खानी तथा भूगर्भ विभागको निष्कर्ष : अत्यधिक वर्षा, पहिरो र कटानले मेलम्चीमा क्षति

खानी तथा भूगर्भ विभागको निष्कर्ष : अत्यधिक वर्षा, पहिरो र कटानले मेलम्चीमा क्षति

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ। गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर्ष निकालेको हो।

विभागका सिनियर डिभिजनल जियोलोजिस्ट एवं उपसचिव शिवकुमार बाँस्कोटा र जियोलोजिस्ट गौतमप्रसाद खनालको टोलीले यही साउन २२ देखि २५ गतेसम्म मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा गएर गरेको भौगर्भिक अध्ययनले उक्त निष्कर्ष निकालेको हो।

असार १ गतेको अत्यधिक वर्षापछि हेलम्बु गाउँपालिकाको पेमदाङ खोला र मेलम्ची खोलाको दोभानबाट शुरु भएको बाढी मेलम्ची खोलामा जम्मा भई पहिराको लेदो र पानी मिसिँदा किनारा थप कटान भएको तथा खोलाले थप विकसित रूप लिँदै जाँदा मेलम्ची र त्यस आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको विभागका सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटा बताउछन्।

मेलम्ची बजार हुँदै वहने इन्द्रावती, मेलम्चीखोला, पेमदाङखोला, लार्केखोला र याङ्रीखोला सबै हिमालबाट वहने खोला तथा नदी हुन्। उक्त खोलामा बाढी आउँदा मेलम्ची बजारसँगै चनौटे बजार, हेलम्बु गाउँपालिकाको केन्द्र किउल बजार, अम्बाथान, तिम्बु, ग्याल्थुममा बढी क्षति पुगेको जियोलोजिस्ट बाँस्कोटाको भनाइ छ।

असार १ गतेकै वर्षाका कारण पेमदाङखोलामा आएको बाढीले हेलम्बुको भेमाथाङ चौरमा १० मिटर अग्लो ग्रेगान भरिएको थियो। उक्त गेग्रान एक करोड घनमिटर रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ।  उक्त भेमाथाङ चौर एक हजार ५०० मिटर लम्बाइ र ७०० मिटर चौडाइको रहेको छ।

'उक्त चौरमा १० मिटर अग्लो ग्रेगान भरिँदा त्यस क्षेत्रमा कति ठूलो वर्षा र बाढी आएको रहेछ भन्ने स्पष्ट हुन्छ', सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटा भन्छन्। असार १ गते गेग्रानले भरिएको भेमाथाङ चौर साउन १६ गतेको वर्षाले कटान भएको छ। भेमाथाङ चौरको १०० मिटर क्षेत्रफल कटान हुँदा मेलम्चीमा साउन १६ गते पुनः ठूलो बाढी आएको बाँस्कोटाको भनाइ छ।

मेलम्ची बजारमा क्षति हुनाको अर्को कारण इन्द्रावती नदीसमेत हो। इन्द्रावतीमा याङ्रीखोला र लार्केखोलाको पानी थपिएपछि इन्द्रावती नदी बढेर बाढी आउँदा थप क्षति पुगेको खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले देखाएको छ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरे मेलम्ची र हेलम्बुमा गरिएको भौगर्भिक अध्ययनबाट आएको निष्कर्षलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बुझाउने बताउँछन्। 'मेलम्ची र हेलम्बु क्षेत्रको भौगर्भिक अध्ययन मात्र नभएर सबै क्षेत्रको अध्ययन गर्नु जरुरी छ, जुन अध्ययनले आगामी दिनमा यस्ता घटना नघटुन्', महानिर्देशक घिमिरे भन्छन्।

असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु र मेलम्चीमा एक दर्जनभन्दा बढी व्यक्तिले ज्यान गुमाए भने अर्बौ रकम बराबरको भौतिक संरचनामा क्षति पुग्यो। उक्त बाढीले मेलम्ची र हेलम्बु जोड्ने तथा अन्य ठाउँको झण्डै एक दर्जन पक्की तथा कच्ची पुलमा क्षति पुर्‍यायो। उक्त बाढीसँगै मेलम्ची खोला वरपरका सयौँ घर जोखिममा रहेका छन्।

सरकारले मेलम्चीको भौगर्भिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट दुई जनाको टोली खटाए पनि त्यस क्षेत्रको विपद् जोखिम अध्ययनका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीन जना कर्मचारी खटाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.