बारेकोटमा खाद्य बैंक स्थापना हुने
जाजरकोट : जाजरकोटको बारेकोटमा सामुदायिक खाद्य बैंक स्थापना हुने भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाँउपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना हुने भएको हो ।
विश्व खाद्य कार्यक्रम, गाँउपालिका र अन्य दाताको सहयोगमा खाद्यान्न भण्डारण गरि प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य संकट परिरहेका नागरिकलाई खाद्यान्न सहायता गर्न खाद्य बैंकको अवधारण अघि सारिएको हो ।
खाद्य बैंक स्थापनाका लागि विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको प्राविधिक सहयोगमा बारेकोट २ लिम्सामा सामुदायिक खाद्य बैंक भवनको निर्माण समेत गरिएको छ ।
भौगोलिक विकटता, यातायातको असुविधा, न्युन खाद्य, उत्पादन, बाढीपहिरो तथा प्राकृति प्रकोप, सिंचाइ सुविधा अभाव आदि कारणले बर्षेनि खाद्य संकट ब्यहोर्दै आएको बारेकोटमा स्थापना हुन लागेको खाद्य बैंकले विपन्न तथा संकटासन्न परिवारलाई ठूलो राहत पुग्ने गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
विश्व खाद्य कार्यक्रमसँग सहकार्य गरेर केही समयभित्रै गाउँपालिकाले खाद्य बैंक संचालनमा ल्याउनेछ अध्यक्ष शाहले भने, ‘अन्य सरोकारवाला निकायसँग पनि सहयोगका लागि आह्वान गर्दछु ।’
विश्वखाद्य कार्यक्रमको नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले ४१ लाख ९५ हजार ८ सय ६५ रुपैयाँको लागतमा खाद्य बैंकका लागि दुई कोठे पक्की भवन निर्माण गरेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका कार्यकारी निर्देशक छवी पन्तले जानकारी दिए ।
उक्त भवनको एक कोठामा खाद्य भण्डार गोदाम बनाइनेछ भने अर्को कोठामा कार्यालय संचालन हुनेछ । गाँउपालिकाको समन्वयमा केही समय भित्रै खाद्य बैंक संचालनमा ल्याईनेछ । खाद्य बैंक संचालन तथा ब्यवस्थापन कार्यविधि समेत पारित भैसकेको कार्यकारी निर्देशक पन्तले बताए ।
कार्यक्रमबाट गत बर्ष बारेकोटमा आएको बाढी पहिरोबाट प्रभावित भएका योजनाहरुको पुनर्निर्माण गर्नुको साथै प्रभावित घरपरिवारलाई रोजगारी दिने उद्देश्यले कार्तिक देखि यता सो गाँउपालिकामा ४२ वटा योजना निर्माण गरिएको छ ।
बाढी पहिरोबाट प्रभावित एक हजार दुई सय ३८ परिवारलाई प्रत्यक्ष रोजगारी दिने गरि नगदमा आधारित पुर्वाधार विकास कार्यक्रम संचालन गरिएको हो । ति परिवारका सदस्यको व्यक्तिगत खातामा कार्यक्रमले ३ करोड १५ लाख ३८ हजार ७० रुपैया भुक्तानी दिएको कार्यकारी निर्देशक पन्तले जानकारी दिए ।
नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा लघुजलविद्युत, सिंचाइ, बाटो, विद्यालय भवन, खानेपानी लगायतका संरचना निर्माण तथा पुर्ननिर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस !