चन्द्रागिरिमा पुगेर ओलीले के गरे सिर्जना ?

चन्द्रागिरिमा पुगेर ओलीले के गरे सिर्जना ?

काठमाडौं :
“इच्छुमतिको किनार, घुमेर भिराडील
    घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

    कतै इतिहास, कतै परम्परा गौरव र पौरख
    यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर
    शोकमग्न शिवजी भौतारिएका थिए
    यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
    चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
    यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
    सुन्दर काठमाडौँलाई नियालेका थिए
    देवकोटाले मानवताको बिगुल फुगेका थिए...
    यही ठाउँमा अहिले फालिएको भिरलाई
    गन्तव्य बनाएका छन् पौरखीहरुले”

चन्द्रागिरि हिल्समा पुगेपछि तीन वर्षअघि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ...’ भन्ने सन्देशको रचना सिर्जना गरेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सोही स्थानमा पुगेर राष्ट्रिय एकता र समृद्धिका लागि आत्मबल बढाउने अर्को सिर्जना गरेका छन्।

राजनीतिक विवाद र व्यस्तताका बीच पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार जेसुम अभियानले चन्द्रागिरि नगरपालिका–१५को सहयोगमा चन्द्रागिरि हिल्समा आयोजना गरेको ‘भिराडील–चन्द्रागिरि जेसुम उत्सव’ कार्यक्रमस्थलमै सो रचना गरी आफ्नो मन्तव्यको पालामा सुनाएका हुन्।

तत्कालीन प्रधानमन्त्री ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०७५ असार ३१ मा चन्द्रागिरिमै आयोजना गरेको ‘हिमवत्खण्ड कला साहित्य महोत्सवका अवसरमा पनि यही स्थानमा कविता रचना गरेको थियो। त्यसबेला उनले लेखेका थिए : 

    “परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !
    बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ।
    मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
    सगरमाथा, लुम्बिनी, मेची, महाकाली
    हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि
    सपनामा भए पनि देख्न पाउँ
    चन्द्रगिरिको डाँडामा आएर सपनामा
    भावी सन्तती मुस्कुराएको देख्न पाउँ
    तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
    मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ।”

स्थलगतरुपमा रचना गरिएका अन्य स्रष्टाका रचना र स्थानीय कला, संस्कृति तथा समृद्धिबारे मन्तव्य सुनेपछि ओलीले आफ्नो पालोमा कविता सुनाउँदा सहभागीले तालीले सम्मान व्यक्त गरेका थिए। श्रीमती राधिका शाक्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठसहित उपस्थित ओलीले विकासको सङ्कल्प प्रतिविम्बन गर्दै आधुनिकता टल्काउँदै भिरलाई गन्तव्यमा परिणत गर्न आह्वान गरे। आफूले रचना गरेको सिर्जना कवितै नभएपनि मुक्तकभन्दा उन्मुक्त रचना भएको र गोपालप्रसाद रिमालको गद्यमार्गमा हिँडेको व्याख्या पनि उनले गरे। 

उनले आफूले अरूका रचना सुनेपछि समृद्ध नेपालका लागि आत्मविश्वास बढेको बताउँदै समाज निसासिएका बेला आफूले सामाजिक र राजनीतिक अभियान सुरु गर्दा सुरुङको पछिल्लो छेउमा पक्कै उज्यालो हुनुपर्छ भन्ने आशाका साथ लागेको र अहिले यस अभियानमा धेरै अभियानकर्मी भइसकेको सुनाए। उनले नेपालीका आकाङ्क्षाको प्रतिविम्बनका पुनःजागरण सुरु भएकाले कुनै राजनीतिक हेरफेर वा विवादले यस यात्रालाई केही पछाडि धकेल्न खोजे पनि कसैले रोक्न नसक्ने जिकिर गरे।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ शशी लुमुम्बु, वासुदेव अधिकारी, फूलमान बल, स्नेह सायमी, सुरेश हाँचेकाली, अनिता लामा, राजु महत, प्रशान्त डङ्गोलले कविता वाचन गरेका थिए भने नाट्यकर्मी राजन खतिवडा र सरस्वती चौधरीले नाटक प्रस्तुत गरे। चन्द्रागिरिमा पुग्दा चन्द्रागिरी हिल्सका प्रबन्धसञ्चालक हेमराज ढकाल तथा महाप्रबन्धक अभिषेकविक्रम शाहलगायतले अध्यक्ष ओलीलाई स्वागत गरे।

अध्यक्ष ओलीले आजै सो वडाको तीनथानामा निर्माणाधीन भिराडील खाइके साकुरा पार्कको अवलोकन गरी वडाध्यक्ष शैक्षिक विकास कोषमा रु एक लाख सहयोगको घोषणा गरेका थिए।कार्यक्रममा चन्द्रागिरी नगरिपालिका–१५ का अध्यक्ष उत्तमबहादुर राउतले समृद्धिको नमुनाका रुपमा वडालाई विकसित गर्न पूर्वाधारका साथै कला, संस्कृतिका क्षेत्रमा काम गर्दै आएको बताए। ‘स्थानीय कला, संस्कृति र सभ्यताको प्रतिविम्बनका रुपमा सञ्चालित जेसुम अभियानले राष्ट्रिय पहिचानमा आधारित जनताको बहुदलीय जनवाद तथा प्रगतिशील राष्ट्रिय संस्कृति निर्माणका लागि विभिन्न स्थानमा साहित्यिक अभियान गर्दै आएको छ। एक अभियानकर्मी फूलमान बलले आफूहरु नेपालकै ज्ञान परम्परा, विश्वास पद्धति र विश्व दृष्टिकोणको आधारमा वस्तु, पदार्थ या परिस्थितिको व्याख्या गर्न अग्रसर रहेको जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.