेर्दै बुवासँगको सम्झना साटिन्। ‘मेरो घरको छेउमै बुढो बुवाजस्तै उभिएको थियो कविकुञ्ज। आँगनमा सुकुल बिच्छ्याएर बुवा केही न केही लेखिरहनुहुन्थ्यो। बिहान उठ्नासाथ झुलुक्क एकपटक चिहाउन मन लाग्थ्यो कविकुञ्ज। झार उम्रिरहेको आँगनमा बसेर चुरोट तानिरहेको जस्तो लाग्थ्यो। बुवा बितेको ५२ वर्ष भइसक्यो तर मलाई यही कतै घरमा हुनुहुन्छ जस्तो लाग्थ्यो।’

उनले भनिन्, ‘प्रज्ञामा यत्रो विज्ञहरू हुनुहुन्छ। उहाँहरूको निर्णय राम्रै त होला। बेसहारा भएको घर संरक्षण गरेर संग्रहालय बनाउने रे ! राम्रो हुन्छ भन्ने आशावादी छु। जे भए पनि आफू हुर्किएको, जन्मिएको घर भत्काइँदा भने दिक्क लाग्ने रहेछ। बुवाले हेरिरहनुभएको छ कि जस्तो लाग्ने।’ 

महाकविका छोरा पद्म देवकोटाले घर भत्किँदै गरेको देख्दा मन दुख्ने रहेछ भनेर सामाजिक सञ्जालमा लेखेका छन्। यस्तो छ उनको अनुभूति, ‘आफू जन्मिएको हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौं तरंग उत्पन्न हुँदा रहेछन्। दुख्दो पनि रहेछ। कोठाकोठाको याद बैरिएर आएका छन् यसपालि।’ 

उनले घर भत्काएको विषयमा साहित्यकार र सञ्चारकर्मीले छोराछोरीलाई दोष देखाएको भन्दै गुनासो गरेका छन्। उनले लेखेका छन्, ‘कविकुञ्जका विषयमा मलाई अनुमानका आधारमा अनेकौं आरोप लगाउनुअघि मेरो बुकमा लेखेका कुराहरू पढिदिनुहोला।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कविकुञ्ज भत्काएर अपराध गरेको बताए। ‘नयाँ संरचना संग्रहालय त होला तर अब कविकुञ्ज हुँदैन’, सरुभक्तले अन्नपूर्ण पोस्ट्सित भने। महाकविले २००० सालमा आफैंले उक्त घर बनाएको स्मरण गर्दै उनले त्यस घरमा देवकोटाको माया मिसिएको बताए। प्रज्ञा प्रतिष्ठानले उक्त घर भत्काएपछि निकालेको विज्ञप्तिले आफूलाई रिस उठेको र झनै आपत्तिजनक लागेको प्रतिक्रिया उनको छ। 

काठमाडौं महानगरपालिका-३० मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर अर्थात् कविकुञ्ज हालै भत्काइँदै

‘छोरीले भनेको भनेर भत्काउनु हुँदैन, यो त सबै प्राज्ञिक र साहित्यप्रेमीको साझा थलो हो। राष्ट्रको सम्पत्ति पनि’, उनले भने। केही वर्ष मैतीदेवी बस्दा दिनहुँ आफ्ना आँखा कविकुञ्जमा पुग्ने स्मरण गर्दै उनले भने, ‘प्रज्ञाको ध्यान संग्रहालय बनाउनेमा गयो तर जीर्णोद्धार गरेर त्यस्तै अवस्थामा राख्नुपथ्र्यो, भूल भयो।’

वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वास्त्सायनले देवकोटाको घर अब सम्झनामा मात्र रहेको प्रतिक्रिया दिए। ‘नयाँ बनाउँदा त्यो घर कसरी देवकोटासँग सम्बन्धित भयो र ? न इँटा न दलिन केही पनि महाकविसँग माया गाँसेका वस्तु भएनन्। उनीसँग बाँचेका इँटा र दलिन आदि हुनुको अर्थ छुट्टै हुन्थ्यो’, उनले भने। उक्त घर आकर्षणको केन्द्र र पर्यटक तान्ने हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे। भने, ‘नबिगारी बनाउन सकिन्थ्यो तर अब त इतिहास नै ढल्यो।’

प्रज्ञा प्रतिष्ठानले बाहिरबाट राम्रो देखिए पनि उक्त घरभित्र काँचो इँटाले बनेको, काठ कमसल भएको र जीर्णोद्धार गर्नै नसक्ने भएकाले भत्काउनुपरेको दाबी गरेको छ। कुलपति गंगाप्रसाद उप्रेतीले इन्जिनियरहरूले रेट्रोफिट गरी पुनर्निर्माण गर्न नसकिने प्रतिवेदन दिएकाले भत्काउने विकल्प रोजिएको बताए। 
‘घरको अवस्था निकै जीर्ण थियो। काँचो इँटा प्रयोग गरिएको, धेरैजसो फुटेको, तला–तलामा भ्वाङ परेको अवस्थामा थियो। फेरि देवकोटा जन्मिएको र ३५ वर्ष बसेको घर त डिल्लीबजारमा अझै छ नि !’, उनले भने, ‘त्यो घरको पो संरक्षण गर्नुपर्ने हो। मैतीदेवीको घरमा त देवकोटा करिब १४ वर्ष मात्रै बसेका थिए।’

कुलपतिको तर्कमा कुनै वस्तुगत आधार र प्रमाण नभएको संरक्षणविद्, साहित्यकार, संस्कृतिविद् र बास्तुविद् बताउँछन्। वास्तुविज्ञ तथा आर्किटेक्च इन्जिनियर ज्ञानेन्द्रराज देवकोटाले प्रज्ञा–प्रतिष्ठानले घर जलाएर खरानी संरक्षण गर्न लागेको आरोप लगाए। ‘बिरामीलाई उपचार गर्ने हो कि बाँच्दैनस् भनेर मारिदिने ? मानिस मारेर अस्तुलाई संरक्षण गर्नेतर्फ विज्ञहरूको टोली लागेका छन्’, वास्तुविज्ञ देवकोटाले भने, ‘कसले भन्यो रेट्रोफिट गर्न मिल्दैन भनेर ? एउटा सिंगो संग्रहालय मासेर टुक्राटुक्रा जोडेर कृत्रिम संरचना बनाउनु गलत हो। प्रज्ञाको नियत सही होला तर प्रक्रिया गलत हो।’ 

त्योभन्दा निकै पुराना र जीर्ण संरचना रेट्रोफिट माध्यमबाट पुनर्निर्माण गरेको उनले सुनाए। ‘पाटन दरबार, सिंहदरबार, गोरखा दरबार पनि यही प्रक्रियाले पुनर्निर्माण भएका हुन्। राम्रोसँग चलेका छन्’, उनले भने, ‘कविकुञ्ज उहाँहरूले भनेजस्तो कच्ची पनि थिएन। २०७२ सालको भूकम्पमा जोगिएको थियो। करोडौं खर्चिएर बनेका सिमेन्टेड संरचना गर्लम्म ढल्दा कविकुञ्ज जिउँदो उभिएको थियो। यसलाई कसरी कच्ची जग भन्न मिल्छ। भत्काउने निर्णय प्राज्ञहरूको आवेशको निर्णय मात्रै हो।’ 

उनका अनुसार नरदेवीनजिकै कवि चित्तधर हृदयको घर त्योभन्दा कमजोर र जीर्ण अवस्थामा थियो। ‘हामीले रेट्रोफिट गरेर जस्ताको तस्तै निर्माण गरेका छौँ’, उनले भने, ‘कविकुञ्जलाई जस्ताको तस्तै निर्माण गर्न प्रशस्तै सम्भावना थियो। आधार प्रमाण थियो। कसैसँग नसोधी, छलफल नगरी टुंगोमा नपुगी गरेको प्रज्ञाको यो निर्णय इतिहासकै लागी गलत सावित हुनेछ।’ 
सम्पदाकर्मी आलेक सिद्दी तुलाधरले इतिहास बोकेको कविकुञ्ज प्राज्ञहरूको स्वार्थले नामेट भएको बताए। ‘हुँदाखाँदाको घर भत्काएर के बनाउनु ? 
यस्तो पनि कहीँ हुन्छ ? जीर्णोद्धार गरेको भए थोरै रकममा सकिन्थ्यो। बनाउने संभावना हुँदाहुँदै विकल्प नखोजेर भत्काउने काम जुनसुकै तर्क दिए पनि सही मान्न सकिन्न।’ 
कविकुञ्ज भत्काउँदै गरेको फोटो सामाजिक सञ्जालमा देखेपछि साहित्यकार नयनराज पाण्डेलाई नरमाइलो महसुस भयो। भन्छन्, ‘केही वर्षअघि यो घर सरकारको स्वामित्वमा आयोभन्दा निकै खुसी लागेको थियो। अब कविकुञ्जलाई जस्ताको तस्तै संरक्षण गरिन्छ भनेर खुसी लागेको थियो। तर, एकाएक भत्काइयो। यो गलत कार्य हो।’ 

पाण्डेले सामाजिक सञ्जालमा लेखे, ‘हुन त नेपाल प्रज्ञाप्रतिष्ठानको जागिरे प्राज्ञहरूकसित महाकवि देवकोटाको मूल घर भत्काएर नयाँ संरचना निर्माण गर्नुका अनेक तर्क होलान्। तर, यो भष्ट, मूर्खतापूर्ण र बहलठ्ठी निर्णय हो। यस्तो दरिद्र सोचको निन्दा गर्छु। ’
संसार बुझेका प्राज्ञहरू छन्। विश्वप्रसिद्ध लेखक, साहित्यकारको घर, बगैंचा र संग्रहालय पनि देखेका छन्। तर, आफ्नो देशको महाकविको घरलाई नामेट पारिनु लापरवाहीपूर्ण कार्य हो। 
लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला लेख्छन्, ‘हैट् काइते प्रज्ञाप्रतिष्ठानका नक्कली प्राज्ञको बुद्धि। महाकविको घर भत्काएर चिटिक्क संग्रहालय बनाउने रे। यो चिटिक्क, महाकविको घरको चिहानमाथिको बिरुप संग्रहालय हुनेछ। न मौलिकताको चेत, न सक्लीपनको सम्मान, न कलात्मक संवेदनशीलता। भष्मासुर प्राज्ञको यो विनाशकारी कर्मलाई धिक्कार छ।’
प्रज्ञा प्रतिष्ठानका प्रवक्ता शशी लुमुम्बुले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माणको सम्बन्धमा आएका विवाद र हल्ला गलत भएको बताए। यत्रो वर्षसम्म मैतीदेवीमै जीर्ण भएर ढल्न लाग्दा पनि कसैलाई वास्ता नभएको उनको भनाइ छ। उनले भन्नेले जे–जे भने पनि ८९ सालको लक्ष्मी जयन्तीसम्ममा संग्रहालय तयार भइसक्ने दाबी गरे। प्रज्ञा प्रतिष्ठानकै इन्जिनियर शान्ति थापा अर्यालले कविकुञ्ज भग्नावशेस बन्न लागेको अवस्थामा रहेकाले जीर्णोद्धार गर्न नसकिएको बताइन्। 

प्रज्ञाका अनुसार अब बन्ने संग्रहालय सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुनेछ। जसमा महाकविको पूर्ण कदको प्रतिमा, बगैचा, पार्किङ, पहिलो तलामा देवकोटाले प्रयोग गरेका सामग्री, दोस्रो तलामा उनका प्रकाशित तथा अप्रकाशित कृति र पाण्डुलिपीहरू, स्वदेशी तथा विदेशी विद्वान्ले उनको विषयमा लेखेका शोधपत्र तथा कृति रहनेछन्। यस्तै तेस्रो तलामा सभाकक्ष रहनेछ। अशक्त अवस्थाका अवलोकन कर्ताका लागि लिफ्टको समेत व्यवस्था गरिनेछ। 

तर, यो निर्णयविरुद्ध गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। जनहित संरक्षण मंचका तर्फबाट अधिबक्ता संजय अधिकारीले प्रज्ञा प्रतिष्ठान, प्रधानमन्त्री कार्यालय, पुरातत्व विभाग र काठमाण्डौ महानगरपालीकालाई विपक्षी बनाई रिट दर्ता गरेका हुन्। रिटमा देवकोटाको घर भत्काई कविकुञ्जको आधिकारिकता मासिने गरी हुन लागेको निर्माण र अन्य कार्यहरू रोक्नको लागी अन्तरिम आदेश माग गरिएको छ। काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर अर्थात् कविकुञ्ज भत्काइने भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा लगेर थन्क्याइएका विभिन्न कृति, जाँतो, कुर्सी, तस्बिर लगायत सामान 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.