‘हनिट्रयाप’मा पार्दै पैसा असुल्दै
दाङ : पुरुषलाई मोहजाल (हनिट्रयाप)मा पारेर अपराधिक तरिकाले रकम असुल गर्ने महिलाको समूहलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पुरुषलाई विभिन्न बहानामा सम्पर्कमा ल्याउने र ट्रयापमा पारेर लाखौं रकम असुल गर्ने दाङका तीन महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
पछिल्लो समय यो कार्य मौलाएको अनुमान भइरहेका बेला प्रहरीसम्म भने कमै मुद्धा जाने गरेको देखिएको छ। आन्तरिक रुपमा मिलाउने अवस्था भइरहेको बेला दाङ प्रहरीमा एक पुरुषले ठगिएको मुद्धा दर्ता गरे पछि यो गिरोह पक्राउ परेको दाङ प्रहरीले बताएको छ।
'हनि ट्रयापमा पारेर पैसा असुल्ने ३ जना महिलालाई पक्राउ गरी कानुनी दायरमा ल्याएका छौं', उनले भने। अनुसन्धानले उनीहरुले पैसा असुल गरेको पुष्टि पनि भएको छ। दाङका प्रहरी प्रवक्ता रिजालले पुरुषहरुलाई हनिट्रापमा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षीया सितादेवी थापा, ३५ वर्षीय खुमा वली र घोराही ५ निवासी ३२ वर्षीया सुस्मा परियार रहेको बताए।
पक्राउ परेकामध्ये सितादेवी थापा बस्दै आएको कोठाबाट असार ७ गते पीडितलाई धम्की दिइ पीडितबाट लिएको १७ लाखको सिभिल बैंकको चेक एक थान बरामद भएको र नगद १ लाख थापाले व्याजमा लगाइ सकेको भनी प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। प्रहरीले पीडकको साथबाट चेक र तमसुक पनि बरामद गरेको छ।
उनीहरुलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको हुँदा सोही अनुसार अदालतमा मुद्धा दर्ता गरिएको रिजालले बताए।
प्रतिक्रिया दिनुहोस !