फलामे होइन सुनौलो ढोका

फलामे होइन सुनौलो ढोका

नाम बदलिए पनि एसईईको महत्त्व एसएलसीकै जत्तिको मानिन्छ। ‘फलामे ढोका’ भनिएकै छ। एसईईको परीक्षाफल प्रकाशित भएको छ। अर्थात् फलामे ढोका खुलेको छ, ढोका पार भएको छ। मानौं, अब कुनै पनि बाधा–व्यवधान जीवनमा आइपर्दैनन्। त्यसो त, कोरानाका कारण यो ढोका पार गर्न यसपालि त्यति कठिन भएन। उच्चशिक्षाको सपना बोकेका युवा बाटोको खोजीमा लागि परिसकेका छन्। वास्तवमा एसएलसीजस्तै एसईई पनि ‘फलामे ढोका’ हो भने यो बुझ्नुपर्छ कि त्योभन्दा पनि बलिया ढोकाहरू त त्यसपछि आइलाग्छन। यो, उमेरको त्यो अवस्था हो जतिबेला किशोरावस्थाको उमेर पार गर्दै युवा हुने खुड्किलोतर्फ अग्रसर हुन लाग्छन् पाइलाहरू।

एसईईको गम्भीरतापूर्वक परीक्षा दिएर राम्रो रिजल्ट प्राप्त गर्ने अभिलाषामा रहेका परीक्षार्थीका लागि त्यसको उचित परिणाम आइसकेको छ। स्पष्ट छ– यसबेला कथित त्यो फलामे 

गहिरिएर हेर्ने हो भने केवल पढाइ होइन, सम्पूर्ण ‘क्यारियर’ बनाउन सोच्नुपर्ने बेला हो यो। साँच्चै, अभिभावकका सपनालाई साक्षी राखेर निर्दृष्ट उद्देश्य निर्धारण गरिनुपर्ने बेला पनि यही नै हो। निश्चय नै लेखाइ–पढाइ प्रमुख विषय हो। त्यसका साथै आफू र परिवारको भविष्यको परिकल्पनामा घरव्यवहारको सामान्य कर्तव्यबोध समेत यो समयमा थपिन पुग्छ। तर यस्तो अवस्था आउनुको अर्थ नबुझीकनै ‘फलामे ढोका’को नाममा हुर्कंदो किशोरको मनमस्तिष्कलाई चलायमान हुन नदिनु सर्वथा गलत छ। साँच्चै भन्ने हो भने ‘फलामे ढोका’ भनेर भनिनु एउटा त्रस्त मानसिकता बोक्नुपर्ने बाध्यता कलिला विद्यार्थीका मस्तिष्कमा सञ्चारित गराउनु हो।

परीक्षाको समयमा तिनका पढाइको ध्यानलाई बिटुल्याउनमा पक्कै अप्रत्यक्ष सघाउ पुर्‍याउँछ। एसईई दिइरहेको अवस्थामा यो उपमालाई तथा कथित बौद्धिकको पाखण्डीपनाको उच्चतम् नमूना मान्न सकिन्छ। प्रश्न उठाउन सकिन्छ– के एसईई उत्तीर्ण गर्नु मात्रै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ? अन्यथा, यो तथ्यलाई किन उजागर गरिँदैन कि उत्तीर्ण हुनु त पहिलो कक्षादेखि अझ आजको आधुनिक शिक्षामा पनि नर्सरी, केजीदेखि नै छँदैछ। यस दृष्टिकोणले बरु खुलेर भनिदिन सक्नुपर्थ्यो– संघर्ष त पढाइ प्रारम्भ भएको सुरुको कक्षादेखि नै गर्न जरुरी छ। के फलामे ढोकाको उपमा दिनेहरूले यो वास्तविकतालाई बुझेका छैनन् र ?

गहिरिएर विश्लेषण गर्ने हो भने संघर्ष केवल पढाइमा मात्रै गरिन्न। जिन्दगीका यावत् पक्षहरू पारिवारिक, सामाजिक, प्रशासनिक जतासुकै क्रमशः बढ्दो उमेरसँगै संघर्ष बढ्दै जान्छ। अब सोच्नुपर्ने चाहिँ यही छ, जीवनमा कतिसम्म संघर्षको मैदानबाट पार पाइन्छ ? गीतमा भनिएकै छ, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर भाग्छु नभन।’ कति ठाउँ जितिएला, कति ठाउँ हारिएला। अलिकति आध्यात्मिक पाराले भन्ने हो भने जीवन एउटा खेल हो। चाहेर जित्न नसकिएला अथवा नचाहेरै पनि हारिएला। बस्, संघर्ष जारी राख्नुपर्छ, प्रयास गर्ने हो। प्रयास गर्नेले नै सगरमाथाको शिखर चुम्छ। कदाचित् कैयौंपटक प्रयास नगरिएको भए चन्द्रमा छुने मात्रै होइन त्यहाँ पाइला राख्ने आकांक्षा कसरी पूरा हुन्थ्यो ? यस हिसाबले भन्न सकिन्छ, असफलता नै सफलताको असली ढोका हो।

त्यसो त, आजको समाजमा धेरै सम्पत्ति भएको धनाढ्य मान्छेको जीवनलाई नै बढीभन्दा बढी सफल मानिन्छ। त्यो मान्यताअनुसार पैसाले संसारमा सबै थोक किन्न पाइन्छ भन्ने विकृतपूर्ण सोच राखिएको समेत पाइन्छ। तिनले धनलाई नै सफलताको पर्याय मान्नु अस्वाभाविक होइन पनि। यद्यपि, पर्याप्त धन हुनेहरू सबै पैसाकै माध्यमबाट सफलताको शिखर चुमेका हुन्। धन जीवनको अपरिहार्य विषय हुनसक्छ, महत्त्वको विषय हुनसक्छ तर सबैभन्दा प्रमुख विषय धनलाई नै मानिनु भने अस्वस्थ मानसिकताको पराकाष्ठा नै हो। उपर्युक्त सन्दर्भमा, आजको समाजमा एउटा महत्त्वपूर्ण विषय भनेको अवश्य पनि शिक्षा नै हो। शिक्षा आर्जनमा ज्ञान–विज्ञानका महान् सूत्र समावेश भएका हुन्छन्। शिक्षा–विषयलाई नै ठूलो ‘पहाड’ बनाउन आवश्यक छैन। अर्को शब्दमा, शिक्षा ज्ञान–अध्ययनको बाटोमा आइपर्ने विभिन्न परीक्षामध्ये एसईई नामक एउटा अलिक महत्त्वपूर्ण परीक्षालाई ‘फलामे ढोका’जस्ता अतिरञ्जित शब्द प्रयोग गरेर विद्यार्थीमाथि अनावश्यकीय दबाव दिनु कुनै पनि दृष्टिकोणबाट सही छैन। बरु तिनलाई पढ्न–सिक्न आत्मप्रेरित हुने बाटोतर्फ आकर्षण बढाउने उपायहरू अवलम्बन गर्नु आवश्यक देखिन्छ। यहाँ, कुनै कतै मिडियामा ठाउँ नपाएको एउटा सन्दर्भ उल्लेखनीय छ।

काठमाडौं कोटेश्वरस्थित कस्मिक इन्टरनेशनल एकेडेमीले विद्यालयका परीक्षार्थीको मनमा आत्मविश्वास बढाउन प्रस्तुत गरेको उदाहरण प्रशंसनीय देखिन्छ। त्यस विद्यालयका नेपाली अध्यापक तुलसीप्र्रसाद घिमिरेले अघिल्ला केही वर्षदेखि तत्कालीन एसएलसी र आजको एसईई परीक्षामा परीक्षार्थीलाई एउटा ‘आकर्षण’ पेश गरेका थिए– ‘मैले पढाएको विषयमा जसले ‘डिस्टिङ्क्सन’ ल्याउँछ, म उसलाई व्यक्तिगत रूपले निश्चित रकम दिन्छु।’ एकातर्फबाट हेर्दा यो क्रियालाई प्रलोभन दिलाएको जस्तो लागे पनि वास्तवमा उक्त कार्यभित्र ध्यान दिएर हेर्ने हो भने एउटा स्पष्ट तस्वीर देख्न सकिन्छ। त्यो के भने, यस प्रकारको ‘शैक्षिकजुक्ति’ले विद्यार्थीका लागि पक्कै पनि गम्भीरतापूर्वक पढ्नमा हौसला प्रदान गर्न सहयोग पुग्न सक्छ। शिक्षकले पढाएर–सिकाएर मात्र हुँदैन, पढाइ–सिकाइको सदुपयोग के–कति भएको छ भन्ने तथ्य पनि जाँच्ने अवसर हो। प्रवेशिका परीक्षालाई केवल ‘फलामे ढोका’को नाम दिएर विद्यार्थीको मनमस्तिष्कमा काल्पनिक हाउगुजी खडा गरिदिनु हुँदैन।

त्यसको सट्टा अवसरका रूपमा लिन सकिने वास्तविकतातर्फ ध्यान खिच्न सके उपलब्धिमूलक हुन सक्थ्यो। ढोका पार गरेर तिनका लागि जीवनको उद्देश्य पहिल्याउन ‘सुनौलो ढोका’ खुलिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.