टेनिसमा प्रणवको समर्पण

टेनिसमा प्रणवको समर्पण

काठमाडौं : सानै उमेरमा र्‍याकेट रमातेर कोर्टमा उत्रिएका प्रणव खनालका लागि लनटेनिस अहिले जीवनको अभिन्न अंग बनेको छ। आठ वर्षको उमेरमा पहिलो पटक टेनिस कोर्टमा पाइला राखेका प्रणव अहिले नेपालको नम्बर एक खेलाडी बनेका छन्। 

प्रणवले टेनिस रोज्नुमा परिवारको ठूलो हात छ। परिवारकै कारण उनको पाइला खेलकुदमा डोरिएको हो। प्रणवका बुवा ज्ञानेन्द्र खनाल पनि खेलाडी हुन्। स्क्वासका राष्ट्रिय खेलाडी ज्ञानेन्द्रको इच्छा पनि छोरा खेलकुदमा लागोस् भन्ने थियो। त्यसैले उनले छोरालाई सानै उमेरमा खेलकुदमा सक्रिय बनाए। सेन्ट जेभियर्समा अध्ययनरत छोरालाई टेनिस खेल्न प्रोत्साहन गर्ने काम उनैले गरेका थिए। 

सेन्ट जेभियर्सको सिमेन्टेट कोर्टबाट ‘हबी’का रुपमा सुरु भएको प्रणवको खेल यात्रा अहिले विभिन्न राष्ट्रमा मात्र पुगेको छैन, आफूलाई सफल खेलाडीका रुपमा पनि स्थापित गरेका छन्। 

प्रणव परिवार र विद्यालयको सहयोगका कारण आफूलाई खेलकुदमा स्थापित गर्न सकेको बताउँछन्। ‘खेलकुदमा लाग्न सबैभन्दा ठूलो साथ र सहयोग परिवारबाट भयो। परिवारको सपोर्टले नै खेलकुदमा लागेको हुँ’, प्रणव भन्छन्, ‘यसैगरी स्कुलले पनि सदैव सपोर्ट गरिरह्यो। खेलकुदका प्रतियोगितामा सहभागी हुँदा पढाइ छुट्दा पनि विद्यालयबाट सहयोग पाइरहें।’ 

प्रणवले पछिल्लो पटक खेलेको ठूलो प्रतियोगिता स्वदेशमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) हो। उनले १३औं सागमा टिम इभेन्टमा कांस्य पदक जितेका थिए। पुरुष एकलमा पनि प्रतिस्पर्धा गरेका उनी क्वार्टरफाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएका थिए। यस बाहेक राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा पनि उनले पदक जित्न सफल भएका छन्। बुटवल ओपनको उपाधि जितेका उनले सशस्त्र प्रहरी बलद्वारा आयोजना गरिएको प्रतियोगिताको पनि उपाधि जितेका थिए।

यसैगरी सिटिजन्स ओपन र ललितपुर ओपनमा तेस्रो स्थान हात पारेका प्रणवले दार्जलिङमा आयोजना भएको तेन्जिङ नोर्गे ओपनको भने उपाधि जित्न सफल भए। उनले कतारमा आयोजना भएको एसियन जुनियर टिम टेनिसअन्तर्गत सन् २०१५ र २०१६ मा तेस्रो स्थान हात पारेका थिए। यसैगरी सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा पनि उनले नेपालको प्रतिनिधित्व गरेका थिए। एसियाली राष्ट्रबीचको भिडन्तमा उनले माहिका राणासँग मिक्स डबल्समा प्रतिस्पर्धा गरेका थिए। यसैगरी दुई वर्षअघि आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा उनले तीन रजत पदक जितेका थिए। विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट प्रतिस्पर्धा गरेका प्रणवले पुरुष एकल, मिक्स डबल्स र टिम इभेन्टमा रजत पदक जितेका थिए। 

नेपालमा टेनिसको अवस्था 
प्रणवको बुझाइमा नेपालमा टेनिसको अवस्था पहिलेभन्दा निकै राम्रो भएको छ। तर, परिवारको साथ र सहयोग भएन भने यस खेलमा टिक्न भने सकिने अवस्था छैन। खेलाडीहरूले आफ्नै खर्चमा प्रशिक्षक राख्नु पर्छ भने प्रतियोगिताहरूमा सहभागी हुँदा पनि आफैले खर्च बेहोर्नु पर्छ। यही कारण धेरै खेलाडीले परिवारको साथ र सहयोग पाउँदैनन् र बिचमै खेल त्याग्न बाध्य हुन्छन्। 

जुन खेलाडीले परिवारको साथ र सहयोग पाएका हुन्छन्, उनीहरू पनि प्लसटु सकिनासाथ विदेश पलायन भइहाल्ने समस्या छ। विदेशमा एउटै विश्वविद्यालयमा पढाइसँगै खेललाई पनि निरन्तरता दिन सकिने र छात्रवृत्ति पनि पाइने भएकाले उच्च फर्ममा रहेका धेरै खेलाडीहरू विदेश पलायन भएका छन्। प्रिति रिजाल, अभिषेक बास्तोला, संरक्षकभूषण वज्राचार्य, मायांका राणा, माहिका राणा, रमेश कार्की, राज लामालगायतका खेलाडी अध्ययनका लागि विदेश पुगेका छन्। नेपालमा पढाइ र खेललाई व्यवस्थापन गर्न गाहारो हुनुका साथै छात्रवृत्ति पनि नपाइने भएकाले अधिकांशले विदेश नै रोज्ने गरेको प्रणवको बुझाइ छ।

अधिकांश टेनिस खेलाडीको रोजाई विदेश हुँदा नेपालमा राम्रा खेलाडीहरू कमै हुने र प्रतियोगिताहरूमा पनि खेलाडीको खडेरी पर्ने गरेको छ। ‘राष्ट्रिय प्रतियोगितामा पनि धेरै खेलाडी नै हुँदैनन्। राष्ट्रिय प्रतियोगितामा पनि १०–१२ जना खेलाडी मात्रै हुन्छन्’, प्रणव भन्छन्,। त्यसैले नेपाल टेनिस संघले खेलाडी खोज्ने अभियान सञ्चालन गर्नुपर्नेमा प्रणव जोड दिन्छन्। ‘अहिले धेरै खेलाडी जुनियर समूहका छन्। सिनियर खेलाडीहरूको संख्या निकै कम छ’, उनी भन्छन्, ‘त्यसैले संघले खेलाडी खोज्नका लागि ट्यालेन्ट हन्ट र एकेडेमी सञ्चालन गर्नुपर्छ। यसो भएमा मात्र खेलाडीको संख्या बढ्न सक्छ।’  

टेनिसमै सक्रिय हुने लक्ष्य
२० वर्षीय प्रणव पनि उच्च शिक्षाका लागि विदेश जाने तयारीमा थिए। प्लसटु पास गरेपछि अमेरिका जाने तयारी थालेका थिए। तर, विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उनी नेपालमै अड्किएका छन्। काठमाडौं कलेज अफ म्यानेजमेन्टमा बीबीए दोस्रो वर्षमा अध्ययनरत उनी स्नातक सकिएपछि मात्रै विदेश नै जाने योजनामा छन्। उनले अहिले नै यही गर्छु भनेर केही लक्ष्य भने निर्धारण गरेका छैनन्। तर, टेनिसलाई भने छोड्न नसक्ने उनी बताउँछन्। 

‘सानै उमेरदेखि टेनिसमा लागियो। अब यसबाट टाढा हुन सकिन्न’, प्रणव भन्छन्, ‘विदेश गए पनि टेनिसलाई भने छाड्दिनँ।’ विदेशमा उच्च शिक्षासँगै टेनिसलाई निरन्तरता दिने र एकेडेमी एवं प्रशिक्षणलगायतका काममा पनि सक्रिय हुने योजना उनले बनाएका छन्।  

पढाइ र खेलकुद सँगसँगै
प्रणव खनाल स्नातक तहमा अध्ययनरत छन्। उनी काठमाडौं कलेज अफ म्यानेजमेन्टमा बीबीए दोस्रो वर्षमा अध्ययन गरिरहेका छन्। उनले पढाइसँगै खेलकुदलाई पनि अगाडि बढाइरहेका छन्। उनी बिहान टेनिस प्रशिक्षण गर्छन् भने दिउँसो कलेजमा अध्ययन गर्छन। समय व्यवस्थापन गर्न सक्ने हो भने पढाइ र खेलकुदलाई सँगै अगाडि बढाउन सहज हुने उनी बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.