धवलागिरि हिमाल आरोही पूर्णिमालाई सम्मान

धवलागिरि हिमाल आरोही पूर्णिमालाई सम्मान

पोखरा : विश्वको सातौं अग्लो धवलागिरि हिमाल पहिलोपटक आरोहण गर्ने नेपाली महिला पूर्णिमा श्रेष्ठलाई पोखरामा मंगलबार सम्मान गरिएको छ। ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराले धवलागिरि हिमाल आरोही श्रेष्ठलाई सम्मान गरेको हो। 

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामू शेर्पा अंकिताले ८ हजार १ सय ६७ मिटर अग्लो धावलागिरि हिमाल असोज १५ गते बिहान ६ बजे आरोहण गरेका थिए। श्रेष्ठ र शेर्पाले धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल अरोहण गरेको कृतिमान कायम गरेका हुन्। श्रेष्ठसँगै धवलागिरि हिमाल अरोहण गरेकी शेर्पा भने व्यस्तताको कारण सम्मान कार्यक्रमा उपस्थित थिइनन्।

हिमाल आरोही श्रेष्ठलाई सम्मान गर्दै टान पोखराका प्रथम उपाध्यक्ष धर्म पन्थीले गण्डकी प्रदेशका ८ हजारभन्दा उच्च तीन वटै हिमाल आरोहण गरेर पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका खेलको बताए। विश्व पर्यटन नै कोभिडका कारण थला परेको अवस्थामा एकै वर्ष ६ महिनाको बिचमा किलर माउण्टेनका रुपमा परिचित अन्नपूर्ण प्रथम र धवलागिरि हिमालको आरोहण गरेर विश्व पर्यटन बजारमा सकरात्मक सन्देश दिएको उनले बताए। 

गोर्खा आरुघाटकी पूर्णिमाले सन् २०१७ सेप्टेम्बर २६ मा पहिलो पटक ८ हजार १ सय ६३ मिटर उच्च मनास्लु हिमाल आरोहण गरेर हिमाल आरोहणको यात्रा सुरु गरेकी थिइन्। सन्  २०१८ मे १९ मा उनले विश्वकै उच्च हिमाल सगरमाथाको सफल आरोहण गरेकी थिइन्। सन् २०२१ को अप्रिल १६ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेकी श्रेष्ठले सन् २०२१ को अक्टोवर १ मा धवलागिरि हिमालको सफल आरोहण गरेकी हुन्। 

अन्नपूर्ण हिमाल पनि पहिलो पटक नेपाली महिला चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने टोलीमा उनी थिइन्। पूर्णिमा श्रेष्ठ, दावा याङजुङ शेर्पा, दावा फुटी शेर्पा, शर्मिला तामाङ, माया शेर्पा र पासाङ ल्हामू शेर्पा अकितालले नेपाली महिला पहिलो पटक अन्नपूर्ण हिमालको चुचुरोमा पुगेको कीर्तिमान कायम गरेका थिए। 
काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पाले धवलागिरि हिमालको सफल आरोहण गरेका हुन्। द्वितीय उपाध्यक्ष कृष्ण आचार्य र महासचिव मिलन तिवारीले कोरोना संक्रमणको कठीन समयमा हिमाल आरोहण गरेर विश्व पर्यटकलाई नेपालतर्फ ध्यान आकर्षण गरेकोमा खुशी व्यक्त गरेका थिए। नेपालको हिमाल आरोहण खुला र सुरक्षित छ भन्ने सन्देश दिन सफल भएकोमा पदयात्रा क्षेत्रमा कार्यरत टानले सम्मन गरेको हो। 

सम्मानपछि बोल्दै हिमाल आरोही तथा पत्रकार श्रेष्ठले काठमाडौंबाट हिंडेको १५ दिनमै धवलागिरि हिमालको चुचुरोमा पुग्दाको रमाइलो र कठीन समय सम्झेकी थिइन्। यात्रामा जति कठीन भए पनि शिखर चुम्दा सबै दुःख र कष्ट बिर्सेर फेरि अर्को हिमालको चुचुरोमा पुगु पुगु हुने उनले बताइन्। यस वर्ष धवलागिरि हिमाल आरोहणका लागि विदेशी ४० जनाको ठूलो र दक्ष टीम सहित नेपाली पदयात्रु भएकोले हतार हतारमा आरोहण यात्रा गर्ने निर्णयमा पुगेको उनले सुनाइन्। हिमाल आरोहण सुरु गरेपछि ८ हजारभन्दा उच्च हिमालको एकपछि अर्को शिखर चुम्ने हुटहुटीले आरोहणमा सफलता मिलेको पनि उनले बताइन्। यात्रामा निस्कँदाको अघिल्लो दिनसम्म पनि आरोहणका लागि आवश्यक खर्च जुटाउन स्पोन्सर खोज्नमा व्यस्त रहँदा पनि आरोहणका लागि निस्कन हतारो भएको उनले सुनाइन्।  
आफ्नो प्रदेश गण्डकीका तीन वटै हिमाल आरोहण गर्न सफल भएकोमा उनी खुसी छन्। गण्डकी प्रदेशमा हिमाल आरोहण र पदयात्रा पर्यटनबाटै प्रदेशको आर्थिक विकास हुन सक्ने भन्दै यही सन्देश दिनका लागि आफ्नो प्रदेशका ८ हजारभन्दा उच्च तीन वटै हिमालको आरोहण गरेको उनले बताइन्। नेपालमा ८ हजारभन्दा उच्च ८ वटा हिमाल छन्। नेपालका ८ हजारभन्दा उच्च सबै हिमालको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.