उम्लिङ गाउँको जनजीवन सामान्य अवस्थामा फर्कँदै, आरोपीका भाइ समेत अनुसन्धानमा तानिए

उम्लिङ गाउँको जनजीवन सामान्य अवस्थामा फर्कँदै, आरोपीका भाइ समेत अनुसन्धानमा तानिए

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारको सामूहिक हत्यापछि त्रसित बनेको गाउँ सामान्य अवस्थामा फर्कन सुरु गरेको छ। उम्लिङस्थित खोलागाउँका तेजबहादुर कार्कीसहित ६ जनाको भाद्र २१ गते सोमबार विहान विभत्स हत्या भएको थियो।  

घटनाको छैठौं दिन हत्यामा आरोपीलाई नियन्त्रणमा लिए पनि सातौं दिनमा(आइतबार) मात्र हत्या काण्डका अभियुक्त लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गर्‍यो। अभियुक्त पक्राउ परेपछि उम्लिङ गाउँको जनजीवन पहिलेकै अवस्था फर्कन सुरु भएको हो। 

अभियुक्त पक्राउ परेपनि विभत्स घटनाले अझै बेलाबेला झस्काउने गरेको छिमेकी चन्द्रबहादुर थापा बताउँछन्। त्यो घटना बिर्सनै नसक्ने घटनाको रुपमा लिन्छन् उनी। ‘खोला गाउँमा पातलो बस्ती छ’, थापाले भने, ‘त्यही भएर छोराछोरी घरमा बस्न नमानेपछि हामी उम्लिङ स्कुल छेउमा बन्दै गरेको नयाँ घरमा बसाईँ सर्नु पर्‍यो।’ अझै केही डर भएपनि हत्यामा संलग्न पक्राउ परेपछि डर हराउँदै गएको उनको भनाई छ। 

तर पनि छोराछोरी पहिलेको घरमा अझै पनि फर्कन नमानेको उनले बताए। हत्यारा पक्राउ नपर्दा पुरै गाउँ नै त्रसित भएको स्थानीय उम्लिङ माविका प्रधानाध्यापक योगेन्द्र ओझाले बताए। हत्या अभियुक्त पक्राउ परेसँगै उम्लिङ गाउँवासी केही सुरक्षित महसुस गरेको उनको भनाई छ।

बिहान ६ बजे घटना घटेको भएपनि छिमेकीहरुले ९ बजे मात्र जानकारी पाएका थिए। एकै परिवारको शव यत्रतत्र छरिएको देखेपछि पुरै मादी नगरपालिका नै त्रसित बन्यो। 

भौगोलिक विकटताका कारण विज्ञ अनुसन्धान टोलीको पर्खाइमा हत्या भएको भोलिपल्ट (मंगलबार) दिउँसो १ बजे मात्र शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो। मंगलबार बिहानैबाट संघीय इकाई प्रहरी कार्यालय धरानबाट एसपी भिम दाहाल नेतृत्वको टोली तालिम प्राप्त दुई वटा कुकुरसहितको घटनाको विश्लेषण गर्दै अनुसन्धान सुरु गरे पनि अभियुक्त पक्राउ पर्न सकेनन्। तालिम प्राप्त कुकुरबाट पनि कुनै संकेत नमिलेपछि स्थानीय झन् त्रसित भएका थिए। 

मृतक तेजबहादुर कार्कीका भतिजो लोकबहादुरलाई हत्या अभियोगमा पक्राउ गरेपछि बिस्तारै जनजीवन पहिलेकै अवस्थामा फर्कने क्रममा छ। 

लोकबहादुरका भाइ नरेशमाथिसमेत अनुसन्धान हुँदै
घटनाको थप सूक्ष्म अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोली घटना स्थलमै रहेको छ। उक्त प्रहरी टोलीले लोकबहादुरका भाइ नरेश कार्कीमाथि समेत अनुसन्धान सुरु गरेको छ। हत्याकाण्डमा दाइलाई सहयोग गरेको आशंकामा प्रहरीले नरेशमाथि छानबिन थालेको हो।

घटनाको सूक्ष्म अनुसन्धानका लागि अझै केही दिन खोला गाउँमै रहने प्रहरी निरीक्षक खतिवडाले अन्नपूर्ण पोष्ट्लाई जानकारी गराए। प्रहरी टोली गाउँमा रहँदा स्थानीयमा थप सुरक्षाको अनुभूति समेत हुने उनले बताए।

निरीक्षक खतिवडाको कमाण्डमा १० जना प्रहरी घटना भएको खोला गाउँमा नै राखिएको छ। प्रहरीले घटनाका अन्य पाटोहरूमा अनुसन्धानकै काम गरिरहेको निरीक्षक खतिवडाले बताए। ‘हामीले अनुसन्धानको पाटोलाई छाडेका छैनौँ, अझै पनि नयाँ कुराहरू आउन सक्छन्’, उनले भने। 

अनुसन्धनका क्रममा थप व्यक्तिहरुमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए। विकसित घटना क्रमहरुमा थप सूक्ष्म अनुसन्धान भइरहेको उनको भनाई छ। स्थानीयलाई सुरक्षित महसुस गराउनकै लागि पनि  घटना स्थलमा प्रहरी परिचान गरिएको उनले जनकारी दिए।

बौद्धमान कार्कीका ३ छोरा, ३ छोरी, तेजबहादुरका २ छोरा, एक बुहारी र छोरी किरियामा बसेका छन्। तेजबहादुरका दुबै छोरा विदेशमा थिए। बौद्धमानका श्रीमती पार्वता, छोरा तेजबहादुर, बुहारी कमला, तेजबहादुरकी बुहारी रञ्जना, नाती दीपेन र गोमाको हत्या भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.