गैँडा तस्करीको आरोपमा पक्राउ परेका पाँच व्यक्ति सार्बजनिक, थप एक गैँडा मृत फेला
चितवन ; चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग तस्करीको आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खागको अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।
निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेती छन् ।
त्यसबाहेक फरार प्रतिवादी रामकुमार प्रजा र बमबहादुर प्रजा समेत समातिएको अधिकारले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ (१) (क) तथा २६(१) बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजायको माग दाबी गरिएको छ ।
चितवनकै भरतपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाललाई समेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।
निकुञ्जका कर्मचारी, नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायतको टोलीलले उनीहरूलाई पक्राउ गरेको हो ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेत्रको नारायणी नदी बाहिरी भङ्गालाको दक्षिण किनारको भास क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृतावस्थामा भेटिएको हो ।
खाग खुर सुरक्षित रहेको गैँडा दलदलमा परेर मरेको अनुमान गरिएको छ । यस आवमा योसँगै सातवटा गैँडा मृतावस्थामा भेटिएका छन् जसमध्ये एउटा चोरी शिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !