पाँच दिनपछि काममा फर्किए दाङका स्वास्थ्यकर्मी
दाङ : दूर्व्यवहारको घटनालाई लिएर आन्दोलित भएका दाङका चिकित्सक तथा स्वास्थ्यकर्मी काममा फर्किएका छन्। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोद सिंहमाथि दूर्व्यवहार भएको भन्दै भदौ ११ गतेदेखि आन्दोलित भएका तुलसीपुरसहितका जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मी बुधबारबाट नियमित रुपमा काममा फर्किने निर्णय गरेका हुन्।
मुख्य योजनाकार मानिएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया थालेको आधिकारिक जानकारी आन्दोलनरत स्वास्थ्यकर्मीलाई प्रहरीले पठाएपछि आन्दोलन रोकेर काममा फर्कन लागेको राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए। अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गरी बुधबारदेखि नियमित रुपमा सबै स्वास्थ्यकर्मीहरु कार्य क्षेत्रमा फर्किने र सेवा सुरु गर्ने जनाएको छ।
कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर ओलीले आन्दोलन रोकेर काममा फर्किने निर्णय भएको बताए। ‘अब आन्दोलनका कार्यक्रम रोकेर काममा फर्किने निर्णय गरेका छौं,’ ओलीले भने, मेसु सिंहलाई कार्यकक्षमै मोसो दलिएपछि जिल्लाका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु काम रोकेर आन्दोलनमा उत्रिएका थियौ।’
चार जना पक्राउ
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोद सिंहलाई मोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरुमध्ये दुई जनालाई आइतबार प्रहरीले घोराहीको रतनपुरबाट पक्राउ गरेको थियो। भने दुई जना आफैँ मंगलबार प्रहरी कार्यालय पुगेको बताइएको छ।
नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भनिएका अनेरास्ववियु दाङका जिल्ला संयोजक सर्जन परियार मंगलबार प्रहरीसमक्ष आफैँ उपस्थित भएका छन। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार मेसु सिंहलाई कार्यकक्षमै मोसो दल्ने डिल्ली डाँगी र अनेरास्ववियुका जिल्ला सहसंयोजक दिवश क्षेत्रीसहित दुई जना दुई दिन अगाडि नै पक्राउ परेका थिए।
‘मोसो दलिदिने मुख्य व्यक्ति डाँगी हुन् र डाँगीलाई नै हामीले पक्राउ गरिसकेपछि अरु पनि प्रहरी सम्पर्कमा नआई सुख नै छैन,’ एसपी काफ्लेले भने, ‘तर पीडित मेसु सिंहले भने अनरोस्ववियुका जिल्ला संयोजक, परियार, सह संयोजक क्षेत्री लगायतको समूहले मोसो दलेको बताएका छन्।’ प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने हालसम्म चार जना पक्राउ परेको स्पष्ट पारेका छन्। ‘दुई जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो र थप दुई जना प्रहरीसमक्ष आफैँ आएका हुन’ प्रजिअ कुरुम्बाङले भने ‘अब घटनामा संलग्न अरु दुई जना फरार छन्। ’
एसपी काफ्लेले भने घटनामा दश जना जतिको संलग्नता देखिएको र अरु सबै फरार रहेको जानकारी दिएका छन्। मोसो दल्ने घटनामा संलग्न सबैविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ अनुसार मुद्दा दायर गरिएको र सोहि अनुसार कारवाही प्रक्रिया अघि बढने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !