राप्रपाको हालै सम्पन्न जिल्ला अधिवेशन केन्द्रद्वारा बदर
गोरखा : राप्रपाको हालै सम्पन्न जिल्ला अधिवेशन केन्द्रीय निर्वाचन समितिले बदर गरेको छ। मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले गत भदौ २८ र २९ गते सम्पन्न भएको भनिएको जिल्ला अधिवेशन बदर गर्ने निर्णय गरेको हो।
समितिले जिल्ला निर्वाचन समितिलाई मंगलबार पत्र पठाउँदै यसबारे जानकारी गराएको केन्द्रीय सदस्य हिक्मतजंग भण्डारीले बताए। ‘२९ भदौ २०७८ मा सम्पन्न भएको भनिएको जिल्ला अधिवेशन र सो अधिवेशनबाट गरिएको मत परिणाम घोषणा सम्बन्धमा जिल्ला निर्वाचन संयोजकबाट प्राप्त दस्तावेज र अन्य सम्बन्धित दस्ताबेज, सो सम्बन्धमा गोरखा निर्वाचन समिति र केन्द्रीय निर्वाचन समितिमा परेका उजुरीहरु बारे सत्यतथ्य छानबिन गरी बैठकमा छलफल गर्दा सो गोरखा जिल्ला अधिवेशन राप्रपाको निर्वाचन सम्बन्धी विधि र प्रक्रिया बमोजिम भएको नदेखिएकाले सम्पन्न भनिएको सो जिल्ला अधिवेशन बदर गरी पुनः गराउने गरी गोरखा जिल्ला निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरियो’, केन्द्रीय निर्वाचन समितिका अध्यक्ष हरिबहादुर बस्नेतद्वारा हस्ताक्षरित सो पत्रमा भनिएको छ, ‘आउँदो असोज २० गतेभित्र अर्को जिल्ला अधिवेशन पुनः गराउन निर्देशन गरिएको छ।’
सो अधिवेशनले साविक कमल थापा निकटका सुदीप ढकालको नेतृत्वको राप्रपा जिल्ला कार्य समिति चयन गरेको थियो। सो लगत्तै अध्यक्षका अन्य आकांक्षीहरु भगवानदास मल्ल, रामराजा कोइराला लगायतले जिल्ला निर्वाचन समिति र केन्द्रीय निर्वाचन समिति समक्ष सो निर्वाचन प्रक्रिया बदर गराउन माग गर्दै उजुरी गरेका थिए।
प्रतिक्रिया दिनुहोस !