राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका चार वर्ष : भएन शैक्षिक कार्यक्रम सुरु
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान स्थापना भएको चार वर्ष पूरा हुँदा पनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेको छैन। प्रतिष्ठानले मंगलबार स्थापना दिवस मनाइरहँदा शैक्षिक गतिविधि भने शुन्य छन्।
स्वास्थ्य सेवा र शिक्षालाई प्रभावकारी बनाउने गरि स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत स्थापना भएको हो। स्थापना भएको ४ वर्षसम्म पनि शैक्षिक गतिविधिका लागि भने प्रतिष्ठान भित्र कम चासो दिएको छ। चार वर्षसम्म पूर्वाधार निर्माणको अभियानमा लागेको र पुर्वाधार भए पछि मात्रै शैक्षिक कार्यक्रम सुरु गर्ने नीतिमा प्रतिष्ठान रहेको उपकुलपति प्राडा संगीता भण्डारीले बताइन्।
प्रदेशमै विशेषज्ञ चिकित्सकहरु उत्पादन हुन सकुन् र सस्तो तथा सुलभ शुल्कमा आम नागरिकको पहुँचमा चिकित्सकीय अध्ययन पुगोस् भनेर तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाको पालामा प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठान स्थापना भए पनि एक वर्ष राप्ती उप क्षेत्रीय अस्पतालसँगको स्वामित्व विवादले २०७५ साल असोज १२ गतेदेखि मात्रै प्रतिष्ठान अस्तित्वमा आएर कार्यसम्पादन सुरु गरेको थियो। त्यही अस्तित्वमा आएको मितिलाई प्रतिष्ठानले स्थापना दिवसको रुपमा मनाउनै आएको छ।
स्थापनाको चार वर्षमा सकारात्मक तथा नकारात्मक दुबै पक्ष र विषयले सधैं चर्चामा प्रतिष्ठान भइरहेको छ। कहिले पदाधिकारीको गतिविधिको चर्चा त कहिले आन्दोलनले चर्चामा आइरहेको प्रतिष्ठानले शैक्षिक गतिविधि सञ्चालनमा भने क्रियाशील हुन सकेको छैन। पटक-पटक उपचार र पूर्वाधारका विषयमा समेत प्रतिष्ठान विवादित बन्दै आयो।
उपकुलपति भण्डारीले आफ्नो कार्यकालमा प्रतिष्ठानको बलियो फाउण्डेसन तयार भएको बताइन्। पहिले पूर्वाधार तयार भएपछि मात्रै शैक्षिक कार्यक्रमको अनुमति पाइने भएको हुँदा प्रतिष्ठान हस्तान्तरण भएको ३ वर्षमा पूर्वाधार निर्माणमा समय दिएको र अब शैक्षिक गतिविधि सञ्चालन हुने उनको भनाइ छ।
‘यो अवधिमा प्रतिष्ठानको धेरै उपलब्धि भएको छ', उनले भनिन्, 'पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सक व्यस्थापन, आधुनिक उपकरण व्यवस्थापन, सेवा सुधार, अक्सिजन प्लान्ट निर्माण लगायतका महत्वपूण कार्यहरु भएको छ।' उनले शैक्षिक गतिविधि सञ्चालन गर्न जग्गाको समेत व्यवस्थापन गरिएको बताइन्।
तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल तीन वर्ष पहिलो प्रतिष्ठानमा हस्तान्तरणपछि उपकुलपति भण्डारीले प्रतिष्ठानको भौतिक पूर्वाधारसहित अस्पतालको स्वास्थ्य सेवा प्रभाबकारी बनाउन लागिरहेका बताएकी छन। अस्पतालको स्वास्थ्य सेवा सुधारदेखी दक्ष जनशक्तिको उचित ब्यबस्थापन गरेर सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।
वर्ष प्रवेश गरेको अवसरमा नवनिर्मित २५ वेडको एक्स्टेण्ड हेल्थ सर्भिसको प्रयोजनको लागि निर्माण गरिएको वार्डको उद्घाटन गरिएको छ। ‘प्रतिष्ठान स्थापना भएपछि सेवामा उल्लेखनीय, गुणस्तरीय तथा आद्युनिक प्रविधिद्वारा विरामीलाई उपचारको व्यवस्था प्रदान गरेकाले अन्यत्र रिफर गर्नुपर्ने समस्या हटेको प्रतिष्ठानकी निर्देशक डा प्रज्ञासिंह बस्नेतले बताइन्।
प्रतिक्रिया दिनुहोस !